+
+

‘विदेशको कमाइ भनेर मनपरी खर्च गर्नुभएन’

प्रमिला बस्नेत, निर्माता प्रमिला बस्नेत, निर्माता
२०७८ मंसिर १३ गते १७:५०

‘विदेश बसेका नेपालीले दुःख गरेर कमाएको पैसा म्युजिक भिडियोमा लगानी गरिरहनुभएको हुन्छ । तर, नेपालको सांगीतिक क्षेत्रका कतिपयले त्यत्तिकै आएको पैसा झैं गरिदिनुहुँदोरहेछ ।’

म भक्तपुरमा जन्मिएकी हुँ । सानैदेखि कविता–कथा लेख्ने, वाचन गर्ने गर्थें । कविता, कथाहरू पत्र–पत्रिकामा प्रकाशित समेत भएका छन् । विद्यालयमा कहिलेकाहीं गीत गुनगुनाउँथें । त्यो बेला सांगीतिक क्षेत्रमा काम गर्ने रहर भए पनि परिवारमा भन्न सकिएन । परिवारले सहज लिने अवस्था पनि थिएन ।

मेरो सानैमा विवाह भयो । विवाहपछि बच्चाबच्चीको हेरचाह, पढाइमै समय बित्यो । गीत–संगीतलाई मनमै गुम्स्याएर राखें । नेपालमा हुँदा सांगीतिक क्षेत्रमा लाग्न परिस्थितिले दिएन । पछि नेपाल छाडेर क्यानडा आएँ । यहाँ आएपछि दुई/चार वर्ष ‘सस्टेन’ हुनका लागि संघर्ष गर्नुपर्‍यो । त्यसपछि एनआरएनएतिर सक्रिय रूपमै लागें ।

बीचमा सांगीतिक क्षेत्रमा जोडिनुपर्छ भन्ने नभएको होइन । मनमा सांगीतिक क्षेत्रप्रतिको रहर गुम्सिएको थियो । तर, धेरै वर्ष बितेको पत्तै भएन । कोरोना महामारी शुरू भएपछि भने अब सांगीतिक यात्रा शुरू गर्नुपर्छ भन्ने लाग्यो । आफैंले कोरोना महामारी सम्बन्धी गीत लेखेकी थिएँ । त्यसमा लगानी गरेर भिडियो बनाएँ ।

‘प्रेम गरौं’ बोलको गीत शुरूमा अरूकै युट्युब च्यानलमा सार्वजनिक गरिएको थियो । पछि ‘सेवा गरौं’ शीर्षकमा आफ्नै युट्युब च्यानलमा सार्वजनिक गरें । आफ्नै गीत, आफ्नै लगानी भएपछि किन अरूको युट्युबमा राख्ने भनेर आफ्नै च्यानल खोलेर भिडियोहरू राख्न थालेकी हुँ ।

त्यसपछि एउटा देशभक्तिको गीत लेखें– देश निर्माणको संकल्प । यो गीत राजु लामा र अस्मिता अधिकारीले गाउनुभएको छ । क्रमशः आफ्नै शब्दमा अन्य गीतहरू पनि ल्याउँदै गएँ । दुई वर्षमा मेरो लगानीमा ११ वटा म्युजिक भिडियो ल्याएकी छु ।

केही दिन अगाडि मात्रै ‘एक पटकको नेपाली सधंैको नेपाली’ बोलको गीत ल्याएँ । केही गीतहरू आउने तयारीमा पनि छन् । शब्दहरू आफैंले लेखेकी हुँ । यतिका वर्ष सांगीतिक क्षेत्रमा नलागे पनि अब सांगीतिक यात्रा निरन्तर अगाडि बढाउने सोचेकी छु ।

एउटा म्युजिक भिडियोमा १ लाखदेखि ४–५ लाख रुपैयाँसम्म लगानी गरेकी छु । तर, मलाई यसबाट प्रतिफलको अपेक्षा छैन । लगानी नउठे पनि केही शिक्षामूलक, सन्देशमूलक, रमाइला गीतहरू नेपाली बजारमा दिऔं भन्ने मेरो विचार हो ।

अर्को कुरा, म्युजिक भिडियो नेपालसँग जोडिने माध्यम पनि बन्दोरहेछ । यद्यपि, म्युजिक भिडियोमा गरिएको लगानी त्यत्तिकै आउने भने होइन । बाहिर हुनुभएका नेपालीले नेपाली सांगीतिक क्षेत्रलाई एकदमै माया गरेको पाउँछु ।

उहाँहरूले दुःख गरेर कमाएको पैसा म्युजिक भिडियोमा लगानी गरिरहनुभएको हुन्छ । तर, सांगीतिक क्षेत्रका कतिपयले त्यत्तिकै आएको पैसा झैं गरिदिनुहँुदोरहेछ । मेरै एउटा गीतमा एकजना चलेको एरेन्जरले ४५ हजार रुपैयाँ माग्नुभयो । केही समय गीत एरेन्ज गरेर त्यो पैसा माग्नु अत्ति नै भएन र !

यहाँ नजिकै बस्ने एक जना गायिका बहिनी छिन् । अस्ति भर्खरको कुरा, उनले एउटा म्युजिक भिडियोमा १० लाख रुपैयाँ खर्च गरें भनिन् । मलाई अचम्म लाग्यो, किन गरेको होला त्यत्रो खर्च ? पछि भिडियो हेर्दा क्वालिटी नै छैन ।

किन त्यत्रो खर्च गरेको भन्दा उनीहरूले काठमाडौं बाहिर गएर दुई दिन लगाएर भिडियो खिचेका रे ! राम्रो होटलमा बसेका रे ! त्यो बहिनीको पैसामा रमाइलो गर्ने गरेछन् । त्यो बहिनीको साह्रै चित्त दुखाइथियो । बाहिरबाट आएको लगानी भनेर यसरी खर्च चाहिं गरिदिनुभएन ।

मेरो विचारमा नेपालमा के सोचिदिनुपर्‍यो भने, विदेशमा रहनुभएकाहरूसँग यति माग्छु, यो गर्छु भन्नुभएन । उहाँहरूले सहज र विश्वासिलो माध्यम उपलब्ध गराइदिनुपर्छ । सहज वातावरण बनाइदिनुभयो भने विदेशमा रहनुभएका नेपालीले सांगीतिक क्षेत्रमा अझ धेरै लगानी गर्नुहुन्छ ।

(क्यानडामा रहेकी प्रमिला बस्नेतसँग अनलाइनखबरकर्मी सुशील नेपालले गरेको टेलिफोन कुराकानी ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?