+
+

राप्रपा एकता महाधिवेशन : नेतृत्व चयन प्रक्रिया आजदेखि

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते ८:४०

१६ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनको प्रक्रिया बिहीबारदेखि सुरु हुँदै छ । राप्रपाको एकता बुधबारबाट सुरु भएको एकता महाधिवेशनअन्तर्गत बिहीबार निर्वाचन प्रक्रिया सुरु हुन लागेको हो ।

भावी अध्यक्षमा कमल थापा र राजेन्द्र लिङदेनले उम्मेदवारी घोषणा गरेका छन् । राप्रपाका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गरेका छन् । अर्का अध्यक्ष पशुपतिशम्शेर जबरा भने पार्टी एकताका लागि सहमतिको आधारमा नेतृत्व चयन गर्नुपर्ने भन्दै कतै खुलेका छैनन् ।

अध्यक्षका दावेदार थापा र लिङ्देन दुवैले राजसंस्था र हिन्दुराज्य पुनर्स्थापना तथा संघीयता खारेजीको एजेन्डा अघि सारेका छन् ।

उदघाटन सत्र सकिएलगत्तै काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु भएको थियो । देशभरबाट ४२ सय प्रतिनिधिहरू सहभागी रहेको बन्दसत्रमा अध्यक्ष थापाले राजनीतिक कार्यपत्र, अर्का अध्यक्ष जबराले सामाजिक कार्यपत्र र डा. लोहनीले आर्थिक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रहरुमाथि बुधबारदेखि नै छलफल सुरु भएको थियो । छलफल बिहीबार पनि जारी रहने र त्यो सकेर नेतृत्व चयन प्रक्रिया सुरु हुने राप्रपाका नेताहरुले जनाएका छन् ।

महाधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, महामन्त्रीसहित एक सय ४१ जना निर्वाचित हुनेछन् । पार्टी अध्यक्षले सातजना सहमहामन्त्री, सातजना सहायक महामन्त्री, एकजना कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता, सहायक कोषाध्यक्षसहित ५० जना मनोनित गर्न पाउने राप्रपाको विधानमा व्यवस्था छ । राप्रपामा अध्यक्षबाहेकका पदाधिकारीमा निर्वाचन हुन लागेको पहिलोपटक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?