+
+

अर्को हप्तादेखि काठमाडौंका तीनै प्रशासन कार्यालयबाट ई-पासपोर्ट

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते १८:३१
फाइल तस्वीर

१४ मंसिर, काठमाडौं । सरकारले अर्को साताबाट काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरण थाल्ने भएको छ । काठमाडौं उपत्याकका काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट पनि दैनिक रुपमा ई-पासपोर्ट वितरण थाल्न लागिएको हो ।

विभागका प्रवक्ता शरदराज आरनका अनुसार पहिलो चरणमा तीनवटै कार्यालयबाट दैनिक सय वटामात्रै ई-पासपोर्ट वितरण हुनेछ । ‘हामीले यो हप्ताभरिमा काठमाडौं उपत्याकका जिल्लामा सेवा विस्तार गर्न तयारी सक्छौं,’ आरनले भने, ‘अर्को हप्ताबाट ई-पासपोर्ट जिल्लामा पनि पुग्छ ।’

अहिलेसम्म विभागबाट दैनिक २ सय जनासम्मलाई ई-पासपोर्ट वितरण भइरहेको छ । हाल त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनमा ई-पासपोर्ट छपाइ र वितरण भइरहेको छ । राहदानी विभागको वेबसाइटमार्फत अनलाइन आवेदन भर्ने नागरिकले ई-पासपोर्टको लागि प्रशासन कार्यालयहरुमा औंठाछाप (बायोमेट्रिक) दिन जाने मिति र समय पाउने छन् ।

ई-पासपोर्ट बनाउनेले राष्ट्रिय परिचयपत्र वा त्यसको भेरिफाइड नम्बर अनिवार्य भर्नुपर्नेछ । जिल्ला प्रशासन कार्यलयहरुबाट तत्कालै राष्ट्रिय परिचयपत्र नपाए पनि जिल्ला प्राशसन कार्यालयमा आवेदन भरेपछि पाइने परिचयपत्र नम्बर पासपोर्टमा अनिवार्य गरिएको छ ।

३४ पृष्ठको राहदानी जिल्ला प्रशासन कार्यालयबाट बनाउँदा ५ हजार रुपैयाँ दस्तुर लाग्नेछ । तर, ६६ पृष्ठको बनाउन चाहे १० हजार रुपैयाँ दस्तुर तोकिएको छ । राहदानी विभागबाट दुई दिने सेवा अवधि बुक गरेर पासपोर्ट बनाउँदा ३४ पृष्ठको दस्तुर १२ हजार र ६६ पृष्ठको रहादानीको दस्तुर २० हजार तोकिएको छ ।

राहदानी हराएको, केरमेट भएको, पाना च्यातिएको वा अन्य कारणले राहदानी प्रयोग गर्न नसक्ने भएर नयाँ बनाउनुपर्दा तोकिएको शुल्कमा थप ५ हजार रुपैयाँ दस्तुर लाग्नेछ ।

नियोगहरुमार्फत राहदानी बनाउँदा लाग्ने शुल्क भने क्षेत्र तथा क्षेत्रअनुसार फरक-फरक तोकिएको छ । विभागले साधारणसहित कुटनीतिक, सर्भिस, विशेष, अस्थायी र सिमेन्स राहदानी पनि वितरण गर्ने छ ।

करिब ७० लाख मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण गरेपछि गत १ मंसिरदेखि सरकारले ई-पासपोर्ट वितरण थालेको थियो ।

ई-पासपोर्ट वितरण थालेपनि एमआरपी जारी गर्न भने विभागले बन्द गरेको छैन । एमआरपी प्रणालीको तथ्यांक नयाँ प्रणालीमा सार्न र छपाइको काम प्रभावकारी बनाउन विभागले केही दिन दुवै खालका पासपोर्ट वितरण गर्नुपरेको विभाग बताउँछ ।

विभागका प्रवक्ता आरन काठमाडौंपछि धेरै सेवाग्राहीको चाप हुने जिल्लामा पनि क्रमैसँग ई-पासपोर्टको बायोमटि्रक लिनेसहितका व्यवस्था गर्दै जाने विभागले बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?