+
+
रघुजी पन्तसँग अन्तर्वार्ता :

‘चुनावले पार्टीमा विभाजन ल्याउनसक्छ, सहमतिबाट नेतृत्व चुनौं’

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ९ गते ९:५८

नेकपा एमालेको १० औं महाधिवेशनमा नेतृत्व चयन सहमतिबाट गर्ने कि निर्वाचनबाट भन्ने अलमल कायमै छ । एमालेका कतिपय नेताहरु आन्तरिक प्रतिस्पर्धालाई खुला गर्नुपर्ने मत राख्छन् । कतिपय भने सर्वसहमतिबाट नेतृत्व चयन गर्नुपर्ने पक्षमा छन् ।

एमालेमा पदाधिकारीका आकांक्षी रघु जी पन्त भने विगतका महाधिवेशनमा चुनावबाट नेतृत्व चुन्दा पार्टी फुटेको कुरालाई ध्यान दिनुपर्ने बताउँछन् । त्यसैले अध्यक्ष लगायत सबै सर्वसहमतिबाट चयन हुनुपर्ने उनको जोड छ । तल प्रतिनिधि चयन सहमतिबाट गरिएकाले माथिल्लो नेतृत्व पनि सहमतिबाटै चयन गर्दा एकताको सन्देश प्रवाह हुने उनको तर्क छ ।

प्रस्तुत छ नेता पन्तसँग अनलाइनखबरकर्मी सइन्द्र राईले गरेको कुराकानी –

निर्विरोध नेतृत्व चयन भन्दै आउनुभएको थियो तर मतदानकै माध्यमतिर परिस्थिति मोडिएको हो ?

चुनावको कतिपय परिणाम राम्रो हुन्छ, कतिपय नराम्रो । हाम्रो राम्रो भएको छैन । छैटौंमा चुनाव भयो, पार्टी फुट्यो । सातौंमा बल्लबल्ल मिलाइयो । आठौंबाट भएको विभाजनले नवौंसम्म आएर चुनाव गरायो । नवौंपछि पार्टी नै फुट्यो । त्यसैले चुनाव लोकतान्त्रिक विधि त हो, तर अहिलेको परिस्थिति हेर्दा सर्वसहमत गरेर जानु सबैभन्दा उत्तम हुन्छ ।

अध्यक्षलाई भेटेर पनि भनेको छु- केन्द्रीय कमिटीको संख्या पनि अलिकति बढाउनुपर्छ भने बढाऔं । उपमहासचिव अलिकति बढाऔं, उपाध्यक्षको संख्या बढाऔं । पदाधिकारी संख्या २१ देखि २३ सम्म बनाए हुन्छ । किनभने यो बेला पार्टीले एकताको सन्देश दिनु महत्वपूर्ण कुरा हो हो । महाधिवेशनबाट बलियो सुदृढ नेकपा एमाले बन्यो भने अरू शक्तिहरूलाई पनि मिलाएर अगाडि जान्छ । वामपन्थी आन्दोलनको नेतृत्व एमालेले गर्न सक्छ भन्ने सन्देश दिन जरूरी छ । त्यो वातावरण महाधिवेशनबाट बनाउनुपर्छ ।

अध्यक्षको प्रतिक्रिया के थियो ?

मैले आफ्नो कुरा राखें, उहाँले सुन्नुभएको छ । अरू साथीहरूले पनि त्यस्ता सुझाव दिनुभएको होला । हामी पार्टीलाई एकताबद्ध बनाउन चाहन्छौं, यो महाधिवेशनबाट । नेपालको महत्वपूर्ण र निर्णायक शक्ति एमाले हो भन्ने स्थापित गर्न एकताको सन्देश दिनैपर्छ ।

तर तपाईंले दिएको सुझावबारे छलफल गर्ने समय बाँकी रहृयो र ?

मेरो मात्र होइन, मैले भेटेका अधिकांश केन्द्रीय सदस्यदेखि महाधिवेशन प्रतिनिधिहरूको भावना एकताबद्ध एमाले हो ।

यति धेरै आकांक्षी हुनुहुन्छ कि तीन दर्जन पदाधिकारी संख्या बनाए पनि सबैलाई सम्बोधन सम्भव छैन पनि भनिंदैछ नि ?

तर विगतको अनुभवलाई ध्यान दिनुपर्छ । तीन दर्जन पदाधिकारी संख्या पुर्‍याउनु पनि पर्दैन । मान्छेको योग्यता र इतिहास होलान्, भूमिका र मूल्याङ्कन होला । यी सबैलाई ध्यानमा राखेर अगाडि बढ्नुपर्छ ।

१० बुँदे पक्षधर र पूर्वमाओवादी चाहिं चुनावसँग डराएको हो कि ?

हामी चुनावको सामना गरेरै आएका हौं नि ! तर अहिले चुनावले पार्टीलाई झनै कमजोर बनाउँछ भन्ने हो । चुनावमै जाँदा त्यसको परिणामले पार्टीलाई बलियो बनाउँछ भन्ने छैन । पार्टी विभाजित अवस्थामा छ । हिजोको जस्तो अवस्था छैन ।

एमालेमा आन्तरिक प्रतिस्पर्धा भएर हारजितको अवस्था बन्नु भनेको पार्टी विभाजनतिर जानु हो र ?

पार्टीभित्र सबैको उत्साह नल्याउन सक्छ । त्यसैले सबैलाई मिलाएर जानुपर्ने आवश्यकता हो । त्यो दिशातिर हाम्रो प्रयत्न हुनुपर्छ । विभाजनबाट भएको क्षतिलाई पनि यो महाधिवेशनबाट पुर्ताल गर्नुपर्छ । त्यो भनेको एकताबद्ध भएर जाने हो ।

विभाजनपछि एमाले ट्रयाजेडीमा भएकाले आन्तरिक लोकतन्त्रमा चाहिं सम्झौता गर्नुपर्छ भन्ने हो ?

होइन, आन्तरिक लोकतन्त्रको राम्रो नमूना सर्वसहमत नै हो । अध्यक्षलाई भेटेर पनि भनेको छु र हिजोको बैठकमा पनि भनेको छु- भीम रावलजीले पनि उम्मेदवारी फिर्ता लिनुहोस् र अध्यक्षले पनि सबैलाई मिलाएर लैजाने वातावरण बनाउनुहोस् । रावलजीसँग कुरा गर्नुहोस् । १० बुँदे गरेर आएका र पार्टीका सबै पक्षलाई समेटेर जाने पहल लिनुहोस् । तर तपाईं निर्विरोध अध्यक्ष बन्नुपर्छ । त्यसका लागि हामी सबै लाग्नुपर्छ ।

अझै पनि केपी ओली निर्विरोध हुनुपर्छ भन्ने तपाईंको चाहना छ ?

विभाजनका भुक्तभोगी र पीडितहरू हामी नै हौं । यो पार्टीलाई कुन अवस्थामा लैजाने भन्ने निर्णय हामीले नै गर्नुपर्छ, पार्टीलाई एकताबद्ध बनाएर लैजाने कि फेरि गुट-उपगुट र विभाजनतिर लैजाने । १० बुँदे गर्नेहरूको पनि कुनै गुट होइन । यो १० बुँदे पार्टी एकताका लागि बनेको थियो । महाधिवेशनपछि नयाँ परिस्थिति आउँछ

अध्यक्ष मात्रै होइन, सम्पूर्ण प्रक्रिया नै निर्विरोध हुनुपर्छ ।

तर युवा पंक्तिले त २०३६ साल अगाडिको पुस्ता आफू सधैं नेतृत्वमा रहन सर्वसहमतको रटान लगाउँदै हुनुहुन्छ भन्छन् नि ?

त्यस्तो होइन । राजनीति भनेको योग्यता, क्षमताले हुन्छ । युवाहरू पनि आउनुपर्छ । युवाहरू आएनन् भने भोलिको नेतृत्व कसरी बन्छ ? तर अहिले पनि हाम्रो केन्द्रीय कमिटीमा प्रशस्त युवाहरू छन् । अझै पनि प्रतिभाशाली युवाहरूलाई समेट्न सकिन्छ । चुनावले मात्रै युवा समेट्छ भन्ने पनि होइन ।

तर चुनाव नगरी आउने युवा त नेताको वरिपरि घुम्नेहरू मात्रै आउने होला नि ?

होइन, फिल्डमा काम गरेको युवा ल्याउनुपर्छ । त्यो मूल्याङ्कनको परिपाटी निर्माण गर्नुपर्छ । फिल्डमा खटेर काम गर्ने संगठक, वैचारिक, सैद्धान्तिक सबै योग्यता भएको युवाहरूलाई नै ल्याउनुपर्छ ।

आन्तरिक लोकतन्त्रमा एमाले अरू भन्दा अब्बल भन्ने थियो, तर त्यो गलत रहेछ ?

यसपटक हामी विशेष अवस्थामा छौं । सर्वसहमत भनेर कतिपय आउनुपर्ने साथीहरू पनि प्रतिनिधि आउनुभएको छैन । सर्वसहमति भनेरै पछि हट्नुभयो । जबकि चुनाव हुँदा उहाँहरू जित्नुहुन्थ्यो । तल चाहिं चुनाव हुन नदिने, माथि चाहिं चुनाव गर्नैपर्छ नभनौं । चुनावै गर्ने भए तलैबाट गरेको भए भइहाल्थ्यो ।

एमाले प्रतिस्पर्धा गर्ने परिस्थितिमा छैन, मनमा जे भए पनि हात मिलाएर अगाडि बढ्नुपर्ने अवस्थामा छ ?

हात मिलाएर पुग्दैन, मन मिलाएर अगाडि बढौं । सुदृढ एकता कायम गरौं । एमालेसँग चुनौती प्रशस्त छन् र संभावना पनि उत्तिकै प्रशस्त छन् । चुनौतीको सामना गर्दै सम्भावनाहरूलाई राष्ट्र र जनताको हितमा प्रयोग गर्नका लागि एकताबद्ध भएर अगाडि बढौं । अहिलेको आवश्यकता यही हो ।

तर अध्यक्ष केपी ओलीले सहमतिका लागि आग्रह गर्दिनँ, चुनाव जितेर आउ भन्नुभएको छ ?

अध्यक्षको हैसियतमा पार्टी एकताबद्ध बनाउने, पार्टीमा सहमतिका लागि भूमिका खेल्ने काम उहाँले नै गर्ने हो । नेतृत्वको भूमिका जहिल्यै पनि महत्वपूर्ण हुन्छ । अघिल्लो पटक चुनाव हुनुमा पनि नेतृत्वकै भूमिका थियो । चुनाव नै गरौं भन्नेतिर सबै नेताहरू लागे, चुनाव नै भयो । मिलाएर जाऔं भनेको भए सहमतिको वातावरण पनि बन्थ्यो होला ।

महाधिवेशन नेतृत्व परिवर्तन गर्ने लोकतान्त्रिक अभ्यास पनि भएकाले सर्वसहमतिको रटान नलगाऔं भन्नेहरूलाई मनाउन सक्नुहुन्छ ?

यसै भन्न सक्दिनँ, तर महाधिवेशन सकिरहँदा नेता तथा कार्यकर्ता अर्को पार्टीमा प्रवेश गरे भन्ने सुन्ने अवस्था बन्नुहुँदैन । बरु, अर्को पार्टीमा गएको र रहेकाहरूलाई पनि पार्टीमा फर्काउने अवस्था बनाउनुपर्छ । हामी विभाजित बन्ने मनस्थितिमा जानुहुँदैन । अहिले पनि केही असन्तुष्टिहरू छन् । त्यसलाई समेत महाधिवेशनले सम्बोधन गर्नुपर्छ ।

जति सहमति भने पनि अहिले एमालेभित्र तीन पक्ष अस्तित्वमा छ । फेरि नयाँ गुट भन्ने संकेत देखिन थालेको छ । चुनाव नगर्दा एकताबद्ध हुन्छ भन्ने शुभेच्छाले मात्रै हुन्छ र ?

विभाजनका भुक्तभोगी र पीडितहरू हामी नै हौं । यो पार्टीलाई कुन अवस्थामा लैजाने भन्ने निर्णय हामीले नै गर्नुपर्छ, पार्टीलाई एकताबद्ध बनाएर लैजाने कि फेरि गुट-उपगुट र विभाजनतिर लैजाने । १० बुँदे गर्नेहरूको पनि कुनै गुट होइन । यो १० बुँदे पार्टी एकताका लागि बनेको थियो । महाधिवेशनपछि नयाँ परिस्थिति आउँछ, पार्टीलाई गुटविहीन बनाएर जान्छौं ।

१० बुँदे गर्नेहरू त अहिले नै छिन्नभिन्न हुनुहुन्छ नि ?

त्यस्तो होइन । गुट भनेर हामीले बनाएकै होइन । नबनाएको समूह कसरी छिन्नभिन्न हुनु । अध्यक्षलाई आग्रह गर्छु- अब गुटरहित बनाएर पार्टीलाई लैजाऔं । एकताबद्ध बनाउन पार्टीभित्रका सबैको साझा नेता बन्नुहोस् । सिंगो पार्टीको एकमना एकता र त्यो एकमना एकताको नेता बन्नुहोस् ।

१० बुँदे महाधिवेशनपछि विसर्जन हुन्छ ?

स्थायी कमिटी बैठक हुनुअघि कुरा हुन्छ, बैठकपछि कुरा हुन्छ । धेरै नेताहरूको चाहना त पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ भन्ने नै छ । १० बुँदे सहमति सदाका लागि गरिएको होइन । एउटा कालखण्डका लागि गरिएको हो । पार्टीको एकता जहिल्यै पनि जोगाउनुपर्छ ।

एमालेभित्र कस्तो शक्ति-समीकरण छ भन्ने सबैले बुझेकै छन्, तपाईं कसरी सुरक्षित हुने ?

मैले त्यस्तो चिन्ता नै गरेको छैन । आफ्नो पार्टीका नेताहरूलाई कहाँ र कस्तो जिम्मेवारी दिने भन्ने कुरा मुख्यगरी नेतृत्वले सोच्ने हो । मैले मात्रै सोच्ने होइन । सबैको ज्ञान, क्षमता, योगदान त उहाँ -केपी ओली) लाई राम्रो थाहा छ, उपयुक्त जिम्मेवारी बाँडफाँट गर्नुहोला ।

चुनाव लड्नुपर्ने भयो भने शायद उपाध्यक्षमा लड्नुपर्छ । मिलाएर जाँदा सचिवमा नयाँ साथीहरू ल्याऔं । त्योभन्दा माथिको पदमा सोच्न सकिन्छ । उपमहासचिव कति जना बनाउने, महासचिव कति जनाउने, उपाध्यक्ष कति जना बनाउने भनेर सोचौं । सबै साथीहरूको योग्यताको कदर गर्नुपर्छ ।

सहमति गर्ने हो भने एकढंगले जानुपर्छ । सहमति हुँदा त चाहना गरेको पद भन्दा तल पनि त बस्नुपर्ने अवस्था आउँछ नि ! त्यसैले सहमति हुँदा एउटा ढंगले सोच्नुपर्छ, चुनाव हुँदा अर्को ढंगले सोच्नुपर्छ ।

चुनाव हुँदा तपाईं सचिवभन्दा माथिको जुनसुकै पद लिने, तर चुनाव भए उपाध्यक्षमा लड्नुहुन्छ ?

अध्यक्षसँग थप कुरा होला । साथीहरूसँग पनि कुरा होला । बेला भएपछि उम्मेदवारी तय होला । अहिले म एकता प्रक्रियालाई बल पुर्‍याऔं भनेर लागिरहेको छु, सबै साथीहरूलाई समेटौं भनेर लागिरहेको छु । यहाँ हामी पदाधिकारीको मात्रै कुरा होइन, १० बुँदे मानेर आएका केन्द्रीय कमिटी सदस्यहरू हुनुहुन्छ, उहाँहरूको पनि राजनीतिक भविष्य सुरक्षित गरेर जानुपर्नेछ । कतिपय नयाँ साथीहरू पनि आउनुहोला । सबैलाई योग्यता र क्षमताको आधारमा एकीकृत केन्द्रीय कमिटी बनोस् भन्ने मेरो चाहना हो ।

१० बुँदे पक्षधरले सम्मानजनक हैसियत नपाए फेरि पनि एमालेमै रहने सम्भावना कम छ । किनकि माधव नेपालको पार्टीमा तपाईंहरूका लागि ढोका सधैं खुला हुनेछ । सही हो ?

त्यतातिर किन सोच्नुपर्‍यो । अहिले त हामी यो महाधिवेशन सफल पार्न सबै साथीहरूलाई समेटेर लैजाऔं भनेर लागिपरेका छौं ।

अध्यक्ष केपी शर्मा ओली नै निर्विरोध हुने अनि बाँकी पदाधिकारीमा पनि ठूलो परिवर्तन नहुने भएपछि यो महाधिवेशन प्रक्रिया पूरा गर्नलाई मात्रै हो र ?

एमालेको शक्ति कमजोर भएको छैन भन्ने सन्देश दिन्छ । सर्वसहमत नेतृत्व चयनले नै त्यो सन्देश दिने हो । अहिले भीम रावलजीले अध्यक्षमा उम्मेदवारी दिने भन्नुभएको छ । अरू साथीहरूले पनि उम्मेदवारी दिनुहोला । तर १० बुँदे गरेका र माओवादीबाट एकता प्रक्रियामा एमालेमै रहेका सबैलाई समेटेर जानुपर्छ भन्नैमै छु ।

अहिले योग्य नेतृत्व भन्दा पनि बाँकी रहेको एकता जोगाउने कुरा मुख्य हो ?

अहिले स्थायी कमिटीमा रहेका कसैको पनि योग्यतामाथि प्रश्न उठाउने ठाउँ छ जस्तो लाग्दैन ।

तर त्यो योग्यताको आवधिक परीक्षण पनि त होला ?

पटकपटक परीक्षण भएको छ नि ! संगठनात्मक र वैचारिक योग्यतामाथि प्रश्न उठेको छ र ? छैन नि !

जुन तहका नेताहरूको योग्यतामाथि प्रश्न नउठाउनु भन्नुभयो त्यो तहले पार्टी, सत्ता र जनमत जोगाउन सकेन । अहिले फेरि एमालेको समस्याका रूपमा यो पुस्ता देखियो । त्यही नेतृत्वले एमाले एकता जोगाउला ?

यसको दोष दोस्रो पुस्तालाई दिन मिल्दैन । हाम्रो बुताले भ्याएसम्म पहल गरेकै हो । तर हाम्रो पार्टीको पहिलो पुस्ताको नेताहरूमा पटकपटक इगो र स्वार्थको लडाइँ भयो । ब्रोर्डर हितलाई केन्द्रमा राख्न सक्नुभएन । इतिहासले मूल्याङ्कन गर्ला । तर यो पार्टीलाई यहाँसम्म ल्याउन पनि हाम्रो पुस्ताको ठूलो योगदान छ । किनभने हाम्रो पुस्ताले विचार निर्माणदेखि संगठन निर्माणसम्ममा कहिले पर्दा अगाडि रहेर, कहिले पर्दा पछाडि रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

एमाले जत्रो शक्ति बाँकी छ, त्यसको जस लिन चाहनुहुन्छ ?

जस होइन । दोस्रो पुस्ताले महत्वपूर्ण भूमिका खेलेकै हो । संगठन निर्माण, विचार निर्माण र राज्य सञ्चालनमा भूमिका खेलेको छ । को मन्त्री हुँदा के गरेका थियौं भन्ने पनि सम्झनुहोस् न । कांग्रेसका भन्दा एमालेकै मन्त्री हुँदा राम्रो काम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?