
१० मंसिर, विराटनगर । समकक्षी नेताहरु केन्द्रीय पदाधिकारीका लागि लबिइङ गरिरहँदा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरे भने प्रदेश झरेका छन् ।
मुलुक संघीयतामा गएको ६ वर्षपछि कांग्रेसले पहिलो पटक प्रदेश संरचना बनाउँदैछ । १४औं महाधिवेशनको कार्यतालिका अनुसार सातवटै प्रदेशमा मंसिर १६ र १७ गते अधिवेशन हुँदैछ । विधानले प्रदेश कमिटीलाई शक्तिशाली बनाएको भए पनि धेरै जसो नेताहरुको रोजाई प्रदेशभन्दा केन्द्रमा देखिएको छ । गुरुराज घिमिरे भने केन्द्र छोडेर प्रदेशतिर झरेका छन् र, संस्थापन इतर समूहबाट प्रदेश १ को अध्यक्षका उम्मेदवारी दिने तयारीमा छन् ।
‘केन्द्रमा सभापति बन्न पाउँदिन, महामन्त्रीमा मेरो चाहना हो तर अरु साथीहरुको पनि दावी छ । केन्द्रीय सदस्य भएर पार्टीमा मेरो कार्यजना लागू गराउन सक्दिन,’ घिमिरेले प्रदेश झर्नुको कारण खुलाए, ‘बरु प्रदेश सभापति भएर आफ्नो कार्ययोजना अघि बढाउन सक्छु भनेर प्रदेशमा आएको हुँ ।’
उनले आफ्नो योजना आफ्नो समूहका केन्द्रीय नेताहरुलाई सुनाइसकेका छन् । नेताहरुकै सहमतिमा उनी प्रदेश कमिटीको नेतृत्वका लागि अगाडि बढेका हुन् । प्रदेश सभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको परिणामबाट उत्साहित देखिएका घिमिरेको योजना छ, प्रदेश कमिटीमार्फत् व्यवस्थित र बलियो पार्टी बनाएर अर्काे सभापति (१५ औं महाधिवेशनबाट आउने) लाई हस्तान्तरण गर्ने ।
‘प्रदेशको संरचना सैद्धान्तिक रुपबाट पार्टीको विधानमा छ, तर यसले मूर्त रुप लिन पाएको छैन,’ उनी भन्छन्, ‘हामीले जस्तो सुरु गर्छाैं, त्यही परम्परा बन्छ । नेपाली कांग्रेस कसरी चल्नुपर्छ ? अरु राजनीतिक पार्टी, केन्द्र र मुलुकभरका कमिटीहरुलाई पार्टी चलाउने नमुना प्रस्तुत गर्न चाहान्छौं ।’
राजीवलाई मुख्यमन्त्रीको आश्वासन
प्रदेश १ को अध्यक्षमा संस्थापन इतर समूहबाट राजीव कोइराला पनि प्रदेश सभापतिका आकांक्षी हुन् । प्रदेश १ संसदीय दलका नेता समेत रहेका उनी पार्टी सभापतिका दावेदार केन्द्रीय सदस्य डा. शेखर कोइराला निकट मानिन्छन् ।
विद्यार्थी राजनीतिबाट कांग्रेसको केन्द्रीय राजनीतिमा आएका घिमिरेले, कोइरालालाई मुख्यमन्त्री बनाउने आश्वासन दिएका छन् । ‘मेरो चाहाना उहाँ(राजीव कोइराला)लाई प्रदेश १ को मुख्यमन्त्री बनाउनुपर्छ भन्ने हो । उहाँ यही कार्यकालको मुख्यमन्त्री बन्नुहुन्छ,’ घिमिरेले अनलाइनखबरसँग भने, ‘यो कार्यकाल कम भयो भन्नुभयो भने अर्काे कार्यकालमा पनि मुख्यमन्त्री भएर नेतृत्व गर्न पाउनुहुन्छ । मलाई सभापति बाहेक अर्काे पदको लोभ छैन ।’
संस्थापन इतर समूहका नेताहरु पनि गुरुलाई प्रदेश अध्यक्षको उम्मेदवार बनाउन सहमत छन् । कोइरालालाई पार्टीको केन्द्रीय सदस्यमा पनि लैजान सकिने नेता घिमिरे बताउँछन् ।
को हुन् प्रतिस्पर्धी ?
प्रदेश १ को सभापतिमा पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूहको उम्मेदवार टुंगो लागेको छैन । समूहका एक नेताका अनुसार भीष्मराज आङ्दाम्बेलाई प्रदेश अध्यक्षको उम्मेदवार बन्न आग्रह गरिएको थियो । तर उनले केन्द्रीय सहमहामन्त्रीमा उम्मेदवारी दिन चाहेका छन् ।
अब केन्द्रीय सदस्यद्वय अमृत अर्याल र नेता रामहरि खतिवडामध्ये एक प्रदेश अध्यक्षको उम्मेदवार बन्ने सम्भावना रहेको संस्थापन समूहका एक नेता बताउँछन् ।
प्रतिक्रिया 4