+
+

मधेशवादीको आरोप खेपिरहेको मान्छेको स्पष्टीकरण

विष्णुहरि शर्मा विष्णुहरि शर्मा
२०७८ मंसिर १३ गते १४:३७

जनयुद्धकालमा पाल्पाको पूर्वी क्षेत्रमा जिम्मेवारी बहन गरिरहेको थिएँ । रामपुर जाने बाटोमा पर्ने बेलडाँडाको पल्तिर खोलापारि एउटा माध्यमिक विद्यालय छ । त्यहाँका तत्कालीन माविका प्रधानाध्यापकले प्रचण्ड भनेको ज्ञानेन्द्र शाह नै हुन् भनेर ठोकुवा गरेका रहेछन् । यो कुराको जानकारीपछि म त्यहाँ पुगें ।

विद्यालयको कार्यालयमा सबै गुरुहरूको बीचमा मैले हेडसरसँग छलफल गरें । छलफलको क्रममा मैले भनें– प्रचण्ड अर्थात् पुष्पकमल दाहाल, पिताको नाम गङ्गाराम दाहाल, जन्म कास्की ढिकुरपोखरी, बसाइँसराइ चितवन, माथिल्लो अध्ययन रामपुर कृषि क्याम्पस चितवन । ज्ञानेन्द्र शाह जन्म काठमाडौं दरबारभित्र, पिताको नाम महेन्द्र शाह । लौ ! सरहरूले फरक छुट्याउनुहोस् । एउटै हो कि फरक देखिन्छ !

केही छिनको अन्तरक्रिया पछि हेडसर धेरै शर्मिन्दा हुँदै माफी माग्नुभयो । माओवादीका अन्य कडा स्वभावका नेतासँग उहाँको बहस भएको भए शायद उहाँलाई श्रम शिविरमा पठाइन्थ्यो होला । तर मैले उहाँको कुर्सीको सम्मान गरें र उहाँको भ्रम निवारण गर्न सघाएँ ।

०००

२०५१ मा पहाडमा ऋणले च्याप्यो । त्यसैले म सम्पत्ति बेचेर मधेश झरें । हामी मधेश झर्ने समयमा कतिपयले नकारात्मक टिप्पणी गरिरहेका थिए । यस्तो टिप्पणी गर्नेहरू ती थिए जसलाई मधेशको बारेमा कुनै जानकारी नै थिएन, जो मानिस पत्थरकोटबाट तल झरेकै थिएनन् । उनीहरूले मधेशको बारेमा नानाथरी नकारात्मक टिप्पणी गरेर हाम्रो परिवारलाई विचलित बनाउने प्रयास गरेका थिए ।

०००

यी एक-दुई घटनाको मात्र कुरा होइन कि समाजमा यस्ता अल्पज्ञानी मानिसहरू प्रशस्त मात्रामा रहेका छन् । जुन कुराको आफूलाई पूर्ण जानकारी नै छैन, त्यसैको बारेमा विद्वत्ता प्रदर्शन गर्ने, आफूलाई पूर्ण ज्ञानी ठान्ने मानिस हाम्रो समाजमा प्रशस्तै छन् । धर्म, स्वास्थ्य, देश-विदेश, दर्शन, राजनीतिको बारेमा नकारात्मक कुराहरूको विष प्रवाह गर्ने अल्पज्ञानीहरू समाजमा यत्रतत्र रहेका छन् ।

पूर्ण ज्ञान नभएको बारेमा नबोलौं । अरुका विचारहरू सुनौं । धैर्य गरौं भन्ने चेतना अत्यन्तै न्यून रहेको छ । यही अज्ञानता र अल्पज्ञानका कारणले गर्दा देश आज निरन्तर ओरालो लाग्दै असफलताको दिशामा अगाडि बढिरहेको छ ।

कुन पार्टीको नीति, विचार सिद्धान्त, राजनीतिक कार्यक्रमबारे थाहा छैन । त्यस पार्टीको मूल नेतृत्व आफ्ना नीति कार्यक्रमप्रति इमानदार छ कि छैन ? सम्बन्धित पार्टीमा जनवादी केन्द्रीयताको अभ्यास भइरहेको छ कि छैन ? यी सबै कुराको समीक्षा नै नगरी अन्ध विरोध र अन्ध समर्थन नै आज विनाश, विखण्डन र विभाजनको कारण बन्न गएको छ । यतिबेला चिन्तन प्रणालीकै कारण नेताहरू बदनाम भएका छन् । पार्टीहरूले विश्वास गुमाउँदै गएका छन् र राष्ट्र असफल, नेता र नेतृत्व धनाढ्य बन्दै जाने क्रम अगाडि बढेको छ ।

पूर्ण ज्ञान नभएको बारेमा नबोलौं । अरुका विचारहरू सुनौं । धैर्य गरौं भन्ने चेतना अत्यन्तै न्यून रहेको छ । यही अज्ञानता र अल्पज्ञानका कारणले गर्दा देश आज निरन्तर ओरालो लाग्दै असफलताको दिशामा अगाडि बढिरहेको छ ।

सत्य के हो ? यथार्थ के हो ? कुन पार्टीले लिएको विचार आजको सन्दर्भमा ठीक छ कि छैन ? भनेर समीक्षा हामीले गर्दै गर्दैनौं । कसैले भनेको कुरा ठीक हो वा होइन भनेर स्वविवेक प्रयोग गर्दैनौं । अर्काले भनिदिएको कुरामा दौडने गर्दछौं । जस्तो कि जसपाको सङ्घीय परिषद अध्यक्ष गोरखाका डा. बाबुराम भट्टराई हुन् भने कार्यकारिणी मधेशका अध्यक्ष उपेन्द्र यादव छन् । वरिष्ठ नेता पूर्वका अशोक राई हुन् भने केन्द्रीय सल्लाहकार परिषदको अध्यक्ष म आफैं छु ।

यो पार्टीको सन्दर्भमा कतिपय व्यक्तिहरू जान वा अन्जानमा सोचविचारै नगरी टिप्पणी गरिरहेको सुन्छु । त्यसको विचार र राजनैतिक कार्यदिशाको बारेमा अध्ययन नै नगरी फ्याट्ट बडो जान्ने भएर ‘ए तपाईं त मधेशवादी पार्टीमा पो हुनुहुँदोरहेछ !’ भन्ने गर्दछन् ।

कतिपय मित्रहरू भन्छन्- बाबुराम, विष्णुहरि इमानदार नेता त हुन् तर मधेशवादी पार्टीमा लागे । यस्तै यस्तै तर्क र लाञ्छनाहरू लगाउने गरिन्छ । उनीहरू कुन आधारमा यी र यस्ता टिप्पणी गरिरहेका छन् ? मधेशी जनताप्रतिको पूर्वाग्रह वा अज्ञानता !

कुनै राष्ट्रिय पार्टीमा मधेशको नेता हुनुहुँदैन भन्ने चिन्तन हो भने नेपाली काङ्ग्रेसको कोइराला परिवार मधेशमै जन्मेका हुन् । माधव नेपाल मधेशमै जन्मिएका हुन् । झापा पनि कुनै पहाडमा पर्दैन । समथर भूभागमै छ । मधेशी नेताको कुरा हो भने विजय गच्छदार, रामचन्द्र झा, मातृका यादव, प्रभु साह आदि नेतृत्वहरू सबै पार्टीमा त छन् । अनि अरु पार्टीहरू मधेशवादी नहुने जसपा मात्र मधेशवादी ठहरिने ! यो कस्तो मूल्याङ्कन हो ?

हिजो मधेश आन्दोलनको कारणले यस्तो संकीर्ण धारणा बनाइएको हो भने पनि हिजो मधेश आन्दोलनमा सबै नेता सहभागी थिए । रामचन्द्र झा पनि सहभागी थिए । महन्थहरू पनि सहभागी थिए । अर्थात् मधेशका अधिकांश नेतृत्वहरू सहभागी थिए । मधेशी भूमि मनपर्ने, मधेशी मत काम लाग्ने, पहाडबाट तीव्र रफ्तारमा मधेशको बसाइँसराइ पनि गर्ने अनि मधेशी जनता मन नपर्ने !

अहिले कसले मधेश, पहाड र हिमाललाई समान दृष्टिकोणबाट हेर्दछ ? कसले इन्द्रेणी राष्ट्रवादको नीति लिएको छ ? कसले हिजो संविधान मास्न खोज्नेहरूका विरुद्ध जीवनमरणको सङ्घर्ष गर्‍यो ? कसले लैङ्गिक समानता, दलित, अल्पसंख्यक, राई, गुरुङ, लिम्बू, मगर, थारु, मुस्लिम, मधेशी, विपन्न र उत्पीडित भूगोलको लागि सङ्घर्ष गरेको छ ? कसले वर्तमान शासकीय प्रणालीबाट राष्ट्रलाई समुन्नत बनाउन सकिंदैन भनेको छ ?

कसले कार्यकारी राष्ट्रपतिको एजेन्डा अगाडि राखेको छ ? कसको समुन्नत समाजवादको कार्यक्रम सबैको भन्दा उत्तम रहेको छ ? को सबै राष्ट्रियता, सबै भाषा, सबै धर्म, सबै लिपि, सबै भेषभुषा, सबै समुदायको समानताको कार्यक्रम लिएर निरन्तर अगाडि बढेको छ ? को हिजो संसद विघटन मार्फत संविधान नै समाप्त पार्ने षड्यन्त्र भइरहँदा त्यसको विरुद्ध जबर्जस्त संघर्षको मोर्चामा अग्रपङ्तिमा रह्यो ?

हामी यी प्रश्नहरुको जवाफ खोजिरहेका छैनौं । तर हामी केवल मधेशको मात्र पार्टी भनेर लाञ्छना लगाउनु भनेको पक्कै वस्तुसंगत कुरा होइन । यस्तो निम्न चेतना, अल्पज्ञान र अज्ञानता वा पूर्वाग्रह बोकेका साथीहरू र ती पाल्पाली माविका प्रधानाध्यापकको बीचमा चेतनामा कुनै फरक देखिन्छ र ?

अतः विषयलाई राम्रोसँग साङ्गोपाङ्गो अध्ययन नै नगरी बोल्ने काम नगरौं । अरु व्यक्ति, अरु पार्टी र त्यसका नेता कार्यकर्ताबारे बोल्दा गम्भीर भएर विचार गरौं । सतही रुपले बोल्ने र लेख्ने अभ्यासले हाम्रो स्तर गिराउँछ । होइन र ?

(लेखक जसपाको सल्लाहकार परिषदको अध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment