+
+

नयाँ वर्षका लागि भारतीय पर्यटकबाट होटेलमा अग्रिम बुकिङ उत्साहजनक

अच्युत पुरी अच्युत पुरी
२०७८ मंसिर १४ गते ९:०७

१३ मंसिर, काठमाडौं । नजिकिएको अंग्रेजी नयाँ वर्ष २०२२ लाई लक्षित गरी आतिथ्य सेवामा उत्साहजनक अग्रिम बुकिङ आउन सुरु गरेको छ ।

अघिल्लो दुई वर्ष २०२० र २०२१ त्रास र आशमा बिताएका होटेल व्यवसायीलाई यो वर्षको बुकिङ ट्रेण्डले भने उत्साहित बनाइरहेको होटेल संघ नेपाल (हान)का सदस्य युवराज श्रेष्ठले जानकारी दिए । ‘नेपालमा न्यू इयरका मूख्य पाहुना चिनियाँ र भारतीय पर्यटक हुन्’ उनी भन्छन्, ‘यो वर्ष भारतबाट प्रशस्त मात्रामा बुकिङ आइरहेको छ ।’

उनका अनुसार यूरोप र अमेरिकी मुलुकबाट आगामी पर्वतारोहण तथा पदयात्रा सिजनमा बढी पर्यटक आउने अपेक्षा व्यवसायीले गरेका छन् । ‘कोरोना महामारीकै बीचमा पनि पर्वतारोहणमा अघिल्लो सिजन रेकर्ड ब्रेक भयो’ उनले भने, ‘आगामी सिजन पक्कै राम्रो हुने छ ।’

अंग्रेजी नयाँ वर्ष आउन ठ्याक्कै एक महीना छ । तर, पछिल्लो समय अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टले भने त्रास बढाएको उनले बताए ।

यसकारण बढ्दैछन् भारतीयसहित दक्षिण एसियाली पर्यटक

सन् २०१९ डिसेम्बरबाट सुरु भएको कोरोना भाइरसको महाकारीका कारण भारतसहितका मुलुकबाट भ्रमणका लागि तेस्रो मुलुकमा जान सहज छैन । कोभिड महामारी पनि कम भएको र यात्रा समेत सहज भएका कारण दक्षिण एसियाली मुलुकबाट पर्यटक क्रमशः बढ्दै गएको सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो) नेपालका पूर्वअध्यक्ष यम खड्का । ‘नेपालले एक त धेरै मानिसमा खोप लगाइसकेको छ, अर्कोतर्फ विकसित मुलुकको तुलनामा यहाँ यात्रा सहज पारिएको छ’ उनले भने, ‘यसले नयाँ वर्षमा पर्यटक आगमन बढ्ने देखिएको हो ।’

उता, भारत सरकारले समेत १५ डिसेम्बरबाट लागू हुने गरी अधिकांश मुलुकका लागि एयर बबल स्किम हटाउने निर्णय लिइसकेको छ । यो नियम कार्यान्वयन भएमा नेपालबाट नयाँ दिल्लीसहित अन्य सहरमा समेत सिधा उडान हुनेछ । यसले समेत भारतीय सहरबाट न्यू इयरमा पर्यटक आगमन बढ्ने व्यवसायीहरुको अपेक्षा छ ।

कोभिडको नयाँ भेरियन्ट अफ्रिकामै सीमित भए नेपाली पर्यटनमा प्रभाव पर्दैन

सरकारले सबै अफ्रिकी मुलुकबाट नेपाल आउने यात्रुको आवागमन रोकेको छ । पछिल्लो समय दक्षिण अफ्रिकामा देखा परेको यो महामारी दक्षिण एसियाली र नेपालबाट सिधा उडान हुने मुलुकमा नदेखिएमा पर्यटन क्षेत्रमा तत्काल ठूलो असर नपर्ने अपेक्षा समेत व्यवसायीको छ । ‘अफ्रिकाबाट नेपाल भ्रमणमै आउने मानिस निकै कम हुन्छन्’ हानका सदस्य श्रेष्ठले भने, ‘नयाँ भेरियन्टको फैलावटमा पर्यटनको भविष्य निर्भर हुनेछ ।’

महाधिवेशन र आन्तरिक पर्यटकले जगाएको आशा

होटेल तथा पर्यटनमा पछिल्लो समय दलहरूको महाधिवेशन र आन्तरिक पर्यटकले भने आशा जगाएको छ । गत शुक्रबारबाट सौराहाका होटेलहरूका कोठा पूर्ण क्षमतामा बिक्री भए । एमालेको महाधिवेशन लम्बिएसँगै होटेल व्यवसायीको व्यापारमा पनि वृद्धि भइरहेको छ । ‘सौराहामा चटपटे पसलदेखि नाङ्लो पसलसम्मले राम्रो व्यापार पाएका छन्, हानका सदस्य श्रेष्ठ भन्छन्, यो त एक प्रकारको नसोचेको व्यापार हो ।’

उनका अनुसार काठमाडौंमा नेपाली कांग्रेसको आसन्न महाधिवेशनका लागि समेत साना तथा मझौला होटेलहरूमा सोधखोज सुरु भइसकेको छ ।

यस्तो इन्भेटका दौरान ठूला होटेलमा समेत मनग्य व्यापार हुने उनले बताए । काठमाडौं आसपासका अधिकांश होटेल र रिर्सोटलाई संघ/संस्था र कम्पनीहरूले आयोजना गर्ने विभिन्न कार्यक्रमले पर्याप्त विजनेश दिइरहेको छ । पोखरा, धुलिखेलसहितका क्षेत्रमा हनिमुन प्याकेजमा समेत पर्याप्त विजनेश भइरहेको व्यवसायीले बताएका छन् । अहिले नेपालमा लगनको सिजन चलिरहेको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?