+
+

ए डिभिजन लिग : दोस्रो चरणको लागि रणनीति बनाउँदै क्लबहरु

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ९ गते १८:१९

९ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको दोस्रो चरणका खेलहरु शुक्रबार सुरु हुँदैछ । पहिलो पटक विकेन्ड (सप्ताहान्त) मा खेलाइएको प्रतियोगितामा केही दिनको विश्रामपछि क्लबहरु दोस्रो चरणको खेलको तयारीमा छन् ।

शुक्रबार थ्रीस्टार क्लब र सातदोबाटो युथ क्लब तथा संकटा क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्रीस्टार र सातदोबाटोबीच दिउँसो १ बजे र संकटा र फ्रेण्ड्सबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।

थ्रीस्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३-० ले पराजित गरी उत्कृष्ट सुरुवात गरेको छ । तर त्यसमा सबै गोल डिफेण्डरले नै गरेकोले आगामी खेलमा स्ट्राइकरबाट गोल निकाल्ने योजनामा थ्रीस्टार छ ।

दोस्रो चरणको खेलअघि बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको प्रि म्याच कन्फ्रेन्स आयोजना गरेको थियो ।

थ्री स्टारका प्रशिक्षक उर्जन श्रेष्ठले ग्यापमा राम्रो तयारी गरेको र सातदोबाटो विरुद्ध राम्रो खेल्ने बताए । ‘पहिलो खेलमा स्ट्राइकिङ मिस्टेक भाथ्यो । सेट पिस गोल भयो । तयारीमा समय पायौँ । सातदोबाटो राम्रै टिम हो । भोलि राम्रो गर्ने योजना छ’ उनले भने ।

प्रशिक्षक श्रेष्ठले पहिलो खेलको नतिजाबाट सन्तुष्ट भएपनि अग्रपंक्तिका खेलाडीले गोल गर्न नसकेकामा सन्तुष्ट हुन नसकेको बताए । सातदोबाटोविरुद्धको खेलमा भने सुधार गर्ने उनले बताए ।

प्रशिक्षक श्रेष्ठले लिग खेल्ने सबै टिम राम्रो रहेको भन्दै कसैलाई सहज रुपमा नलिने बताए । ‘सबै अपोनेन्ट राम्रै छन् । हाम्रो हरेक म्याच फाइनलजस्तै हो । सजिलो रुपमा लिन्नौं ।

सबै कोचले आ-आफ्नो ट्याक्टिस अनुसार खेलाउँछन् । कसैसंग खेल्न इजी हुन्न । सातदोबाटो नयाँ टिम भएकाले झन् जोश हुन्छ । मिहिनेत गर्छौ र शतप्र तिशत दिन्छौं’ उनले भने ।

अघिल्लो लिगमा थ्रीस्टारका प्रशिक्षक रहेका सातदोबाटोका प्रशिक्षक मेघराज केसी दोस्रो चरणको पहिलो खेलमा पूर्वक्लबविरुद्ध उत्रिँदैछन् । उनले पूर्वक्लब भए पनि विपक्षी टिमको रुपमा हेर्ने बताए । ‘मैले प्रशिक्षण गरेको ८-९ वटा क्लब भइसक्यो । यसअघि खेलेको फ्रेण्ड्स पनि पूर्वक्लब हो । आर्मी पनि हो’ केसीले भने, ‘मैले विपक्षीलाई विपक्षीकै रुपमा लिन्छु । यो लिगको १३ टिमलाई उस्तै रुपमा हेर्छु ।’

पहिलो चरणमा राम्रो खेलेपनि गोल नभएको र थ्रीस्टारविरुद्ध त्यो समस्या नदोहोर्‍याउने उनले बताए । ‘५-६ अवसरमा स्कोर भएन त्यो समस्या फेरि भए गाह्रो हुन्छ । हामी त्यसमा सुधार गर्न प्रयास गर्छौ । थ्री स्टारमा राम्रो खेलाडी छन् । उनीहरुको तीनवटै डिफेण्डरले स्कोर गरेका थिए । त्यो समस्या हामीले दोहोर्‍याउन भएन’ प्रशिक्षक केसीले भने ।

सातदोबाटो ए डिभिजनमा नयाँ हो । पहिलो खेलमा गोलको अवसर पाएपनि गोल गर्न नसक्दा फ्रेन्डससँग अंक बाँडेको थियो ।

प्रशिक्षक केसीले थ्रीस्टार र अरु टिमसंग पनि जित्ने लक्ष्यसहित खेल्ने बताए । ‘थ्री स्टारसंग ३ अंककै लागि खेल्छौं । दह्रो उपस्थितिका लागि आएका छौँ । सबैसंग ३ अंककै लागि खेल्छौँ’ उनले भने ।

केसीले पहिलो खेलमा घाइते भएका दक्षिण अफ्रिकी खेलाडी सिफामान्डला माथेन्जाको चोट ठूलो रहेको र उनले बाँकी खेल नखेल्ने बताए । विदेशी खेलाडी गुमाउँदा क्लबलाई नै घाटा पुगेको उनले बताए ।

पहिलो जितको खोजीमा संकटा र फ्रेण्ड्स

शुक्रबार नै संकटा र फ्रेण्ड्स क्लबीच पनि खेल हुनेछ । संकटाले पहिलो खेलमा हिमालयन शेर्पासंग १-१ को बराबरी खेलेको थियो । फ्रेण्ड्सले सातदोबाटोसंग गोलरहित बराबरी खेलेको थियो ।

फ्रेण्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले फुटबलमा जितका लागि गोल गर्नुपर्ने र संकटाविरुद्ध स्कोर गर्न प्रयास गर्ने बताए । ‘अब विपक्षी राम्रै छ । तयारी राम्रै छ । फुटबल हो स्कोर चाहिन्छ । अस्ति ड्र भयो । भोलि स्कोर निकाल्ने प्रयास हुनेछ’ मिश्रले भने, ‘अस्ति अवसर पाएपनि ब्याडलक भयो । संकटा पनि राम्रो छ । जसले अट्याक गर्‍यो बल पोजेसन राखेर खेल्यो उसले राम्रो गर्छ ।’

उनले पहिलो खेलमा विदेशी खेलाडी रोनेल पउलले रातो कार्ड पाएकोले खेल्न नपाउने र गाह्रो हुने बताए । मिश्रले संकटा विरुद्ध जितकै लागि खेल्ने बताए । ‘जितका लागि खेल्ने हो । ड्र खेलेर अस्तित्व हुँदैन । तीन बराबर र एक जितमा जित नै बढी हुन्छ । राम्रो टिमसित खेल्दा हाम्रो पनि रणनीति चेन्ज हुन्छ’ उनले भने ।

यस्तै संकटाका प्रशिक्षक विष्णु गुरुङले फ्रेण्ड्सविरुद्ध जितकै लागि खेल्ने बताए । ‘हाम्रो खेलाडीहरु मेन्टल्ली र फिजिकल्ली तयार छन् । हामी आफ्नो योजना अनुसार नै खेल्ने छौँ र ३ अंकका लागि जानेछौँ’ उनले भने ।

यस्तै उनले फ्रेण्ड्समा पनि अनुभवी र राम्रो खेलाडी रहेकोले टिम राम्रो भएको बताए । ‘उनीहरुको भारतीय गोलकिपर विदेशी खेलाडीहरु राम्रो छ । प्रकाश बुढाथोकी लगायत अनुभवी खेलाडी छन् । टिम राम्रो छ’ उनले भने ।

यस्तै पहिलो खेलमा जित हात पारेका मछिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवाल र मनाङ मर्स्याङ्दी क्लबका प्रशिक्षक राजेन्द्र तामाङले पनि कमजोर पक्षलाई सुधार गर्दै अबका खेलमा सुधारिएको खेल खेल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?