+
+
बहसमा एमाले महाधिवेशन :

माओवादी आन्दोलनको विचलनसँगै उदाएका ओली

ओलीको उदय माओवादी आन्दोलनको विचलनको पृष्ठभूमिमा भएको हो । माओवादी क्रान्तिकारी रहिरहेको भए ओलीहरू जन्मन सम्भव थिएन । पहिलो संविधानसभासम्म ओलीहरू जन्मिएनन्, टाउकै उठाउन सकेनन् किनकि त्यतिञ्जेल क्रान्तिकारी आन्दोलनको राजनीति बलशाली थियो ।

आहुति आहुति
२०७८ मंसिर ९ गते १९:१८

नेपालको कम्युनिष्ट आन्दोलनले दार्शनिक तहमा भौतिकवादलाई स्वीकार गर्‍यो र आदर्शवादलाई अस्वीकार गर्‍यो किनकि भौतिकवाद मार्क्सवादको आधारशिला नै हो । व्यक्तिगत तवरमा क्रान्तिकारीहरू भौतिकवादी गतिविधिमा पनि सामेल भए । तर त्यो सहभागिता दार्शनिक रूपमा जीवनशैली र संस्कृतिको तहमा भएन । त्यो केवल आन्दोलनमा पुरानो सत्ता र व्यवस्थाबाट आफूलाई पृथक् देखाउन भावनात्मक वा राजनीतिक तहमा मात्रै भौतिकवाद ग्रहण अवस्था रहँदै आयो ।

यसको नतिजा जबसम्म आन्दोलन तीव्र र परिवर्तनकारी अवस्थामा चलिराखेको हुन्छ, त्यतिबेला मान्छे भौतिकवादी जस्तो देखापर्छ । जब शान्तिपूर्ण अवस्था आउँछ वा पुरानो व्यवस्थाको अंग बनिन्छ वा उमेर ढल्कन थाल्छ, त्यसपछि भने भावनात्मक रूपमा चढेको भौतिकवादको ज्वरो सेलाउने र क्रमशः मानिस धार्मिक बन्ने परिघटनाहरू देखापरेका छन् । यो भौतिकवादलाई दार्शनिक तहमा आफ्नो स्वत्वको स्तरमा, विचारधाराको तहमा ग्रहण र अभ्यास नगर्नुको प्रतिफल हो ।

मानिसको मनका सामान्यतः चार तह हुन्छन्– भावनाको तह सबैभन्दा माथि हुन्छ, त्यसपछि धारणाको तह, अनि विचारको तह र सबैभन्दा गहिराइमा स्वत्वको तह हुन्छ । स्वाभाविक रूपमा अहिलेको समाजमा जन्मिने मान्छेहरूको स्वत्व पारिवारिक, सांस्कृतिक, सामाजिक रूपमा निर्मित हुन्छ । आजको समाजको बहुसंख्यक हिस्सा धार्मिक रुढिवादमा आस्तिक भई बाँचिरहेकाले बहुसंख्यकको स्वत्व पनि धर्ममा आधारित बन्न पुगेकै हुन्छ । त्यसलाई भत्काउन भावनात्मक, क्रान्तिकारी रोमान्सभाव वा राजनीतिक लडाईंको तहमा मात्रै भौतिकवादलाई स्वीकार गरेर सकिंदैन । भौतिकवादलाई जीवनको समग्र आचरण, विचार र स्वत्वको तहमा पनि व्यवहारमा लगातार लागू गर्दै गएपछि मात्रै दार्शनिक रूपमा नै मानिसको उत्परिवर्तन हुने हो । तर, त्यो तहमा नेपालको कम्युनिष्ट आन्दोलनले भौतिकवादलाई ग्रहण गरेको देखिंदैन ।

भौतिकवादलाई धारणा र भावनाको तहमा अथवा राजनीतिक लडाईंको औजारको रूपमा मात्र लिइएको देखिन्छ । त्यसकारण त नेपाली कम्युनिष्ट आन्दोलनमा भौतिकवादी बन्ने अभियान चलाएको पाइँदैन । पार्टीमा लागेपछि स्वतः भौतिकवादी भयो भनेजस्तो मान्यता विकास भएको छ । भौतिकवादी बन्ने सांस्कृतिक र दार्शनिक अभियान वा योजनाबद्ध प्रकृया नै छैन । यसर्थ, नेपाली कम्युनिष्ट आन्दोलनमा यो दार्शनिक जगकै समस्या हो ।

भौतिकवादीहरूको आफ्नो समाज छैन

कम्युनिष्ट क्रान्तिकारीहरू एक्लाएक्लै भौतिकवादी बन्न हिंडे जस्तो भयो । उनीहरू परिवार र नातागोतासँग सम्बन्धित धार्मिक, आध्यात्मिक वा त्यसप्रकारका रुढिवादी क्रियाकलापहरूमा बढीमा आफू सामेल नहुनेसम्मका त हुँदै आए । तर, उनीहरूले परिवार र समाजलाई बदल्नको निम्ति सिर्जनात्मक हस्तक्षेप गरेको उदाहरण असाध्यै कम पाइन्छ । आफू एक्लै अलग जस्तो । पार्टी बैठकमा जाँदा भौतिकवादी जस्तो, घरमा पुगिसकेपछि रुढिवादसँग सम्झौता गरिरहेको प्राणी जस्तो देखियो । कम्युनिष्ट क्रान्तिकारीहरू त्यसको विरुद्ध अभियान छेड्नेभन्दा सम्झौता गरिरहेको प्राणी जस्तो हुँदै आए ।

कुनै पनि सही मतलाई अगाडि बढाउन उसलाई समाज, जमात चाहिन्छ । संस्कृति भनेको एक्लो चिज होइन, सामूहिक कदम र कर्म हो । त्यसैले रुपान्तरणका लागि सामूहिक प्रयत्न अनिवार्य हुन्छ । तर, भौतिकवादीहरूको त्यस्तो समाज नै भएन । उनीहरूले बनाउन प्रयास नै गरेनन् । भौतिकवादलाई आधार मानेर राजनीति गर्नेहरूको राजनीतिक भेटघाट छ, राजनीतिक जमात छ तर उनीहरूको नेपालमा आफ्नो भौतिकवादी समाज छैन ।

नेपालमा कम्युनिष्ट आन्दोलनको ७० वर्षभन्दा बढी समय बितिसक्यो । तर, भौतिकवादीहरूको समाज छैन । त्यो भनेको भौतिकवादीहरूको रीतिथिति छुट्टै छैन । नातागोता बनाउने छुट्टै तरिका छैन । सांस्कृतिक अनुष्ठानहरू छुट्टै छैनन् । समग्रमा भौतिकवादीहरूको छुट्टै समाज भएन । कुनै पनि दार्शनिक मतलाई लागू गर्न समाज र पन्थको सिर्जना गरिन्छ । धर्म भनेको त्यो एउटा दार्शनिक पन्थ हो । त्यसले एउटा समाज सृष्टि गर्छ । त्यसले सबै आयाममा हान्छ । एउटा दार्शनिक समझदारी र सांस्कृतिक प्रचलनहरू बनाउँछ । जन्मदेखि मृत्युसम्मका अनुष्ठानहरू बनाउँछ । कोसँग बिहे गर्न हुने र कोसँग नहुनेदेखि लिएर विभिन्न पाइला–पाइलाको प्रचलन बनाउँछ । यसरी उसले आफ्नो समाज निर्माण गर्छ र त्यसमा टेकेर उसले आफ्नो मतलाई लागू गर्न सक्छ ।

तर भौतिकवादीहरूको आफ्नो समाज रहेन । राजनीतिक सङ्गातेहरू र राजनीतिक आन्दोलन उनीहरूसँग भयो । उनीहरूको दार्शनिक समाजचाहिं भएन । भौतिकवादी समग्र संस्कृति सहितको समाज उनीहरूले नबनाएकाले वास्तविक भौतिकवादी व्यक्ति सधैं एक्लो पर्ने अवस्था जीवित रह्यो । यो त एकदम कमजोर जग भयो । दार्शनिक समाज नै नभएको जगमाथि मान्यताहरू उभिंदै आए । यसले आदर्शवादी बन्ने र भौतिकवादी रहिरहनेहरूबीच फगत सानो रेखा मात्रै बाँकी रह्यो । कुनै पनि दुर्घटना र फाइदा हुँदा भौतिकवादी देखिएको मान्छे धार्मिक समाजमा जान सक्ने भयो ।

 यसरी कम्युनिष्टहरू बैठकमा हुँदा भौतिकवादी जस्तो बने । आन्दोलनको तीव्र उतार भएको बेलामा उनीहरू एकदम उग्र भौतिकवादी जस्तो पनि देखिए । तर, परिवार र समाजमा पुगिसकेपछि एकदम समन्वयवादी हुँदै आए । यसको कारण उनीहरुसँग आफ्नो संस्कृति सहितको समाज भएन, बनाएनन् । यो कमजोर जगमाथि सिंगै नेपाली कम्युनिष्ट आन्दोलन आज पनि उभिएको छ । यसरी नेपाली कम्युनिष्ट आन्दोलनको भौतिकवादी दार्शनिक मान्यता असाध्यै कमजोर छ । लेख्न र बोल्नका निम्ति छ तर जीवन व्यवहारमा भौतिकवादलाई अनुसरण गर्ने पाटो असाध्यै कमजोर छ ।

रूपान्तरको नीति छ, आवधिक कार्यक्रम छैन

ओलीको अहिलेको राजनीतिक लाइन जसरी हुन्छ शासक बन्ने हो । जसरी हुन्छ शासक बन्ने भनेपछि यहाँको परम्परागत शासक र सबैभन्दा रुढिग्रस्त जनताको मत झुक्याएर लिने हुन्छ । यसको निम्ति धार्मिक अन्धतालाई प्रयोग गर्नु स्वाभाविक थियो र उनले यो प्रयोग गरिराखेका छन् ।

कैयौं मानिस कम्युनिष्ट पार्टीको नेता भएर केन्द्रीय समितिमा बसिसक्दा पनि जनै लगाइरहेका छन् । अहिले पनि परिवारमा जाँदा उनीहरू सम्पूर्ण धार्मिक अनुष्ठानहरूमा सहभागी हुँदै आएका छन् । त्यसलाई बदल्ने प्रयत्न, चेष्टा केही पनि छैन । यस्तो किन भयो ? नेपालको कम्युनिष्ट आन्दोलनमा धार्मिक रुढिवादबाट सबैभन्दा बढी फाइदा लिएको कथित हिन्दू उच्च जातबाट आएका व्यक्तिहरूले कम्युनिष्ट आन्दोलनको नेतृत्व गरे । कथित हिन्दू उच्च जातलाई नै धर्मले सबैभन्दा बढी फाइदा दिएको थियो । उनीहरूलाई त्यो धार्मिक मान्यताले माथिल्लो जातमा राख्न, हाकिम हुन, ज्ञान लिन, बिर्ता पाउनका निम्ति छुट र फाइदा दिएको थियो । त्यही संस्कृतिमा हुर्केका मान्छेहरू कम्युनिष्ट आन्दोलनको बहुसंख्यक नेतृत्व तहमा आइपुगे ।

त्यो अस्वाभाविक पनि थिएन किनकि कुनै पनि समाजमा शुरुमा शासक समुदायबाट नै विद्रोहीहरू जन्मिने हो । उनीहरूलाई त्यो बदल्नुपर्छ भन्ने कुरामा रुचि कम हुनेभयो किनकि त्यो संस्कृतिबाट सबैभन्दा बढी फाइदा पाइरहेकाबाट आएको हुनाले सिद्धान्तको अध्ययनले त्यो गलत भयो भन्ने बुझाइ हुने भयो तर, त्यो बदल्नका निम्ति हुटहुटीचाहिं उनीहरूमा पैदा नहुने वा कम हुने अवस्था रह्यो ।

त्यसकारण त नेपाली कम्युनिष्ट आन्दोलनमा सांस्कृतिक रूपान्तरणको नीति छ तर रुपान्तरणको कहिल्यै पनि आवधिक कार्ययोजना छैन । कुनै पनि रूपान्तरण वा परिवर्तन आवधिक कार्ययोजना लागू गरेपछि हुने हो । यति समयभित्र यति गर्ने भनेर आवधिक कार्ययोजना लागू गरेपछि रूपान्तरण हुने हो । मूल्याङ्कन पनि त्यसरी हुने हो । हो, नेपालको कम्युनिष्ट आन्दोलनमा बदल्ने सांस्कृतिक नीति छ । कहिले नयाँ जनवादी संस्कृतिमा जाने भनेको छ । कहिले समाजवादी संस्कृतिमा जाने भनेको छ । केही किताब पनि लेखिएका छन् । सांस्कृतिक नीति छ रूपान्तरणको तर, सांस्कृतिक रूपान्तरणको आवधिक कार्ययोजना नेपालको कम्युनिष्ट आन्दोलनसँग कहिल्यै पनि छैन । त्यस्तो किन भएन ? त्यो बदल्नका निम्ति नेतृत्वमा हुटहुटी नै भएन, भित्रैदेखिको आवश्यकता बोध नै भएन । यो नियतको कुरा होइन, स्वाभाविक प्रक्रिया हो । कथित हिन्दू उच्च जातबाट मात्र लगातार बहुसंख्यक नेताहरू जन्मिइरहने जात व्यवस्थामा आधारित संगठनात्मक प्रणालीले पनि कम्युनिष्ट आन्दोलनमा भौतिकवाद कमजोर रहिरहने अवस्था आयो ।

एमालेको कुरा

यही समग्र पृष्ठभूमिमा अरु एमाले पार्टी पनि विकसित हुँदै आयो । त्यसका नेताहरू पनि त्यसैगरी आए र उनीहरूले पनि त्यसै गर्न थाले । दर्शनले राजनीतिलाई नेतृत्व गर्छ, दिशाबोध गर्छ र सँगसँगै राजनीतिले पनि दर्शनलाई प्रभावित गर्छ । यो द्वन्द्ववाद लागू हुन्छ । त्यसैले जुन जुन पार्टीहरू क्रान्तिकारी राजनीति र लाइनमा हुन्छन्, त्यो बेलासम्म यो आदर्शवाद, धार्मिकता वा रुढीहरूले उनीहरूलाई धेरै सताउन सक्दैन । भौतिकवादी दर्शनसँग मिल्ने क्रान्तिकारी राजनीति लागू गर्दासम्म पार्टीहरूमा धार्मिक अन्धताले कुनै समस्या उत्पन्न गर्न सक्दैन । क्रान्तिकारी राजनीतिले उनीहरूमा बाँकी रहेको धार्मिक चेतना वा रुढिवादलाई छोपछाप पारिदिन्छ वा कमजोर बनाउँदै लगिरहेको हुन्छ ।

उदाहरणबाट यस कुरालाई बुझ्नका लागि जनयुद्धलाई लिउँ । त्यो क्रान्तिकारी राजनीति थियो, त्यो राजनीति क्रान्तिकारी भएको हुनाले त्यसमा लागेका व्यक्तिहरूमा धार्मिक अन्धता छ भने पनि त्यस राजनीतिले त्यस अन्धतालाई आफ्नो अधीनस्थ बनायो । तर जब माओवादी आन्दोलन राजनीतिक रूपमै यथास्थितिवादी बन्दै गयो, त्यसपछि भने त्यो आन्दोलनमा धार्मिक अन्धता जस्ता विकृति छताछुल्ल हुँदै आएका छन् । एमालेमा पनि भएको यही हो ।

एमाले २०४० को आसपासपछि सुधारवादतिर लागेको हो, त्यो सुधारवाद हुँदै यथास्थितिवादी आजको राजनीतिमा पुग्दा उसको राजनीतिले अनिवार्य रूपमा भौतिकवादलाई त्याग्नै पर्थ्यो । सधैं ढोंगबाट काम चल्नेवाला थिएन, नाङ्गो रूपमा प्रकट हुनैपर्थ्यो, जुन आज भइरहेको छ । यसरी राजनीति जब क्रान्तिकारी हुँदैन, सुधारवादी या यथास्थितिवादी राजनीतिमा पतन हुन्छ, त्यसपछि आध्यात्मिकता तमाम रुढिवादी प्रवृत्ति ह्वात्तै प्रकट हुन्छ । राजनीतिक लाइन यथास्थितिवादी तर दर्शन र व्यवहारचाहिं भौतिकवादी बनाइरहन लामो समय सम्भव हुँदैन भन्ने कुरा बुझ्नैपर्छ ।

यस्तो किन हुन्छ ? किनभने यथास्थितिवादी राजनीति जनताको बहुसंख्यक हिस्साको यथास्थितिवादी चेतनामाथि टेकेर गर्नुपर्ने हुन्छ । बहुसंख्यक जनताको रुढिवादी चेतना अथवा कमजोर चेतना अथवा अवैज्ञानिक चेतनामा टेकेर मात्रै यथास्थितिवादी राजनीति गर्न सकिन्छ । जनताको त्यो चेतनालाई सम्बोधन गर्नुपर्ने भएको हुनाले अब भौतिकवादले काम गर्न छोड्छ । त्यहाँ रुढिवाद ल्याउनुपर्ने हुन्छ । त्यसको प्रश्रयमा जानुपर्ने हुन्छ ।

जबज अर्थात् उल्टो रूपान्तरणको दस्तावेज

एमालेको पार्टी जीवनमा मदन भण्डारीले अगाडि सारेको जबज ‘टर्निङ प्वाइन्ट’ थियो । राजनीतिमा सुधारवाद एवं यथास्थितिवादको यात्रा र दार्शनिक रूपमा रुढिवाद र भौतिकवादको परित्यागको यात्रा बन्यो यो । जबजले धार्मिक अन्धतातिर सिंगै पार्टी जाने ढोका खोलिदियो । २०२८ सालमा शुरु भएर २०३५/३६ सालमा जन्मिएको एमालेको २०४०/४२ सालसम्मको राजनीतिले भन्छ– सामन्तवादलाई ठोक्ने हो, साम्राज्यवादलाई ठोक्ने हो । बलिदान गर्ने हो भन्छ । त्यसकारणले त्यसको नेता कार्यकर्तासँग भएको रुढिवाद उनीहरूमाथि, त्यो क्रान्तिकारी राजनीतिमाथि हावी भएर प्रकट हुनसक्ने स्थिति थिएन । धार्मिकता रुढिवाद कार्यकारी रूपमा प्रकट हुन सक्दैनथ्यो किनकि राजनीति त्यस्तो थियो ।

जब एमालेमा मदन भण्डारीको उदय भयो र उनले बहुदलीय जनवादसम्म लिएर आए । सबैभन्दा पहिले उनले पञ्चायतमा भाग लिने नीति लिएर आए । त्यसपछि संसारका १६/१७ वटा देश समाजवादी देश हुन् भन्ने विश्लेषण भयो । इत्यादि हुँदै उनी बहुदलीय जनवादसम्म आइपुगे । बहुदलीय जनवाद भनेको विशुद्ध पूँजीवादी राजनीति थियो । ‘मल्टी पार्टी डेमोक्रेसी’ भनेको त हो । बहुदल भनेको त्यही हो- शान्तिपूर्ण संक्रमण, पूँजीपति वा सामन्तहरूसँग शान्तिपूर्ण प्रतिस्पर्धा, संवैधानिक राजतन्त्र इत्यादि । पूँजीवादले जे भनेको छ, बहुदलीय जनवादले भनेको त्यही हो । वास्तवमा त्यो भौतिकवादसँग मेल खाने राजनीति थिएन । भौतिकवादी दर्शन त संघर्ष गर्नको निम्ति जन्मिएको हो । बहुदलीय जनवाद त संघर्षको कार्यक्रम नै थिएन, त्यो त वर्ग समन्वयवाद हो ।

बहुदलीय जनवाद कार्यक्रमले समाजको त्यस्तो पंक्तिलाई आधार बनाएर राजनीति गर्ने ठाउँमा पुर्‍याइदियो जो खातापिता, रुढिवादी छ । खातापिता मध्यम वर्गको मुख्य हिस्सा नेपालमा कथित उच्च हिन्दू जातबाट विकसित भएको हो । त्यो जात व्यवस्थामा विश्वास गर्ने रुढिवादी प्रकारको छ । त्यस्तो मध्यम वर्गमा उभिएर दलाल पूँजीपति वर्गलाई रिझाउने राजनीतिमा एमाले वेग मार्दै आयो । अर्कोतिर उसले धार्मिक रुढिवादबाट पनि सबैभन्दा प्रताडित भएका श्रमिक जनताको राजनीति छोडिदियो । नेपालमा सबैभन्दा प्रताडित वर्ग समुदाय भनेका दलित, किसान, जनजाति, मजदूर र पिंधका गरीब किसानहरू थिए । एमालेले तिनीहरूको राजनीति पनि छोडिदियो । एमालेले बहुदलीय जनवादवाला राजनीति गर्‍यो । यो भनेको मध्यम वर्गदेखि माथिका मान्छेहरूको प्रतिनिधित्व गर्ने वर्गको राजनीति हो । मध्यम वर्ग र त्योभन्दा माथि दार्शनिक रूपमा धार्मिक रुढिवादी वर्ग हुन्छ । धर्मको आधारमा शासन चलाइआएको, बिर्ता पाएको, न्यायाधीश र प्रधानमन्त्री बनेको वर्ग हो त्यो । बहुदलीय जनवाद मध्यम वर्ग र त्योभन्दा माथिको शासक वर्गलाई मनपर्ने स्वार्थपूर्ति हुने राजनीति हो ।

एमालेको यस्तो राजनीतिले स्वार्थ त्यो वर्गको पूर्ति भए पनि उनीहरूको मात्रै भोटले पुग्दैन । भोट त बहुसंख्यक मान्छेले हाल्नुपर्छ । नेपालमा बहुसंख्यक मान्छेको चेतना पनि धार्मिक रुढिवादी नै हो । त्यो धार्मिक रुढिवादी बहुसंख्यक मान्छेको चेतनालाई पनि उसले समन्वय गर्‍यो । क्रान्तिकारी राजनीति गरेको भए त्यो भत्काउनतिर लाग्थ्यो । बहुसंख्यक मान्छेमा भएको चेतनालाई भत्काउनतिर लाग्थ्यो । तर, क्रान्तिकारी चेतना र राजनीति भएन । बहुदलीय जनवादी राजनीतिले यही शोषक वर्गको व्यवस्थाभित्र आफू पनि हाकिम भएर सेवा गर्न पाउँ भनेको न हो ।

दोस्रो संविधानसभासम्म पुग्दा माओवादी आन्दोलन विचलित भयो । वैचारिक पतन र राजनीतिक पतन सँगसँगै भयो । विकल्पमा आउनका निम्ति पुरानो राजतन्त्र, पञ्च टाइपको आउन त सम्भव थिएन । दक्षिणपन्थ आउनै पर्दथ्यो । संयोगले ओली त्यतिबेला आफ्नो पार्टीको अध्यक्ष थिए । त्यसकारण उनी नेता हुने भए ।

यसरी बहुदलीय जनवाद भौतिकवादसँग मेल खाने कार्यक्रम थिएन । त्यसले त धार्मिक अन्धतालाई पनि समन्वय गर्नुपर्दथ्यो । मदन भण्डारी मर्ने बित्तिकै उनकी पत्नीले सेतो सारी लगाइन् । मदन भण्डारीकै परिवार दार्शनिक रूपमा कसरी प्रशिक्षित रहेछ भन्ने बुझिइहालियो । उनी स्वयंको परिवारको दार्शनिक र सांस्कृतिक चेतना पनि रुढिवादमै रहेछ भन्ने प्रमाणित भयो ।

 मदनको जबज दार्शनिक रूपमा धार्मिक अन्धताको विरुद्ध थिएन । बरु धार्मिक अन्धतालाई समेत समन्वय गरेर भोट बटुल्नुपर्ने उद्देश्यमा आधारित उनको राजनीतिक लाइन थियो । त्यसको परिणाम सिंगै एमाले पार्टीको ध्यान मध्यम वर्ग रिझाउने, आफू पनि शासक बन्न जेजे पर्छ, त्यही-त्यही गर्ने, अनि बहुसंख्यक जनताको पनि भोट लिन उनीहरूले जेजे भन्छन्, त्यही मान्ने, मन्दिर बनाउन रकम जुटाउने, जातपातमा अत्याचार हुँदा मिलापत्र गराउनेतिर गयो । त्यतातिर राजनीतिक लाइनले लग्यो । त्यो राजनीति कार्यकारी भयो, भौतिकवादी दर्शनमाथि हस्तक्षेप भयो । यसरी एमाले दार्शनिक रूपमा आजको पुरातनपन्थमा पुग्नुको मुख्य कारण भनेको बहुदलीय जनवादको राजनीति नै हो।

उदाहरण लिऊँ, प्रचण्डले नेतृत्व गरेको माओवादी आन्दोलन । त्यसले एउटा भौतिकवादी उभार ल्याउँछ जस्तो थियो । परिवर्तन ल्याउन शुरु गरेको पनि हो । त्यतिबेला राजनीति र दर्शनशास्त्रबीच मेल खाएको थियो । त्यसकारण माओवादीले गाई खायो रे भन्दा कसैले केही भन्न सक्दैनथ्यो । माओवादी आन्दोलनले गाईको पवित्रतामाथि प्रश्न उठाउने, महिला र दलितको हात सशस्त्र बनाउने जस्ता हस्तक्षेप अघि बढाएकै थियो । त्यो त सांस्कृतिक क्षेत्रमा ठूलो हस्तक्षेप असाधारण उपलब्धि थियो ।

जब माओवादी शान्ति प्रक्रियामा आयो र दोस्रो संविधानसभादेखि जुन ढङ्गले यथास्थितिवादी राजनीतिमा गयो, तब माओवादी नेताहरू अनिवार्य रूपमा धार्मिक अन्धतातिर झुक्न बाध्य भए । त्यतातिर राजनीतिले लग्यो । राजनीतिले हस्तक्षेप गर्‍यो, बोकेको दर्शनशास्त्र अनुसारको राजनीति भएन । राजनीतिले हस्तक्षेप गर्‍यो । कृष्णबहादुर महराहरू आफ्नै खर्चमा मन्दिर बनाउन थाले । किन ? किनकि धार्मिक अन्धताबाट टिकेका वर्गहरूसँग मिलेर गर्नुपर्ने राजनीति बोकेकोले यस्तो भयो । अर्कोतिर चुनाव जित्न रुढिवादबाट ग्रस्त बहुसंख्यक जनताको भोट लिनु परेको छ । यस्तो अवस्थामा भौतिकवादी दर्शनअनुरूप राजनीति गर्न सकिंदैन । यसले अनिवार्य रूपमा रुढिवादी भएर धार्मिक अन्धतालाई केही न केही मान्न थाल्नुपर्ने हुन्छ ।

ओली उदयको पृष्ठभूमि

नेपालको कम्युनिष्ट पार्टीहरूसँग सांस्कृतिक रूपान्तरणको आवधिक कार्ययोजना नभएको हुनाले जहिले पनि त्यो धार्मिकतातिर, अथवा त्यसको समर्थक बन्नेतिरको सम्भावना जीवित भएको आन्दोलन हो । यसरी बहुदलीय जनवाद हुँदै तीव्र रूपमा पूँजीवादी बन्दै गएको पार्टीको नेतृत्वको रूपमा विस्तारै केपी ओलीको उदय भयो । वास्तवमा उनी व्यवस्थित ढङ्गको दार्शनिक प्रणालीमा बहस विवेचना गर्न सक्ने मान्छे पनि होइनन् । उनको त्यस्तो कुनै योगदान पनि छैन । नेपाली समाजलाई, उनकै पार्टीलाई पनि नयाँ ढङ्गले प्रशिक्षित गर्न उनीसँग कुनै लाइन छैन । दार्शनिक तहमा पनि छैन, संगठनात्मक रूपमा पनि छैन ।

त्यसो त, नियमित प्रक्रियाअन्तर्गत कोही न कोही अध्यक्ष हुने प्रणालीमा उनी आइपुगे । केपी ओलीको उदय एकप्रकारको अनिवार्यता हो । ओली अध्यक्ष नभएको भए छिचरो वचन नबोल्ने बाहेक त्यो राजनीति गर्ने अर्को नेताले के गर्दथ्यो ? त्यही त हो कार्यदिशा त । गर्ने काम त यस्तै हुन्थ्यो । अर्को कुनै पात्रभन्दा ओली बोली वचन र शैलीमा मात्र फरक हुन् ।

ओलीको उदय माओवादी आन्दोलनको विचलनको पृष्ठभूमिमा भएको हो । माओवादी क्रान्तिकारी रहिरहेको भए ओलीहरू जन्मन सम्भव थिएन । पहिलो संविधानसभामा ओलीहरू जन्मिएनन्, टाउकै उठाउनै सकेनन् । किनकि क्रान्तिकारी आन्दोलनको राजनीति बलशाली थियो । दोस्रो संविधानसभासम्म पुग्दा माओवादी आन्दोलन विचलित भयो । एकप्रकारको तीव्रतामा पतनको दिशामा गयो । वैचारिक पतन र राजनीतिक पतन सँगसँगै भयो । यसले संगठनात्मक रूपमा पनि टुटफुटको लामो श्रृङ्खला हुर्केर गयो । त्यसको विकल्पमा कोही आउनुपर्‍यो । विकल्पमा आउनका निम्ति पुरानो राजतन्त्र, पञ्च टाइपको आउन त सम्भव थिएन । दक्षिणपन्थ आउनै पर्दथ्यो ।

संयोगले ओली त्यतिबेला आफ्नो पार्टीको अध्यक्ष थिए । त्यसकारण उनी नेता हुने भए । उनी आउँदा उनले दुइटा महत्वपूर्ण ठाउँ पाए । एउटा माओवादीको समग्र राजनीतिको पतनको यात्रा, त्यसबाट मान्छेहरूमा जन्मेको निराशा । अर्को अवसर उनले के पाए भने माओवादी आन्दोलनले उठाएका न्यायपूर्ण मुद्दाहरूबाट झस्किएको मध्यम वर्गको साथ पाउने स्थिति बन्यो ।

धर्मनिरपेक्षताबाट मध्यम वर्गदेखि माथिका मानिस झस्किएका हुन् । जनतामा पनि एकदमै धर्मान्ध र रुढिवादी तप्का झस्किएकै हो । संघीयताको कुरा गर्दा माथि माथि बसेर खाइरहेको वर्गलाई त रीस उठिरहेको पृष्ठभूमि पनि ओलीसँग भयो । दलित, महिला, जनजातिले उठाइरहेको न्यायपूर्ण मुद्दाबाट घाटाको अनुभूति गरिरहेका कथित हिन्दू उच्च जातको शासक वर्ग र समुदाय पनि झस्किइरहेका थिए । यी सबै कुराको सम्बोधन गर्ने पात्र पनि चाहिएको थियो । यो पृष्ठभूमिमा ओली अगाडि आए ।

ओलीसँग एउटा मात्रै आम जनतालाई झुक्याउने समृद्धिको मुद्दा थियो । समृद्धि सबैलाई चाहिएको थियो । यो मुद्दा उठाएर पनि उनी भ्रम दिन सफल भए । तर, उनको जग रुढिवादी नै थियो । प्रगतिशील नाराहरूले हारेको र प्रगतिशील नाराहरूको कारणले झस्किएको मध्यम वर्गदेखि माथिको वर्ग र रुढिवादी वर्गले नेता खोजिरहेको बेला ओलीले त्यसको नेतृत्व गर्ने अवसर पाए ।

यो पृष्ठभूमिमा उनले अनिवार्य रूपमा रुढिवाद र धार्मिक अन्धतालाई प्रश्रय नदिइकन, राजावादीहरूको पनि एउटा हिस्सालाई प्रश्रय नदिइकन उनको अस्तित्वको कल्पनै गर्न सकिंदैनथ्यो । त्यसकारणले उनले त्यो गर्नैपर्दथ्यो । त्यो नगरी उनको धार नै टिक्दैनथ्यो ।

ओलीको अहिलेको राजनीतिक लाइन जसरी हुन्छ शासक बन्ने हो । कसको शासक बन्ने भन्ने छैन । कुन वर्गको शासक बन्ने भन्ने उनको सरोकार होइन । जसरी हुन्छ शासक बन्ने भनेपछि स्वाभाविक रूपमा यहाँको परम्परागत शासक र सबैभन्दा रुढिग्रस्त जनताको मत झुक्याएर लिने हुन्छ । यसको निम्ति उनले धार्मिक अन्धतालाई प्रयोग गर्नु स्वाभाविक थियो र उनले यो प्रयोग गरिराखेका छन् ।

छिमेकको साथ

अहिले यसमा एउटा नयाँ मसला थपिएको छ त्यो हो– छिमेकी भारत । भारतमा हिन्दू अतिवाद दुई दुई काल केन्द्रीय स्तरको सत्ता चलाउने स्थितिमा जसरी आयो, त्यसबाट नेपालका एकथरी हिन्दूवादीहरू, अतिवादीहरु हौसिएका छन् । त्यो चिजलाई अहिले प्रयोग गर्‍यो भने फाइदा हुन्छ भन्ने ओलीहरूलाई लाग्नु स्वाभाविक भइहाल्यो । उनको पृष्ठभूमि नै आधारभूत दक्षिणपन्थको हो ।

त्यसमा पनि भारतमा अपार प्रगति गरेको बेलामा उनले त्यो भावनात्मक चिजलाई नेपालमा प्रयोग गर्न खोज्नु स्वाभाविक भइहाल्यो । सारमा एमाले पार्टीको राजनीतिक कार्यदिशासँग यसको सम्बन्ध छ । जबजको रूपमा जुन राजनीतिक कार्यदिशा छ, एमालेमा ओली प्रवृत्ति जन्माउनका निम्ति त्यसको मुख्य भूमिका छ । मुख्य राजनीतिक लाइन हो, जग त्यही नै हो ।

यस्तो बेला एमालेमा ४० वर्षौं राजनीति गरेका पनि मौन छन् । यसको कारण छ । कम्युनिष्ट पार्टी भनेको धेरै चीज हो । दार्शनिकी, कार्यनीति र रणनीति हो । यसमा एउटा आधारभूत पक्ष अर्थात् मुख्य कुरा फौजीकरण हो । यो नभइकन फौजीकरण भएको सत्तासँग लड्न सकिन्न । त्यसैले फौजीकरण नहुने कार्यदिशा बोकेको कम्युनिष्ट पार्टी बनाउने भनेको अन्ततः पुरानो सत्ताको दासै हुन जाने हो । सीधा कुरा छ । यो पुरानो व्यवस्था केको जगमा छ ? केले चलिरहेको छ ? फौजी सत्ताकै कारणले हो । त्यसको विकल्पमा कम्युनिष्ट व्यवस्था स्थापना गर्ने भनेको हो । त्यसकारण कम्युनिष्ट पार्टीको एउटा मुख्य विशेषता हुनपर्छ– फौजीकरण । फौजीकरण नगरिकन परिवर्तन गर्छु भन्ने कम्युनिष्ट पार्टीका महानतम क्रान्तिकारी र बौद्धिकहरूको पनि हुने हालत त्यही हो, जुन अहिले एमालेको बौद्धिकहरूमा भइरहेको छ ।

नेपाली राजनीतिमा वैज्ञानिक समाजवादी क्रान्तिकारी आन्दोलन र संगठनहरू कुन स्तरमा विकसित हुँदै जान्छन् ? उनीहरुले कसरी विकल्पहरू प्रस्तुत गर्न सक्छन् ? विकल्पहरू प्रस्तुत गर्न सक्षम हुन्छन् कि हुँदैनन् ? एक दुई दिनको कुरा भएन, एउटा निश्चित समयभित्र नेपाली जनता अर्थतन्त्र, संस्कृति र राजनीतिमा वैकल्पिक धार निर्माण गर्न नयाँ पुस्ताले सक्दा मात्र यस्तो दक्षिणपन्थी धार नेपाली राजनीतिको अधीनस्थ हुन्छ । त्यो प्रवृत्ति अगाडि आएन भने अहिलेकै जस्तो यस्तै खालका प्रवृत्तिहरूले रङ देखाइरहन्छन् ।

वैकल्पिक धार विकासका लागि वस्तुगत अवस्था छ । तीन करोड जनता भएको देशमा करीब ८० लाख मानिसहरू बाहिर नगई चुलो नबल्ने अवस्था छ । वस्तुगत आवश्यकता भनेको राजनीतिक र आर्थिक संकट हो । यो छँदैछ । नेपालमा वैज्ञानिक समाजवादी वैकल्पिक राजनीतिलाई अगाडि लैजाने वैचारिक, राजनीतिक र संगठनात्मक पहल कमजोर भएकै हो । अन्यथा राजनीतिक दलका नेताहरू धार्मिक नाराहरू बोकेर आउन सक्दैनथे । यहाँको नागरिक आन्दोलनको रूपमा प्रकट हुने सचेत न्यायप्रेमी मध्यम वर्ग, श्रमिकहरुको हिस्साले लगातार बौद्धिक हस्तक्षेप र संघर्ष गर्न नसके दक्षिणपन्थी प्रवृत्तिका नेताहरु थप मुखर भएर धार्मिक नारा बोकेर आउन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?