+
+

एमाले महाधिवेशनमा प्रधानमन्त्री जाने, प्रचण्डको अनिश्चित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ९ गते १६:४५

९ मंसिर, चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाविधेशनको अन्तिम चरणमा पुगेको छ । चितवनमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहीबार रातिसम्म फिनिसिङको काम सकिने बताए ।

सभामा ५ लाखको जनसहभागिता रहने उनको दावी छ । महाधिवेशन उद्घाटनअघि एमालेले नवलपुरको गैंडाकोट र चितवनका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने बताएको छ । चितवनमा मात्रै ५० भन्दा बढी स्वागतद्वार बनाइएको प्रचार विभाग प्रमुख भट्टराईले बताए ।

बन्दसत्रको हल बनाउने तयारी पनि सकिएको उनले जानकारी दिए । महाधिवेशनको उद्घाटन सत्रमा सबै सहभागी आइपुग्न नसक्ने भएकाले ठूलठूला डिजिटल स्क्रीनमार्फत कार्यक्रमको लाइभ देखाइने प्रचार विभाग प्रमुख भट्टराईले बताए । नारायणी नदी पारी गैंडाकोट र नारायणगढका विभिन्न स्थानमा डिजिटल बोर्ड राखिनेछ ।

महाधिवेशनको उद्घाटन सत्रमा सहभागी गराउन एमालेले जिल्लाका विभिन्न ठाउँमा घरघरमा पुगेर निम्ता गरेको नेता भट्टराईले बताए । एमाले उद्घाटन सत्रमा ५ हजार स्वयंसेवक परिचालन हुनेछन् । उनीहरुलाई उदघाटन सत्र र सडकमा परिचालन गरिने भट्टराईले बताए ।

महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका कम्बोडिया लगायतका देशबाट प्रतिनिधि सहभागी हुनेछन् । चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश आएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए ।

प्रधानमन्त्री जाने, प्रचण्ड अनिश्चित

एमालेको १० औं राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा चितवन आउने भएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा महाधिवेशनको उद्घाटन समारोहमा आउने एमाले प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए ।

नेकपा एकीकृत (समाजवादी) लाई निम्ता नदिएको एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने निम्ता दिएको छ । उनी आउने वा नआउने निश्चित छैन ।

२१७५ प्रतिनिधि सहभागी

महाधिवेशनमा २१७५ प्रतिनिधि सहभागी हुनेछन् । भूगोल, जनसंगठन विभाग, सम्पर्क कमिटी र प्रवासबाट र ५ प्रतिशत मनोनीत (१०६ जना) गरी २१ सय ७५ प्रतिनिधि सहभागी हुनेछन् ।

महाधिवेशनमा १०३ जना पर्यवेक्षक रहनेछन् । एमालेका सल्लाहकार १५ जना र पाका पुराना नेता पर्यवेक्षक रहनेछन् ।

कुल प्रतिनिधिमा ६२७ जना महिला र २०९ जना दलित रहेका छन् । महिला प्रतिनिधित्व ३० प्रतिशत र दलित प्रतिनिधित्व १० प्रतिशत भएको प्रचार विभाग प्रमुख भट्टराईले बताए ।

एमाले महाविधेशन प्रतिनिधिका लागि मंसिर १० गतेबाट मात्रै आवास व्यवस्थापन गरिएको छ । शुक्रबार बेलुका मात्रै प्रतिनिधि परिचयपत्र बाँडिने छ । मंसिर ११ गते विहान ८.३० बजेबाट बन्दसत्र सुरु हुने कार्यक्रम तय गरिएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए ।

बन्दसत्रमा एमाले अध्यक्ष केपी ओली र विदेशी पाहुनाहरुले सम्बोधन गर्नेछन् । मंसिर ११ गते बेलुका साँझ ६ बजेसम्म उम्मेदवार दर्ता, दावी विरोध र फिर्ताको समय निर्वाचन आयोगले बनाएको छ । सोही दिन साँझ ६.३० उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

मंसिर १२ गते विहानबाट मतदान सुरु हुनेछ । मतदानका लागि एक सय भोटिङ मेसिन ल्याइएको छ । तीमध्ये ९० बटा प्रयोगमा ल्याइनेछ भने, १० वटा जगेडा राखिनेछ । १२ गते बेलुकासम्म मत परिणाम आइसक्ने प्रचार विभाग प्रमुख भट्टराईले बताए । १३ मंसिरमा चितवन घोषणा पत्र जारी भएर महाविधेशन सकिने उनले जानकारी दिए ।

‘एमालेको यस महाधिवेशन इतिहासकै बेग्लै महत्वको छ, विधान राष्ट्रिय महाधिवेशनबाट पार्टीको नीति, कार्यक्रम र योजना पास गरिसकेका छौं’ नेता भट्टराईले भने, ‘जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै समाजवादको आधार तयार गर्ने कार्यदिशामा एमाले अघि बढेको छ, यो महाधिवेशन पछि एक रुपताका साथका पार्टी नेता कार्यकर्तालाई प्रशिक्षित भएर कार्य क्षेत्रमा फर्किने छन् ।’

महाधिवेशन लगत्तै चुनावमा केन्द्रित

एमालेले महाधिवशेन पछि पार्टीलाई चुनावको तयारीमा लैजाने बताएको छ । प्रचार विभाग प्रमुख भट्टराईले महाधिवेशन पछि एमाले आगामी स्थानीय, प्रदेश र संघको चुनावमा केन्द्रित भएर जनताको बीचमा जाने बताए । उनले अहिलेको महाविधेशनले अन्तर्विरोधलाई हल गरेर बलियो एकता कायम हुने दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?