+
+
प्रतिस्पर्धाको पक्षमा एमाले प्रतिनिधिहरु :

सहमति कि चुनाव : के भन्छन् एमाले प्रतिनिधिहरु ?

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७८ मंसिर १० गते ६:५१

१० मंसिर, सौराह (चितवन) । प्रमुख प्रतिपक्षी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह शुक्रबार नारायणी नदी किनारमा हुँदैछ । ललितपुरको गोदाबरीमा विधान महाधिवेशन गरिसकेको एमालेले अब चितवन महाधिवेशनबाट आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्ने छ । नेतृत्व चयनका लागि नेकपा एमालेका प्रतिनिधिहरु चितवनमा जम्मा भइसकेका छन् । शुक्रबार नारायणी नदी किनारमा उदघाटन समारोह सकेपछि सौराहमा बन्दसत्र हुने छ ।

महाधिवेशनको अघिल्लो दिनसम्म पनि नेतृत्व चयन सहमतिबाट हुन्छ कि चुनावबाट हुन्छ भन्ने अन्यौल कायमै छ । अध्यक्ष केपी शर्मा ओलीको समूहभित्रै नेतृत्वका आकांक्षीहरुको संख्या धेरै भएपछि सहमतिमा नेतृत्व चयन गर्ने प्रयास संकटमा देखिन्छ । चितवनको सौराहदेखि नारायणघाटसम्म बसेका प्रतिनिधिहरुमा नेतृत्व कसरी आउँछन् भन्ने कौतुहलता छ ।

अध्यक्षको दावेदारमा केपी शर्मा ओली र भीम रावल देखापरेका छन् भने वरिष्ठ अध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङ प्रतिष्पर्धामा छन् । महासचिवमा विष्णु पौडेल, शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङको दाबी छ । नेताहरुले अन्तिम अवस्थासम्म सहमतिको प्रयास हुने बताएका छन् ।

चितवनमा भेला भएका एमालेका महाधिवेशन प्रतिनिधिहरु भने प्रतिस्पर्धाका पक्षमा देखिएका छन् ।

‘म यहाँ (चितवन)मा महाधिवेशन प्रतिनिधिहरु जो भेट्छु, खाली उम्मेदवारी दिने कुरा मात्रै गरिराख्नुभएको छ । त्यसकारण सर्वसम्मतिको प्रयास पनि हुन्छ । र प्रजातान्त्रिक अभ्यास (निर्वाचन) पनि गर्छौं होला । त्यो नराम्रो कुरा होइन, त्यो राम्रो कुरा हो’ काठमाडौं उपत्यका विशेष प्रदेशका महाधिवेशन प्रतिनिधि समिर नेपालले भने । नेपाल आफैँ पनि केन्द्रीय सदस्यका दाबेदार हुन् । ‘मेरो पनि आकांक्षा छ । म पनि केन्द्रीय सदस्यको आकांक्षी छु’ उनले भने ।

नेताहरुको व्यवस्थापनका लागि उपाध्यक्ष, उपमहासचिव र सचिवहरुको पद संख्या थप्ने भनी महाधिवेशन परिसरमा चलिरहेको हल्ला पनि उनलाई मन परेको छैन । ‘विधान अधिवेशनबाट विधान पारित गरिसकेको हुनाले आकांक्षीहरुका लागि संख्या बढाउने कुरा ठीक हुन्छ जस्तो लाग्दैन । जे बनेको छ, त्यसैभित्रबाट जानुपर्छ भन्ने मलाई लाग्छ,’ महाधिवेशन प्रतिनिधि नेपालले भने ।

कालीकोटका प्रतिनिधि मिनबहादुर शाही पनि विचार र नीतिका साथसाथै नेतृत्व पनि प्रतिस्पर्धाका आधारमा निर्माण गर्नुपर्ने बताउँछन् । ‘खासगरी प्रतिस्पर्धामा आधारित नेतृत्व निर्माण गर्ने, लोकतान्त्रिक विधि र प्रक्रिया अवलम्बन गरेर नीतिहरु निर्माण गर्नेगरी पार्टीका विधानहरु, पार्टीका महाधिवेशनहरुलाई लैजानुपर्छ भन्ने लाग्छ’ शाहीले अनलाइनखबरसँग भने । तथापि सहमतिका लागि जारी प्रयासमा आफ्नो पनि सहमति रहेको उनले बताए । ‘सहमति पनि लोकतान्त्रिक विधि र प्रक्रिया नै हो । तर, त्योभन्दा उत्तम विकल्प भनेको प्रतिस्पर्धा हो’ उनले थपे, ‘प्रतिस्पर्धाले श्रेष्ठता कायम गर्छ र प्रतिस्पर्धामार्फत् नेतृत्वले नेता हुने कुरामा आफूलाई योग्य सावित गर्छ ।’

पार्टी नेतृत्वको सबै तहमा सहमति हुन नसक्ने र चुनाव हुन्छ भन्नेमा ढुक्क छिन् मोरङकी महाधिवेशन प्रतिनिधि लत्ता प्याकुरेल । भन्छिन्, ‘केही पोष्टका लागि सहमति भए पनि केही पोष्टका लागि त अवश्य नै मतदानमा गइन्छ जस्तो लाग्छ । त्यो हिसाबले अगाडि बढ्छ ।’

नेतृत्व चयन गर्ने विधि सर्वसहमति वा निर्वाचन जुन अपनाए पनि निरन्तर पार्टीमा रहेर योगदान गर्दै आएकाहरुको सही मूल्याङ्कन हुन्छ कि हुँदैन ? भन्ने प्रश्न अझ महत्वपूर्ण रहेको प्याकुरेलको भनाइ छ । ‘भोलि हेर्नु छ को–को साथी अगाडि जानुहुन्छ । को–को साथी पछाडि जानुहुन्छ । नेताहरुको कसरी मूल्याङ्कन हुन्छ भन्ने कुरा महत्वपूर्ण छ । निरन्तर यो पार्टीमा लागेर योगदान दिनेहरुको कत्तिको कदर हुन्छ भन्ने कुरामा अलिकति ध्यान दिनुपर्ने छ’ उनले भनिन् ।

प्रतिस्पर्धाले नै योग्य नेतृत्व चयन गर्ने बताउँछन् प्रध्यापक डा.बद्रीप्रसाद पोखरेल । एमालेको बुद्धीजिवी परिषदका सदस्य समेत रहेका पोखरेल भन्छन्, ‘प्रमुख पदाधिकारी १५ जनामा स्वस्थ प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धामार्फत योग्यमध्ये योग्यतम नेताहरु अगाडि बढ्न सक्छन् ।’ निर्वाचन नै हुने कसरी ठोकुवा गर्न सक्नुहुन्छ ? भन्ने प्रश्नमा उनको जवाफ छ, ‘निर्वाचन नै गर्नुपर्छ भन्ने छैन, सर्वसम्मत भए राम्रो हो । तर, जो पनि सचिव हुन्छु भन्छ, अरु पदमा दाबी छ भन्छन् नि त ।’

तर, नेतृत्व चयनमा अधिकत्तम सहमतिको प्रयास हुनुपर्ने र सहमति नै हुन नसके मात्रै चुनावमा जानुपर्ने मत राख्नेहरु पनि प्रशस्तै छन् । सहमतिमा नेतृत्व चयन गर्दा त्यसले पार्टीलाई एक ढिक्का राख्ने र आगामी स्थानीय, प्रदेश र संघको निर्वाचनमा जीत हासिल गर्न पनि सहज हुने बताउँछिन् हुम्लाकी महाधिवेशन प्रतिनिधि विष्णुदेवी रावल । ‘घरझगडा त हुन सक्छ । तर, यही कारण आगामी चुनावमा असर पर्न हुन्न,’ उनी थप्छिन्, ‘त्यसकारण एमालेलाई अहिले पनि एकदम असल नेतृत्व चाहिएको छ ।’ एमालेबाट गएर माधव नेपालले नयाँ पार्टी गठन गरेको भएपनि त्यसले सिंगो एमालेलाई असर नगरेको उनको जिकीर छ । र तत्कालका लागि एमाले अध्यक्षमा केपी ओलीको विकल्प नरहेको उनको भनाइ छ ।

ओलीले समृद्ध नेपालको सपना देखेको र राष्ट्रियतामा एउटा स्पष्ट मार्ग देखाएकाले त्यसलाई अगाडि बढाउन पनि महाधिवेशनले ओलीलाई नै अध्यक्ष चयन गर्ने उनको विश्वास छ । ‘उहाँ (केपी ओली)को नेतृत्व एमालेलाई अझै आवश्यक छ । उहाँलाई एक कार्यकाल नेतृत्व दिनुपर्छ । किनभने नाकाबन्दीमा मुलुकलाई झुक्न दिनुभएन । सीमासम्बन्धी विषयमा उहाँको अडान छ । विकास र समृद्धिको सपना देखाउनुभएको छ ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?