+
+
विन्दा पाण्डेसँगको अन्तर्वार्ता :

‘अध्यक्षले कम्फर्टेबल टीम बनाउनुभयो, अझ धेरै सफलता मिलोस्’

अध्यक्षले मेरो कम्फर्टेबल टीम यो हो, तिमीहरू किनारामा बसेर पार्टीको लागि काम गर भन्नुभएको छ । उहाँलाई अझ धेरै सफलता मिलोस् भन्ने मेरो शुभकामना छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते २०:०८

१३ मंसिर, चितवन । नेकपा एमालेको दशौं महाधिवेशनबाट चुनिने पदाधिकारीमा एक तिहाइ महिला हुनुपर्छ भनेर लबिइङ गर्ने नेताहरूमध्ये एक हुन्, विन्दा पाण्डे

उनी आफैं पनि उपमहासचिव पदको दावेदार थिइन् । तर बन्दसत्रबाट कमिटीहरूको प्रस्ताव गर्ने सर्वाधिकार पाएका अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको पदाधिकारी टीममा उनी परिनन् ।

त्यसमा असहमत केहीले उम्मेदवारी दिएका छन् । तर पाण्डेले त्यसो पनि गरिनन् । भन्छिन्, ‘अध्यक्षले आफ्नो कम्फर्टेबल टीम बनाउनुभएको छ, नतिजा हेरौं न ।’
प्रस्तुत छ, एमाले नेता पाण्डेसँग अनलाइनखबरकर्मी सइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश :

एमालेमा नेतृत्वले भन्ने गरेको एकमना एकता देखिएन नि ? तपाईंको अनुभूति कस्तो रह्यो ?

यो पटक को अध्यक्ष निर्वाचित हुन्छ भन्ने एक प्रकारले छर्लङ्गै थियो । केही साथीहरूले निर्विकल्प हुँदैन, प्रक्रियालाई जोगाउनुपर्छ भनेर पहिल्यै उम्मेदवारी घोषणा गर्नुभएको थियो ।

चितवनमा आइसकेपछि निर्वाचनको प्रक्रियामा जाने भन्दा पनि निर्वाचनका लागि जति कोटा मान्छे चाहिने हो, उनीहरूलाई हलले ताली बजाएर निर्वाचित गरियो । त्यसपछि बल्ल उम्मेदवारीको प्रक्रिया शुरू भयो । निर्वाचन आयोगमा बुझाउन पनि यो प्रक्रियामा जानैपर्ने थियो ।

अध्यक्षले मेरो कम्फर्टेबल टीम यो हो, तिमीहरू किनारामा बसेर पार्टीको लागि काम गर भन्नुभएको छ । उहाँलाई अझ धेरै सफलता मिलोस् भन्ने मेरो शुभकामना छ ।

भनेपछि एमाले यहाँ प्रक्रिया पूरा गर्न मात्र आएको थियो ?

अहिलेको उम्मेदवारी त प्रक्रिया पूरा गर्नका लागि मात्रै हो । हामीले केन्द्रीय समितिको निर्वाचन ताली बजाएर गर्‍यौं । हात उठाएर गरेको पनि होइन, त्यो कसैको माग पनि होइन ।

एमाले त जनवादी केन्द्रीयता मान्ने पार्टी हो, तर महाधिवेशनमै जनवादी केन्द्रीयताको अभ्यास किन गरिएन ?

संसदीय प्रक्रियाबाट मुलुकको रूपान्तरण गर्ने भनेर जनताको बहुदलीय जनवादले भनेको थियो । तर हामी यति धेरै संसदीय भयौं कि पार्टीको केन्द्रीय समितिको चयन पनि संसदमा जस्तै हुन्छ र हुन्न भन्ने आवाजको भरमा गर्न थाल्यौं । संसदमा जसरी हुन्छ भन्ने पक्षको आवाज चर्को सुनिएकाले पास भयो भन्छौं नि ! यही तरिकाले हामीले नयाँ केन्द्रीय समिति बनाएका छौं ।

कम्युनिष्ट पार्टीको हिसाबले म के भन्छु भने पहिले प्रक्रियाबाट निर्वाचन भए अध्यक्ष कमरेडलाई काम गर्न त्यति धेरै सहज नहुने खालको मानिस पनि निर्वाचित हुनसक्थे होला । अहिले अध्यक्षले आफूलाई सहज हुने टीम बनाउनुभएको छ । एमालेलाई पहिलो पार्टी बनाउन सहज टीम सेलेक्सन गर्नुभएको छ । हलले त्यसलाई अनुमोदन गरेको छ ।

कार्यकर्ताले कस्तो पार्टी बनाउन चाहन्छ भन्दा पनि नेताले कस्तो टीम ल्याउन चाहन्छ भन्ने अभ्यास भयो नि एमालेमा ? यस्तै अर्थ लाग्छ होइन र ?

अहिलेको अर्थ त्यही नै हो ।

अध्यक्षलाई सहज बनाउनुभयो, कार्यकर्ता भने …!

अध्यक्षले यी–यी मान्छे यो–यो पदमा हुँदा मलाई काम गर्न सजिलो हुन्छ भन्ने खालको टीम बनाउनुभयो ।

हलले अस्ति सर्वसम्मतिको टीम बनाएर आउनुहोस् भनेर जिम्मेवारी दिएको थियो । त्यो भनेको तपाईंलाई सहज हुने टीम बनाउनुहोस् भनेकै त हो नि !

तर जबजले आन्तरिक प्रतिस्पर्धाबाट उत्कृष्टता हासिल गर्ने भन्छ होइन र ?

त्यो चाहिं छैन ।

पाँचौं महाधिवेशनले जबजलाई अघि सारेपछि एमालेले आन्तरिक प्रतिस्पर्धालाई उत्कृष्टता हासिल गर्ने अभ्यास भनेको थियो । अहिले त्यसलाई छाड्नु भनेको त जबजको औचित्यलाई नारायणी किनारमा बिसाएको अर्थ लाग्दैन ?

जबजको औचित्य नै समाप्त भयो भनेर नजाऊँ ।

तर, विधि त त्यस्तै भयो नि ?

जबजको प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने कुरालाई अब नयाँ ढंगबाट विश्लेषण गर्नुपर्ने जरूरी छ ।

नयाँ ढंगबाट जान कि पुरानै कम्युनिष्ट ढर्रामा फर्किन ?

अहिले हामी जसरी अगाडि बढिरहेका छौं, यसलाई हामीले विश्लेषण गर्न जरूरी छ । जबजले भनेको प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने भनेको एकजना नेता छान्ने र उहाँलाई सहज हुने खालको टीम छान्नुस् भनेर छाड्ने आशय हो कि होइन ?

हामीले अहिले यहाँ जे गरिरहेका छौं, त्यसले नेतृत्व चयनको सन्दर्भमा जबजले भनेको पार्टीको लोकतन्त्रिकरणको आशयलाई बोक्यो कि बोकेन ? विश्लेषण गर्न जरूरी छ ।

यद्यपि यसलाई म अलि सकारात्मक ढंगले लिन्छु, हाम्रो पार्टी अलि अप्ठ्यारो स्थितिमा आएको छ, त्यसमा एकढंगले सर्वाधिकार अध्यक्ष मण्डलको अध्यक्षलाई भनेर जब महाधिवेशनको हलले अधिकार दिनु भनेको उहाँलाई कम्फर्टेबल टीम बनाएर आउनुस् भनेकै त हो नि ! त्यही होइन र ? मैले चाहिं यसरी बुझ्छु ।

तर जबज होइन, प्रचण्डपथतिरै गएको सन्देश गयो नि ?

यसलाई प्रचण्डपथ त भन्दिनँ । विगतमा जनवादी केन्द्रीयताको कुरा गर्दा सबैको कुरा सुनिसकेपछि नेतृत्वले निर्णय गर्ने अभ्यास थियो । अहिले हामी जबजभन्दा अगाडिको त्यही अवस्थातिर गयौं कि भन्ने ठान्छु ।

यसमा पनि बन्दसत्रको शुरूको दिन हलले जुन म्यान्डेड दियो, भाषा जे प्रयोग गरे पनि तपाईंलाई कम्फर्टेबल हुने सूची ल्याउनुस् भनेकै हो नि ! कसलाई पदाधिकारीको कुन ठाउँमा राख्दा ठीक हुन्छ ? ल्याउनु भनेको निर्वाचनको प्रतिस्पर्धामा जाऔं भन्ने म्यान्डेट त होइन । म्याण्डेट पाएपछि उहाँले जुन पदमा जो–जोलाई राख्दा सजिलो हुन्छ भन्ने लाग्यो, जो–जोसँग स्वभाव मिल्छ, उहाँहरूलाई राख्नुभयो । स्वभाव नमिले त काम गर्न सजिलो हुँदैन नि !

जति योगदान दिए पनि अध्यक्षका लागि कम्फर्टेबल भएन भने सकियो ?

अध्यक्षको कम्फर्टेबल टीम हो । यसले पार्टीको काम गर्न उहाँलाई सहज हुन्छ । पार्टीले आउने निर्वाचनमा एउटा अपेक्षा गरेको छ, विविधतालाई समेट्नुपर्नेछ । त्योभन्दा पनि मूल कुरा नेतृत्वलाई कम्फर्टेबल हुने टीम चाहिन्छ भन्ने आशयबाट यो महाधिवेशन सम्पन्न हुँदैछ ।

उहाँले आफूलाई सहज हुने कम्फर्टेबल टीम प्रस्ताव गर्नुभएको छ । हलले त्यसलाई पारित गरिसकेको छ । अब पार्टीलाई सबैभन्दा ठूलो पार्टी बनाउने दायित्व उहाँहरूकै हो ।

उपमहासचिवमा तपाईंको दाबी थियो, त्यही कम्फर्टेबल नभएकाले नपरेको हो ?

शायद उहाँको टीममा म बसेर काम गर्न कम्फर्टेबल हुन्छ भन्ने लागेन होला ।

विगतका महाधिवेशनमा जस्तो अभ्यास गरेका थियौं, पहिला बन्दसत्र शुरू हुन्छ, केही नियमहरू बन्छन्, उम्मेदवारी घोषणा हुन्छ, मतदानमा धेरै मत ल्याउने जिन्छ आदि ।

त्यही अभ्यास भएको भए मैले जुन पदमा दाबी गरेकी थिएँ, त्यसमा रिजल्ट प्राप्त गर्थें । मलाई मात्र होइन, यहाँ भएका हरेक प्रतिनिधिले सोध्नुभयो भने मेरै पक्षमा रिजल्ट आउँछ भनेर जवाफ आउँछ भन्ने विश्वास छ ।

तर त्यो प्रक्रियामा जानुभन्दा पनि हलले शुरूमा नै अध्यक्षलाई तपाईंलाई कम्फर्टेबल टीम बनाएर ल्याउनुस् भन्ने म्यान्डेट दियो ।

कम्युनिष्ट पार्टीको महाधिवेशनलाई त जनवादको प्रयोग गर्ने स्थल मानिन्छ, जनवादको प्रयोगबाट नेतृत्व चयन हुन्छ र केन्द्रीयता लागू हुन्छ भनिन्छ, यहाँ त जनवाद…

जनवादले सर्वसम्मत भन्यो नि !

भन्यो र ? भीम रावल बोलिरहनुभएको थियो, घनश्याम भुसाल बोलिरहनुभएको थियो !

उहाँहरू त अल्पमतमा पर्नुभयो नि !

जनमतसंग्रह भइरहेको थियो र अल्पमत अनि बहुमत भन्न ?

जनमतसंग्रह होइन, एक खालको हलको आशय के छ भन्ने थियो । यो हामीले गरेको नयाँ प्राक्टिस पनि हो ।

यसलाई कम्युनिष्टहरूकै भाषामा बहुदलीय जनवादको मृत्यु भएको भन्ने कि ? जनताको बहुदलीय जनवादले जुन कुरालाई विस्थापित गरेका थियौं, त्यतातिर फर्किएको भन्ने ?

बहुदलीय जनवादले भनेको पार्टीभित्रको लोकतन्त्रीकरण भनेर पहिले हामीले जे अभ्यास गरेका थियौं, यो पटक त्योभन्दा फरक अभ्यास गर्‍यौं । (जित्ने निश्चित जस्तै भएका अध्यक्षले) कम्फर्टेबल टीम यो हुन्छ भनेर घोषणा गर्ने, त्यसमा सहमत नहुनेले निर्वाचनमा जाने । उम्मेदवारी दर्ता त भइसक्यो । त्योभन्दा बाहेकलाई प्रतिनिधिले मत दिए चाहिं उहाँको कम्फर्टेबल टीमलाई प्रतिनिधिले रिजेक्ट गरे भनेर बुझ्नुपर्ला ।

हिजो पञ्चायतकालमा पनि समावेशीका नाममा मान्छे छानेर ल्याइन्थ्यो । अहिले तपाईंहरू कहाँ पनि छानेर ल्याइएको छ । उहाँहरूको क्षमतामा प्रश्न उठाएको होइन, तर कति आशा गर्न सकिन्छ ?

टीम बनाउने मान्छेले आफूलाई जस्तो मान्छे आवश्यक पर्छ, त्यस्तै मान्छे ल्याउनुहुन्छ । मेरो स्वभाव जस्तो छ, जस्तो मान्छेसँग काम गर्न सहज हुन्छ, त्यस्तै मान्छे ल्याउने हो ।

कम्फर्टेबल टीम बनाउने भनेको त उहाँ (केपी शर्मा ओली)ले क्षमतावान देखेको, आफूसँग स्वभाव मिल्नेहरूको बनाउने हो । कम्फर्टेबल टीम बनाउनुस् भनेर बन्दसत्रबाट अधिकार दिएपछि कसको क्षमता के, कसको प्रकृति के भन्ने प्रश्न उठाउन मिलेन । उहाँले यो मान्छेसँग काम गर्न सहज हुन्छ, स्वभाव मिल्छ आदि आधारमा मूल्यांकन गरेर टीम बनाउनुभएको हो । यसले पार्टीलाई राम्रै हुन्छ भन्ने लागेको छ ।

व्यक्तिको कम्फर्टेबलले मुलुक चल्न सक्ला र ? लोकतन्त्रमा झमेला हुँदैन र ?

यो हाम्रो पार्टी जीवनमा नयाँ प्राक्टिस हो । पाँच वर्षसम्म नयाँ प्राक्टिस गरेर हेरौं न, नेतृत्वलाई कम्फर्टेबल टीम बनाएर काम गर्न दिंदा नतिजा के आउँछ । राजनीतिमा धैर्य पनि हुनुपर्छ ।

तपाईंमा त्यो धैर्य छ त ?

एकदम छ ।

तपाईंको साथ चाहिं रहन्छ ?

म जुन हैसियतमा छु, जे जिम्मेवारी छ, त्यस अनुसार पार्टीमा क्रियाशील नै रहन्छु । पार्टीले उठाएको एजेण्डा कार्यान्वयन गर्ने, हिजो हामी आफैंले बनाएको संविधानका प्रावधानहरू कार्यान्वयन गर्न आफ्नो ठाउँबाट भूमिका खेल्छु ।

अहिले सबभन्दा बढी केही साथीहरू, जसले पितृसत्ताको अन्त्य नभई लैंगिक आधारमा हुने विभेद अन्त्य गर्न सक्दैनौं भनेर आवाज उठायौं, उनीहरू पार्टी लीडरशिपलाई पाच्य भएको छैन । फेरि पनि पितृसत्तालाई जोगाउने हिसाबले गरिएको महिला सहभागिताले महिलाहरूलाई स्वायत्त र स्वाभिमानी नागरिक बनाउन सक्दैन ।

महिलावाद भनेको पितृसत्तालाई अन्त्य गर्ने सिद्धान्त हो र जनताको बहुदलीय जनवादमा महिला सम्बन्धी जुन नीति लेखिएको छ, त्यसमा पनि महिलावादी, समाजवादी आधारमा अगाडि बढ्नुपर्छ भन्ने छ ।

तर आजका मितिसम्म नेकपा एमालेको नेतृत्वले जबजको जतिसुकै गुणगान गाए पनि त्यहाँ भएको समाजवादी, महिलावादी धारको आशयलाई आत्मसात् गर्न सकेको छैन । जबसम्म आत्मसात् गर्न सकिंदैन, तबसम्म हाम्रो समाज र नेतृत्वमा रहेको पितृसत्तात्मक सोच र व्यवहार कायमै छ । हामीलाई भन्दा पनि धेरै महिलावादी नहोऊ भन्नुहुन्छ ।

जे–जसरी नयाँ नेतृत्व चयन भएको छ, यसले पार्टीको अन्तरिक लोकतन्त्र मर्‍यो नि ?

त्यसमा धब्बा लागेको छ यसपालि । किन भन्दा हामीले हलमा मान्छे घोषणा गरेर ताली बजायौं र उनीहरूलाई उम्मेदवारी दर्ता गर भन्यौं । सामान्यतया सुल्टो बाटो भनेको उम्मेदवारी दर्ता गरेर निर्वाचन गर्ने हो ।

यसपटक हामी गुटविहीन पार्टी बनाउने भनेर लागेका छौं । तर अध्यक्षले मेरो कम्फर्टेबल टीम यो हो, तिमीहरू किनारामा बसेर पार्टीको लागि काम गर भन्नुभएको छ । उहाँलाई अझ धेरै सफलता मिलोस् भन्ने मेरो शुभकामना छ ।

यसरी टीम बनाउँदा कतिपयमा निराशा देखिन्थ्यो । तपाईंचाहिं कस्तो अनुभव गरिरहनुभएको छ ?

निराश त छँदैछैन । राजनीतिमा निराशाले काम गर्दैन । अहिलेको दुनियाँमा दुई खालको राजनीति हुन्छ । अंग्रेजीमा भन्दा प्रिन्सिपल पोलिटिक्स र पावर पोलिटिक्स ।

नेपालीमा भन्दा सैद्धान्तिक–राजनीतिक आधारमा गरिने राजनीति र शक्ति र पदको आधारमा गरिने राजनीति । सिद्धान्त, विचार, लक्ष्य, उद्देश्य केन्द्रित राजनीति भन्दा पद र शक्तिमा आश्रित राजनीति हावी हुँदै गएको छ, जुन सिंगो लोकतन्त्रका लागि चिन्ताको विषय हो ।

म जुन बेलादेखि राजनीतिमा लागें, जुन विचार लिएँ त्यो संस्थाले बोकेको लक्ष्यसँग प्रभावित भएर लागेको मान्छे हुँ । त्यहाँ पद होला, शक्ति होला, त्यहाँबाट केही प्राप्ति होला भनेर लागेको होइन । त्यसैले मलाई कुनै पद, कुनै शक्ति प्राप्ति भयो कि भएन भन्नेले उत्साहित र निरुत्साहित बनाउने हुँदैन । किनभने मैले राजनीति कमाइ गर्न गरेको पनि होइन, म हाइ–हाइ हुन्छु भनेर पनि होइन ।

सबै नागरिक समान हैसियतको बन्न सकेका छैनन् । उनीहरूलाई समान हैसियतको नागरिक बनाउन योगदान गर्न सक्छु भनेर राजनीतिमा लागेको हुँ । त्यो विश्वास आज पनि कायमै छ । हिजो जुन बेलामा नेकपा बनिरहेको थियो, त्यतिखेर त हामीले कानून मिचेर पार्टी दर्ता गरेका थियौं । त्यतिबेला आवाज उठाउने म पनि थिएँ । सुशासनको कुरा गर्ने पार्टीले कानून मिच्नुहुँदैन, त्यसमा पनि सरकारमा भएको पार्टीले कानूनको मर्यादा हामीले नराखे कसले राख्छ ? त्यो मेरो प्रिन्सिपल हो ।

विधान महाधिवेशनमा पनि तपाईंहरूले लडेर ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुभयो ?

अहिले त लड्नै परेन । किनकि केन्द्रीय समितिमा एक तिहाइ महिला नभए पार्टी दर्तै नहुने स्थितिमा पुगेको छ । तर अझै पनि एउटा प्रश्न बाँकी छ, एक तिहाइ कहाँ–कहाँ लागू हुन्छ ?

यहाँ (एमाले महाधिवेशनमा) आउनुभन्दा पहिला वकिल साथीहरूले एउटा कार्यक्रम गर्नुभएको थियो, उहाँहरूको मत छ कि विधानमा जुन–जुन कमिटीहरू तोकिएका छन्, त्यो सबैमा एक तिहाइ महिला लागू हुनुपर्छ ।

यो एमालेको मात्र सवाल होइन, अरू पार्टीको पनि अधिवेशन हुँदैछ । त्यसैले पार्टीहरूले कसरी कमिटी बनाउँछन्, त्यसका आधारमा न्यायिक परीक्षणमा जान्छौं भन्ने साथीहरूले भन्नुभएको छ । त्यसो भएमा कानूनको आशय र पार्टीहरूले बनाउने संरचना मिल्छ कि मिल्दैन भनेर न्यायिक परीक्षणको विषय बन्छ ।

यसपालि हामीले पदाधिकारी, स्थायी कमिटी सबैमा एक तिहाइ महिला हुनुपर्छ भनेर उठाएका थियौं । किनभने यो हामीले उठाएको मुद्दा हो, कानूनको आशय पनि हो । तर १९ जना पदाधिकारीमा दुई जना महिला ल्याइएको छ ।

अर्थपूर्ण सहभागिताका लागि नभई शोभा बढाउनका लागि मात्र राखियो भन्ने तपाईंको आशय हो ?

त्यसो पनि नभनौं । आफ्नो टीममा राख्न कम्फर्टेबल महिला दुई जना मात्र पाउनुभयो होला ।

यो त एउटा नीति सिद्धान्तमा चलेको पार्टीले गर्ला । तपार्ईंहरूले उहाँ (केपी शर्मा ओली) लाई बा भन्नुहुन्छ । बाले कम्फर्टेबल छोरीहरूलाई टीममा राख्नुभयो, के भयो त ?

उहाँको टीमले कसरी आत्मसात् गर्छ, त्यो एउटा पक्ष हो । तर जबजले समावेशीको आशयलाई कसरी बोक्छ ? पितृसत्ता विरुद्ध के भन्छ ? श्रमजीवी वर्गबारे के भन्छ ? र हामीले के गरिरहेका छौं ? हामीले हेर्नुपर्छ ।

अस्ति महाधिवेशनको प्रक्रिया हुँदा नै सबै पार्टीका साथीहरूसँग बसेर छलफल पनि गरेका थियौं, जहाँ अब पार्टीहरूको जेण्डर अडिट गर्न जरूरी छ भन्ने निष्कर्षमा पुग्यौं ।

हामीले बोकेको सिद्धान्त, नीति कार्यक्रम, हाम्रो व्यवहार, भाषा र उत्पादन गरिरहेको नेतृत्वलाई कसरी प्रशिक्षित गरिरहेका छौं भनेर जबसम्म सार्वजनिक लैंगिक परीक्षण गरेर अगाडि बढ्दैनौं, तबसम्म हामीले खोजेको रूपान्तरण सम्भव छैन ।

नेकपा एमालेमा महिला सम्बन्धी नीति के छ ? अहिले हामी कहाँ छौं ? हामीले के भनिरहेका छौं र के गरिरहेका छौं ? मैले त मेरो पीएचडीको थेसिसमा केस स्टडी नै गरेकी छु । र, मेरो पुस्तक ‘समानताका पाइलाहरू’ मा लेखेकी छु ।

पार्टीको यो एउटा पक्षको विश्लेषण गरेर किताब आएछ, त्यसलाई हामीले ग्रहण गर्नुपर्छ भन्नुभन्दा पार्टीले गरेको कामलाई भएन भन्ने ? व्यक्त अव्यक्त छ । कुनै दिन त्यसलाई विश्लेषण गरेर अगाडि बढ्ने स्थिति रह्यो भने जबजलाई अहिलेको समाज र समयसँगै सकारात्मक रूपान्तरण गरेर कार्यान्वयन गर्नेछौं ।

होइन भने जबजको औचित्य पुष्टि गर्न धेरै मिहिनेत गर्न जरूरी छ । किनकि जनताको बहुदलीय जनवाद गायत्री मन्त्र जस्तो जप्ने मात्र होइन, राजनीति हो र जनताको जीवनसँग जोडिएको कुरा हो भन्ने नेतृत्वले जबसम्म बुझ्दैन, त्यो दिनसम्म परिणाम दिन सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?