
७ मंसिर, काठमाडौं । बलिउडमा आजको दिनमा निर्देशक रोहित सेट्टीको नामले नै चलचित्र चल्छ । रोहितले निर्देशन गरेको पछिल्लो चलचित्र ‘सूर्यवंशी’ बक्स अफिसमा चम्कियो । उसो त, रोहितले यसअघि निर्देशन गरेका ९ वटा चलचित्रले सय करोड क्लब पार गरिसकेका छन् ।
तर, बलिउडका यी सफल निर्देशकको करिअरको शुरुवाती दिन भने सुखद थिएन ।
रोहितले काम शुरु गर्दा ३५ रुपैयाँ तलब पाउँथे । उनले भने, ‘वास्तवमा यो सजिलो यात्रा थिएन । जब मैले काम शुरु गरें, त्यो समयमा मैले जम्मा ३५ रुपैयाँ पारिश्रमिक पाएको थिएँ । कैयौं पटक मैले खाना वा यात्रामध्ये एक रोज्नुपर्ने हुन्थ्यो । सो समयमा मलाई सडकको छेउमा तयार पारिने खाना खुबै मन पथ्र्यो ।’
रोहितले अगाडि भने, ‘हामी सान्ताक्रुजमा बस्थ्यौं । पछि हामी हजुरआमाको घर दहिसर गयौं । त्यसबेला आर्थिक संकटका कारण हामीसँग बस्ने घर थिएन । म कैयौं पटक मलाडबाट अँधेरीसम्म हिँडेरै गएको छु । यति यात्रा गर्नका लागि मलाई डेढ घण्टा लाग्थ्यो ।’
रोहितले सन् २००३ मा चलचित्र ‘जमीन’ निर्देशन गरेका थिए । रोहितले बनाएको ‘गोलमाल’को सिरिज, सिंघमका दुई सिरिज, बोल बच्चन, चेन्नई एक्सप्रेस, दिलवाले लगायतका चलचित्र हिट छन् ।
प्रतिक्रिया 4