+
+

यसरी गर्न सकिन्छ घरमा आफैंले लक्ष्मीपूजा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते ८:०३
फाइल तस्वीर

१८ कात्तिक, काठमाडौं । आज कात्तिक कृष्ण आमावश्या अर्थात् गाईतिहारे औंसी तिथि । हिन्दु धर्मावलम्बीहरुले धनधान्यकी देवी लक्ष्मीको पूजाअर्चना गरी यो पर्व मनाउँदैछन् । कात्तिकको जुन साँझ वा अर्धरात्रिकालमा आमावश्या तिथि पर्छ त्यही दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय मान्यता छ ।

तिहारको औंसीको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ । शिवरात्रिलाई महारात्रि, कृष्ण जन्माष्टमीको रात्रिलाई मोहरात्रि र नवरात्रको सातौं दिनको रात्रिलाई कालरात्रि भनेजस्तै कात्तिक कृष्ण औंसीको रात्रिलाई सुखरात्रि भन्ने गरिएको हो ।

औंसीको दिन साँझ वा रातिमा लक्ष्मीको पूजा गर्ने, साँझमा दीपमालिका गर्ने र बत्ती बाल्ने गरिन्छ । घरमा लक्ष्मीपूजा गर्नका लागि बाहिरदेखि नै कुनै मण्डप बनाएर लक्ष्मी भित्र्याउने र भित्र विधिवत् रुपमा यसको पूजा गर्ने गरिएको पञ्चांग निर्णायक समितिका सदस्य सचिव सूर्य ढुंगेल बताउँछन् ।

पूजाका लागि आवश्यक सामग्री

हिन्दु धर्ममा कुनैपनि पूजा गर्दा पञ्चोपचार वा षोडशोपचारमध्ये एउटा विधिबाट गरिन्छ । पञ्चोपचार अर्थात् पाँच किसिमको पूजा सामग्री प्रयोग गरेर गरिने पूजा र षोडशोपचार अर्थात् सोह्र किसिमको पूजा सामग्री प्रयोग गरेर पूजा गर्ने दुई विधि हिन्दु शास्त्रमा उल्लेख छ । ध्यान–आवाहन, आसन, पाद्य, अघ्र्य, आचमन, स्नान, वस्त्र, यज्ञोपवित, गन्धाक्षत, पुष्प, धुप, दीप, नैवेद्य, ताम्बुल, दक्षिणा, जल आरती, मन्त्र पुष्पाञ्जली र प्रदक्षिणा–नमस्कार, स्तुति गरी १६ किसिमको विधि पूरा गरेर गरिने पूजा षोडशोपचार विधि अन्तर्गत पर्छ । पञ्चोपचार विधिमा भने चन्दन, अक्षता, फूल, धूप र बत्तीको प्रयोग गरिन्छ ।

लक्ष्मीपूजाको लागि पूरा विधि नजानेका र आफैंले लक्ष्मीपूजा गर्न लागेकाहरूलाई सरल र संक्षिप्त पूजा विधि यहाँ उल्लेख गरिएको छ । सदस्य सचिव ढुंगेल विधि बुझेर लक्ष्मीपूजा आफैंले पनि गराउन सकिने बताउँछन् । उनी भन्छन्, ‘शास्त्रले देवीदेवताको पूजा गर्दा शब्दमा गल्ती भएपनि भावमा गल्ती हुन नहुने बताउँछन् । शास्त्रमा भनिएको छ कि ‘पितरो वाच्य मिच्छन्ति, भाव मिच्छन्ति देवता’ अर्थात् पितृहरुको कर्म गर्दा निर्दिष्ट मन्त्रको हुबहु मिल्नुपर्छ, तर देवताहरुको लागि भने भाव मात्रै मिले पनि हुन्छ ।’ त्यसैले पनि लक्ष्मीपूजा गर्दा आफैंले विधि बुझेर गर्न सकिने उनी बताउँछन् ।

पञ्चोपचार विधिबाट पूजा गर्न आवश्यक सामग्री :

१. दियो एउटा

२. कलश २ वटा

३. लक्ष्मीको प्रतिमा एउटा

४. थाली एउटा

५. जनै, सुपारी, जौ, तिल चन्दन अक्षता, फूल, कुश लगायत आवश्यक मात्रामा

६. कर्मपात्रो

पञ्चोपचार विधि अनुसार पूजा गर्ने तरिका

सदस्य सचिव ढुंगेलका अनुसार हिन्दु कर्मकाण्डमा बिहान र दिउँसोको समयमा गरिने सबैखाले पूजाहरु पूर्वी मोहडा फर्किएर गर्ने गरिन्छ । साँझको समयमा गरिने सबै पूजाहरु पश्चिमी मोहडा फर्किएर गरिन्छ ।

पूजा गर्दा बीचमा दियो राख्ने, दियोको दाहिनेपट्टि कलश राख्ने, दियोको देब्रेपट्टि गणेश राख्ने गरिन्छ । दियोको पश्चिमपट्टि धान वा चामलमाथि एउटा कलश राखेर त्यसमाथि थाली राख्ने गरिन्छ । त्यही थालीमाथि प्रतिमा राखी लक्ष्मीको आवाहन गर्नुपर्छ । यसरी सबै सामग्री तयार पारिसकेपछि कर्मपात्रोमा कुशको टुक्रा राख्नुपर्छ । कुशको औंठी लगाइसकेपछि विधिवत् रुपमा पूजा शुरु हुन्छ । पूजा शुरु गरेर बत्ती बालिसकेपछि सबैतिरका तीर्थलाई कलशमा आवाहन गर्छौं । त्यसपछि आफ्नो कुल देवता, वास्तु देवता, नागनागिन आदिको आवाहन गर्दै पूजाको अरु प्रक्रिया अघि बढाउने गरिएको ढुंगेल बताउँछन् ।

पवित्रीकरण

पूजा शुरु भएपछि तल उल्लेखित मन्त्र पढेर मन्त्र पढेर आफ्नोमाथि तथा सबै पूजन सामग्रीमा पञ्चपात्रमा राखेको जल छरकेर पवित्रीकरण गर्नुपर्छ ।

ॐ अपवित्र पवित्रो वा सर्वावस्थां गतोपी वा ।

यः स्मरेत पुण्डरीकाक्षं स बाह्याभ्यन्तरम् शुचिः ।।

सामान्य अवस्थामा पवित्रीकरणपछि गोदानको काम हुन्छ । तर आफैंले लक्ष्मीपूजा गर्दा त्यो आवश्यक नहुने भएकाले त्यसको विधि उल्लेख गरिएको छैन ।

संकल्प

आफ्नो दाहिने हातमा कुश, तिल र पानी लिएर निम्न मन्त्रद्वारा संकल्प गर्नुपर्छ ।

ॐ विष्णुर्विष्णुर्विष्णुः श्रीमद्भगवतो महापुरुषस्य विष्णोराज्ञया प्रवर्तमानस्य अद्य श्री ब्रह्मणोऽह्नि द्वितीयेपरार्धे श्री श्वेतवाराहकल्पे वैवस्वतमन्वन्तरे अष्टाविंशतितमे कलि–युगे कलि प्रथम चरणे जम्बूद्वीपे भारतवर्षे भरतखण्डे नेपाल देशे पाशुपत क्षेत्रे काष्ठमण्डप नगरे देवीदेवता चरण कमलस्थाने षष्ठी संवत्सराणामध्ये राक्षस नाम संवत्सरे श्री सूर्य दक्षिणायने कात्तिक मासे कृष्ण पक्षे आमावश्या तिथौ तुला राशिस्थिते श्री सूर्य कुम्भ राशिस्थित देवगुरु यथास्थिते चन्द्रमा अन्येषु ग्रहेषु यथास्थान स्थितेषु ….(कर्ताको नाम लिएर) अद्य दिने श्री लक्ष्मी पूजा कर्मादिक प्राप्ति कामना सिध्यर्थम् अप्राप्त लक्ष्मी प्राप्तम् लक्ष्मी चिरकाल संरक्षणार्थम् कायिक वाचिक सांसर्गिक सकल दोष निकारणार्थम् … (आफ्नो गोत्रको नाम भनेर) गोत्रोत्पन्न अहं मम अद्य दिने दीपकलशगणेश पूजनपूर्वक लक्ष्मीदेवी कृतये पूजन अहं करिष्ये । (यति भनेर हातमा लिएको कुश, तिल र पानी भुइँमा छाड्ने)

पण्डित भेषराज अर्यालका अनुसार संकल्प सकिएपछि दियो, कलश र गणेश पूजा गर्ने । पूजा गर्ने समयमा दियोको पूजा गर्दा ‘ॐ दीप नारायणेभ्यो नमः’ भन्नेमन्त्रोच्चारण गर्न सकिन्छ । त्यसैगरी कलशको पूजा गर्दा ‘ॐ वरुण कलशाय नमः’ र गणेशको पूजा गर्दा ‘ॐ गणेशाय नमः’ मन्त्र उच्चाहरण गरेर पूजा गर्न सकिन्छ । दियो कलश र गणेशको पूजा गर्ने विशेष मन्त्र भए पनि सामान्य मान्छेले आफैं पूजा गर्दा माथि उल्लेखित मन्त्र उच्चारण गरेर पनि गर्न सकिने ढुंगेल बताउँछन् ।

दियो, कलश र गणेशको पूजा सकेपछि कलशमाथि रहेको थालीमा राखिएको लक्ष्मीलाई ‘भो लक्ष्मी यागच्छः यातिष्ट, यावत्, पूजाम् करोमि तावतम् सुस्थिरा भव सुप्रशन्नाभवः सुवरदा भवः’ भनेर प्रतिमामा जौतिल राखिदिने ।

त्यसपछि विधिवत् रुपमा पञ्चोपचार वा षोडषोपचार विधिबाट पूजा गर्नुपर्छ । पञ्चोपचार विधिबाट पूजा गर्दा कुशको आसन लक्ष्मीको प्रतिमामा चढाउनुपर्छ, जल चढाउने, अर्घ (कुशको टुक्रा, दुबो, जौ, तिल, सस्र्यु, सिंगो फल), कपुर मिसाएको जल र पञ्चामृत चढाएर लक्ष्मीपूजा गरिन्छ ।

शान्ति पाठ

पूजा सकिएपछि आरती गर्न सकिन्छ । त्यसको लागि तीन पटक आचमनीबाट जल लिएर दीपकको चारैतिर घुमाउने तथा निम्न मन्त्रको उच्चारण गर्ने ।

ॐ द्यौः शान्तिरन्तरिक्ष शान्तिः,

पृथ्वी शान्तिरापः शान्तिरोषधयः शान्तिः ।

वनस्पतयः शान्तिर्विश्वे देवाः शान्तिर्ब्रह्म शान्तिः,

सर्वँ शान्तिः, शान्तिरेव शान्तिः, सा मा शान्तिरेधि ।।

ॐ शान्तिः शान्तिः शान्तिः ।।

यसरी शान्ति मन्त्र सकेपछि त्यसपछि घरमा रहेका अन्य चल अचल सम्पत्तिलाई सोही विधिबाट पूजा गरेर विधिवत् रुपमा यो पूजा सम्पन्न गरिन्छ ।

अर्धरात्रिकालमा लक्ष्मीको पूजा गरेर अलक्ष्मीलाई बहिर्गमन गराउने पर्व हो, लक्ष्मीपूजा । यसदिन लक्ष्मीलाई घरमा भित्र्याउने र अलक्ष्मीलाई बहिर्गमन गराउनको लागि घरभित्र रहेका सबै पुराना र टुटेफुटेका सामान बाहिर निकाल्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?