+
+

ललितपुर कांग्रेस अधिवेशनमा नाराबाजी, उदय शम्शेरमाथि अभद्र व्यवहार

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते ९:४५

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशनमा नाराबाजी भएको छ ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि आइतबार दोस्रो चरणको मतदान हुने क्रममा नाराबाजी भएको हो । आज सभापतिका उम्मेदवार रामकृष्ण चित्रकार र जितेन्द्र कुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ ।

कांग्रेस नेता एवं पूर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणामाथि जिल्ला सभापति मदन अमात्य समूहले अभद्र व्यवहार गर्दै हातपातको प्रयास गरेपछि नाराबाजी भएको हो । मतदानका क्रममा प्रचारसामग्रीसहित हलभित्र नजान आग्रह गर्दा अमात्य पक्षका कार्यकर्ताले अभद्र व्यवहार गरेको राणा पक्षको भनाइ छ ।

तर अमात्यले भने आफूहरुले कसैमाथि दुर्व्यवहार नगरेको भन्दै आरोपको खण्डन गरेका छन् ।

राणापक्षका कार्यकर्ताहरुले ‘गुण्डागर्दी बन्द गर’ भन्दै नाराबाजी गरेका थिए । जावालाखेलको स्टाफ कलेजमा अहिले मतदान जारी छ ।

केन्द्रमा सभापति शेरबहादुर देउवा समूहमै रहेका राणा र अमात्यले जिल्ला अधिवेशनमा भने छुट्टाछुट्टै प्यानल बनाएका छन् । राणाको समर्थन श्रेष्ठलाई छ भने अमात्यले चित्रकारलाई सभापतिमा अगाडि सारेका छन् ।

पहिलो चरणमा सभापति पदका उम्मेदवार चित्रकारले ५०४, जितेन्द्र कुमार श्रेष्ठले ४७१ र मीनकृष्ण महर्जनले ३३६ मत पाएका थिए । निर्वाचनमा १३ सय २२ मत खसेको थियो । कांग्रेस विधानमा सभापतिका उम्मेदवारले विजयी हुन खसेको मतको पचास प्रतिशत बढी मत ल्याउनुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?