+
+

ओमिक्रोन भेरियन्टबाट डराउनु पर्ने कुनै कारण छैन : जो बाइडन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते १०:४९

१४, मंसिर । अमेरिकी राष्ट्रपति जो बाइडनले नयाँ कोरोना भेरियन्ट ‘चिन्ताको विषय’ भए पनि डराइहाल्नु पर्ने अवस्था नभएको बताएका छन् ।

सोमबार ह्वाइटहाउसमा बोल्दै बाइडनले नयाँ ओमिक्रोन भेरियन्टबाट डराउनु पर्ने कारण नभएको बताएका हुन् । ‘यो भेरियन्ट चिन्ताको विषय हो तर यसबाट डराउनुपर्ने कुनै कारण छैन’, उनले भने । उनले खोप लगाएकालाई बुस्टर डोज लगाउन समेत आग्रह गरेका छन् ।

‘यदि तपाईंले खोप लगाइसक्नु भएको छ र नयाँ भेरियन्टका कारण चिन्तित हुनुहुन्छ भने बुस्टर डोज लगाउनुहोस्’, बाइडेनले थपे, ‘यदि खोप लगाउनु भएको छैन भने लगाइ हाल्नुहोस् । पहिलो डोज लगाउन गइहाल्नुहोस् ।’

प्रमुख खोप निर्मातासँग अमेरिकाका स्वास्थ्य अधिकारीले परामर्श गरिरहेको र ओमिक्रोनको उत्परिवर्तनबारे आउन सक्ने संभावित अपडेटका लागि तयारी गरिरहेको पनि बाइडेनको भनाइ थियो । बाइडेनले लकडाउन वा थप यात्रा प्रतिबन्ध नलगाइकनै ओमिक्रोनलाई नियन्त्रण गर्ने अवस्थामा अमेरिका रहेको पनि बताए ।

बाइडेनले खोप लगाउने र मास्क प्रयोग गर्ने हो भने लकडाउनको अवस्था नआउने पनि बताए । उनले नयाँ भेरियन्टविरुद्ध विद्यमान खोप र बुस्टर डोजले काम गर्न सक्ने संभावना रहेको भनेर प्रमुख मेडिकल सल्लाहकार एन्थोनी फाउचीले बताएको पनि सुनाए । नयाँ भेरियन्टसँग वैज्ञानिक कदम चालेर जुध्ने पनि उनको भनाइ थियो ।

‘भद्रगोल र अलमलको साटो वैज्ञानिक एवं ज्ञानयुक्त कार्य र गतिका साथ यो भेरियन्टसँग लड्ने छौं’, उनले भने ।

अमेरिकाले सोमबारदेखि दक्षिण अफ्रिकासहित अन्य ७ मुलुकबाट हुने हवाइ यात्रामा प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ । मानिसहरूलाई खोप लगाउने समय दिन भन्दै यात्रा प्रतिबन्ध लगाइएको बाइडेनले प्रस्ट पारेका छन् ।

हालसम्म अमेरिकामा ओमिक्रोनका संक्रमित फेला परेका छैनन् । तर छिमेकी मुलुक क्यानाडामा ४ जनामा ओमिक्रोन फेला परेको समाचारमा उल्लेख छ ।

(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?