+
+

एमालेको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका चार दर्जन बढी आकांक्षी

जनक विष्ट जनक विष्ट
२०७८ मंसिर १० गते १०:२७

१० मंसिर, चितवन । मुलुकको सबैभन्दा ठूलो दल नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि शुक्रबार चितवनमा दशौं राष्ट्रिय महाधिवेशन शुरु हुँदैछ । नारायणी नदी छेउमा आयोजना हुने उद्घाटन सत्रमा सहभागी हुन एमालेका नेता तथा कार्यकर्ता चितवन पुगिसकेका छन् ।

महाधिवेशनको सरगर्मी बढेसँगै पदाधिकारी तथा केन्द्रीय सदस्यमा आकांक्षी नेताहरुले महाधिवेशन प्रतिनिधिसँग भेटघाट र छलफललाई तीव्र बनाएका छन् । खासगरी पदाधिकारीमा सर्वसम्मतको प्रयास भए पनि केन्द्रीय सदस्य भने मतदान प्रक्रियाबाट चयन हुने सम्भावनालाई ध्यानमा राखेर आकांक्षीहरु आफ्नो पक्षमा माहोल बनाउन चितवनमा सक्रिय छन् ।

सुदूरपश्चिम प्रदेशबाट पनि एमालेको महाधिवेशनमा प्रतिस्पर्धा गर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यहरु यतिबेला प्रतिनिधिहरुलाई भेटेर आफ्ना लागि मत माग्न थालेका छन् । नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित र नेकपा माओवादी केन्द्रबाट समाहित भएर आएका समेत गरेर १७ जना केन्द्रीय सदस्य छन् ।

तर दशौं राष्ट्रिय महाधिवेशनमा भने सुदूरपश्चिम प्रदेशले खुल्लातर्फ चार जना, महिलातर्फ दुई जना र पिछडिएको क्षेत्र (अछाम, बझाङ र बाजुरा) बाट एक जना केन्द्रीय सदस्य पाउनेछ ।

केन्द्रीय सदस्यमा आकांक्षा राखेका युवा नेताहरुले समेत अहिलेको मुख्य कुरा पार्टी एकता नै भएकाले त्यसैका लागि आफ्नो उम्मेदवारी भएको प्रतिक्रिया दिएका छन् ।

जसका लागि हालका केन्द्रीय सदस्य समेत गरेर चार दर्जन बढी नेताहरु केन्द्रीय सदस्यमा आकांक्षी देखिएका छन् । प्रदेशकै राजधानी समेत रहेको कैलालीबाट पूर्वमन्त्री नारदमुनी राना, झपटबहादुर रावल, कमला ओली, दीपकप्रसाद देवकोटा, धर्मराज पाठक, समबहादुर थापा लगायतका नेताहरु केन्द्रीय सदस्यमा आकांक्षी छन् ।

कञ्चनपुरबाट निरुदेवी पाल, बचनबहादुर सिंह, राजेन्द्र रावल, कमला बोहरा, जीवन्ती पौडेल लगायत पनि केन्द्रीय सदस्यमा आकांक्षी छन् । एमाले उपाध्यक्ष भीम रावलको गृह जिल्ला अछामबाट झपट बोहरा, कृष्णप्रसाद जैशी, कमल तिमिल्सिना लगायतका छन् भने बाजुराबाट प्रकाशबहादुर शाह, लालबहादुर थापा, सहदेव बोगटी, दयालबहादुर शाही, पेम्बा गुरुङ, बसुन्धरा रोकाया लगायत आकांक्षी छन् ।

डोटीबाट जिल्ला अध्यक्ष चक्र मल्ल, गौरी ओली, बझाङबाट भैरवबहादुर सिंह, ऐन हर, डडेल्धुराबाट पुरन दयाल लगायतका नेताहरु केन्द्रीय सदस्यमा उम्मेदवारी दिने पक्षमा छन् ।

बैतडीबाट दामोदर भण्डारी, लिलाधर भट्ट तथा दार्चुलाबाट गणेश ठगुन्ना, हरदेव जोशी लगायतले आकांक्षा राखेका छन् ।

के भन्छन् केन्द्रीय सदस्यका आकांक्षीहरु ?

नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका पूर्वमन्त्री तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाश शाहले पुनः उम्मेदवारी दिने बताएका छन् । बाजुराबाट एमालेको राजनीति गर्दै आएका शाहले पार्टी एकताको रक्षा गर्न र कम्युनिष्ट आन्दोलनलाई एक ठाउँमा ल्याउनका लागि केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी भएको बताएका छन् । पार्टी विभाजन भएका बेला आफू सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीका रुपमा काम गरिरहेकोमा एकताकै निम्ति भनेर पदबाट राजीनामा गरेको उनी बताउँछन् ।

‘नेकपा एमालेको पार्टी एकतालाई कायम गर्न, पार्टीभित्रको अन्तरविरोध समाधान गरेर कम्युनिष्ट आन्दोलन एक ठाउँमा ल्याउनुुपर्नेछ,’ शाहले भने, ‘मैले पार्टी एकताका निम्ति मन्त्री पदबाट राजीनामा दिएको कुरा सबैलाई थाहै छ । पार्टी बलियो बनाउन मैले गरेका त्यागलाई ध्यानमा राखेर सबैले मत दिनुहुनेछ भन्ने विश्वास गरेको छु ।’

सुदूरपश्चिम सरकारमा आफू रहँदा समेत पार्टी र जनताको हितमा कटिबद्ध भएर काम गरेको कुरालाई समेत मूल्यांकन गरिनुपर्ने उनी बताउँछन् । केन्द्रीय सदस्यका अर्का आकांक्षी तथा सुदूरपश्चिम पूर्वआर्थिक मामिला मन्त्री झपटबहादुर पनि पार्टीलाई एकताबद्ध बनाउनकै लागि केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी रहने बताउँछन् । ‘मैले पार्टी अध्यक्ष केपी ओलीको सुखी नेपाली, समृद्ध नेपालको आकांक्षा पूरा गर्न र एकतालाई कायम राख्न उम्मेदवारी दिने हो तर अन्तिम निर्णय भइसकेको छैन । सल्लाहमै छु,’ बोहराले भने ।

‘सुदूरपश्चिमबाट पुरानो र नयाँ मिलाएर भूगोल, समावेशी लगायतका आधारमा केन्द्रीय कमिटीमा जानुपर्छ भन्ने हाम्रो धारणा छ,’ केन्द्रीय सदस्यका आकांक्षी लिलाधर भट्टले भने, ‘त्यही मान्यताका आधारमा सहभागि हुुन्छौं । अहिले सोही विषयमा छलफल भइरहेको छ । पार्टी एकता नै अहिलेको मुख्य कुरा हो ।’

पूर्व राष्ट्रिय सभा सदस्य कमला ओली पनि पार्टीलाई एकताबद्ध बनाउन केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताउँछिन् । भन्छिन्, ‘समृद्ध नेपाल बनाउन पार्टीलाई एकताबद्ध गरेर लैजानुपर्छ भन्ने प्रयत्न विगतदेखि गर्दै आएकी छु, त्यसैका लागि मेरो उम्मेदवारी हो ।’

केन्द्रीय सदस्यमा आकांक्षा राखेका युवा नेताहरुले समेत अहिलेको मुख्य कुरा पार्टी एकता नै भएकाले त्यसैका लागि आफ्नो उम्मेदवारी भएको प्रतिक्रिया दिएका छन् । प्रेस चौतारी नेपालका सल्लाहकार समेत रहेका नेता समबहादुर थापाले ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारालाई साकार पार्न, पार्टीलाई व्यवस्थित बनाउन केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताए । ‘गणतन्त्र आइसकेपछि राष्ट्रका लागि धेरै कुरा गर्न बाँकी छ । ती कार्य पूरा गर्न नेकपा एमाले नै चाहिन्छ,’ थापाले भने, ‘विगतमा पार्टीमा देखिएका संकटहरु अगामी दिनमा देखिनु हुँदैन । त्यसका लागि म जतिका युवा नेताको आवश्यकता छ भनेर मैले उम्मेदवारी दिंदैछु ।’

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?