+
+

एमाले महाधिवेशनस्थलमा १५ सयभन्दा बढी सुरक्षाकर्मी, यसरी मिलाइएको छ ट्राफिक व्यवस्थापन

पश्चिम नेपालबाट आउने गाडीले १० बजेपछि नारायणी पुल तर्न नपाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १० गते ८:२६

१० मंसिर, चितवन । नेकपा एमालेको शुक्रबारबाट सुरु हुने १० औं राष्ट्रिय महाविधेशनमा १५ सयभन्दा बढी सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । चितवनको सुरक्षा जनशक्तिले नपुग्ने भएपछि विभिन्न जिल्ला तथा निकायबाट सुरक्षाकर्मीहरुलाई चितवन झिकाइएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले महाधिवेशनको उद्घाटन सत्र हुने स्थान नारायणी नदी किनार र बन्दसत्र हुने स्थान सौराह क्षेत्रको एकीकृत सुरक्षा योजना बनाएर सुरक्षाकर्मीहरु परिचालन गरिएको बताए ।

प्रशासनले महाविधेशनस्थलको सुरक्षा र ट्राफिक व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेको छ । ट्राफिक प्रदेश कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा गरेर करीब एक सयको हाराहारीमा रहेको जनशक्तिमा ९० जना अन्यत्रबाट थप गरिएको छ । जनपथ प्रहरी जिल्ला प्रहरी कार्यालय मातहत ८ सय जना रहेकोमा थप तीन सय थप गरिएको चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।

यस्तै, सशस्त्र प्रहरीको जिल्लाको भरतपुर क्षेत्रमा दुई सय जना मौजुदा रहेकामा थप २५० जना थप गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए । राष्ट्रिय अनुसन्धान विभागका जनशक्तिलाई पनि बढाइएको छ ।

पश्चिम नेपालबाट आउने गाडीले १० बजेपछि नारायणी पुल तर्न नपाउने

जिल्ला प्रशासन कार्यालय चितवनले एमाले महाधिवेशनको उद्घाटन सत्रका दिनमा विहान १० बजेदेखि साँझ ५ बजेसम्म अत्यावश्यक बाहेकका अन्य सवारीलाई भरतपुर केन्द्रीय बसपार्क, आँपटारी, त्रिचोक, गैंडाकोट लगायतका क्षेत्रबाट नारायणगढमा पहुँच नदिइने बताए ।

मालवाहक सवारी साधान र ठूला यात्रुबाहक सवारीलाई विहान १० बजेदेखि ५ बजेसम्म विभिन्न जिल्ला प्रशासन कार्यालयमार्फत सो समयमा चितवन प्रवेश नगरिदिन अनुरोध गरिएको प्रजिअ तामाङले बताए । ‘पूर्वी नेपालबाट काठमाडौं जाने यात्रुबाहक सवारीलाई खासै समस्या छैन, तर पश्चिम नेपालबाट आउनेलाई नारायणीको पुल मात्रै भएकाले समस्या भएको हो, तैपनि हामीले समयमा नै खबर गर्दा सहज होस् भनेर सूचना गरिदिन अनुरोध गरेका छौं’ प्रजिअ तामाङले भने, ‘अत्यावश्यक सवारी साधनले मात्रै सो समयमा नारायणगढमा प्रवेश पाउँछन् ।’

पश्चिम नेपालबाट आउने सवारी साधनलाई गैंडाकोटको भृकृटी कागज कारखाना अगाडि नै रोकिने र त्यहीँ नै पार्किङ गरिनेछ । यस्तै पूर्वी नेपालका विभिन्न जिल्लाबाट महाधिवेशनका लागि सहभागी लिएर आउने गाडीहरुलाई केन्द्रीय बस टर्मिनल भरतपुरमा झारेर बसहरु सबैलाई टिकौली जंगलको पूर्व रहेको चौरमा पार्किङमा राखिनेछ ।

माडी ठोरी तथा पश्चिम चितवनबाट आउने सवारीलाई केन्द्रीय बसपार्कमा नै सहभागीहरुलाई छाडेर बसपार्क वा अन्य पश्चिम चितवनका विभिन्न ठाउँमा पार्किङ गर्न लगाइने चितवनका प्रहरी प्रमुख एसपी अधिकारीले बताए ।

राजधानी काठमाडौं, पोखरा लगायतका ठाउँ र जिल्लाबाट आउने बस तथा अन्य सवारी साधनलाई आँपटारी, रामनगर, देवघाट जाने सडक लगायतका क्षेत्रमा रोकिनेछन् । त्यहीँ नै कार्यक्रममा आउने सहभागीहरुलाई झारेर नेपाल ट्रष्टको खुल्ला चौरमा पार्किङ गरिने छ । १३ स्थानमा पार्किङको व्यवस्था गरिएको छ ।

पार्टीको कार्यक्रममा सहभागी हुन आउने र झण्डा भएका सवारी साधनलाई आउनका लागि सहज सुविधा दिने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ । बाटो यदि अवरोध भए हटाउनका लागि भन्दै सडकका विभिन्न ठाउँहरुमा ठूला क्रेनहरुसमेत राखिएका छन् ।

प्रशासनले भीआईपी र भीभीआईपीका लागि महाधिवेशनको उद्घाटन सत्रसम्म पुग्न अलग्गै पहुँच मार्ग दिएको छ । विदेशी पाहुनाहरुलाई पनि सोही अनुसारको सुरक्षा र अलग्गै पहुँच मार्ग दिइएको प्रजिअ तामाङले जानकारी दिए ।

महाधिवेशन उद्घाटन सत्रमा सहजरुपमा जान नसकिने हुँदा पोखरा बसपार्कलाई पनि खाली गराइनेछ । त्यहाँ पनि सहभागीहरुले उपस्थित भएर कार्यक्रम डिस्प्लेमा नै हेर्नेछन् । विभिन्न ठाउँमा डिजिटल डिस्प्लेहरु राखिएका छन् । उदघाटन समारोहस्थलसम्म पुग्न नसक्नेले डिजिटल डिस्प्ले बोर्डमा प्रत्यक्ष प्रसारण हेर्न पाउनेछन् ।

महाविधेशनको उद्घाटन सत्र नारायणी नदी किनारमा विभिन्न ६ वटा ब्लक बनाइएको छ । ती ब्लकमा एमालेका स्वंयसेवकसँगसँगै सुरक्षाकर्मीहरु पनि परिचालन गरिने चितवनका प्रहरी प्रमुख एसपी अधिकारीले बताए । उद्घाटन सत्र सकिएपछि बन्दसत्र हुने सौराहमा भने जिल्लाकै मौजुदा जनशक्तिले पुग्ने उनको भनाइ छ ।

७ ठाउँबाट जुलुस निकाल्ने तयारी

एमालेले महाधिवेशनको उद्घाटनसत्र अघि सात ठाँउबाट जुलुस निकाल्ने तयारी छ ।

आँपटारी, हाकिमचोक, वीरेन्द्र क्याम्पस गेट, शहीदचोक, गैंडाकोट, केन्द्रीय बसपार्क, विशालचोकबाट जुलुस निकालिने एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जानकारी दिइन् ।

उनले मूल रुपमा केन्द्रीय बसपार्क, आँपटारी र गैंडाकोटबाट विशाल जुलुस निस्कने बताइन् । झण्डा, पार्टीको ब्यानरसहित नेता कार्यकर्ताहरु नारायणी नदी किनार पुग्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?