+
+

गण्डकीमा कांग्रेस संस्थापनको निर्विकल्प उम्मेदवार, पौडेल-कोइरालालाई सकस

अमृत सुवेदी अमृत सुवेदी
२०७८ मंसिर १६ गते १७:०४
संस्थापन समूहका उम्मेदवार अर्जुन जोशी ।

१६ मंसिर, पोखरा । नेपाली कांग्रेस प्रदेश महाधिवेशन सुरु हुनै लाग्दा गण्डकीमा सभापति शेरबहादुर देउवा समूहले एकल उम्मेदवार उभ्याउँदा संस्थापनइतरलाई भने उम्मेदवार छान्नै सकस परेको छ ।

संस्थापन समूहबाट केन्द्रीय सदस्य अर्जुन जोशी एकल उम्मेदवारका रुपमा देखिएका छन् । संस्थापन इतरबाट पाँच जना आकांक्षी बन्दा बुधबारदेखि उम्मेदवार छान्न सुरु भएको छलफल अहिलेसम्म टुंगोमा पुगेको छैन ।

संस्थापन इतरबाट कास्कीका मात्र तीन जना आकांक्षी छन् भने तनहुँ र नवलपुरका एक/एक जनाले दाबी गरिरहेका छन् । कास्कीबाट पूर्व सांसद शुक्रराज शर्मा, यज्ञबहादुर थापा र नेता देवराज चालिसेले दाबी गरिरहेका छन् । तनहुँका पूर्व सभापति रघुनाथ पौडेल र नवलपुरका महेन्द्रध्वज जिसी प्रदेशको पहिलो सभापति बन्ने होडमा छन् ।

संस्थापन इतरबाट उम्मेदवार टुंगो लगाउन वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य जीवन परियार, धनराज गुरुङ र कमला पन्त बुधबारदेखि नै पोखरामा भेला भएर छलफलमा जुटेका छन् । तर, उम्मेदवार टसमस नहुँदा कुनै टुंगो लाग्न सकेको छैन । ‘हिजोदेखि नै उम्मेदवारको टुंगो लगाउन केन्द्रीय नेताहरुसहित पोखरामा छलफल गरिरहेका छौं । तर, अहिलेसम्म निश्कर्षमा पुग्न सकिएको छैन,’ उम्मेदवार टुंगो लगाउने जिम्मा पाएको टोलीका सदस्य जीवन परियारले भने, ‘दिउँसो १ बजेभित्र सबै टुंगो लगाउने गरी छलफल जारी राखेका छौं ।’ बुधबार पोखरा लेकसाइडको एक रिसोर्टमा छलफल भएको थियो भने बिहीबार पनि बिहानैदेखि नेताहरु गृहकार्यमा जुटेका छन् ।

संस्थापन पक्षले प्रभाव बढाउँदै

गण्डकी प्रदेशलाई कांग्रेसको संस्थापन इतर समूहको गढ मानिन्छ । तर, देउवा समूहले प्रभाव जमाउँदै गइरहेको छ । पौडेलकै गृह जिल्ला तनहुँमा संस्थापनबाट सभापति चुनिएका छन् ।

सधैं पौडेल समूहले जित्ने जिल्ला लमजुङमा पनि यसपटक संस्थापन समूहले नै जिल्ला सभापतिमा जित हासिल गरेको छ । पौडेल समूहकै रजगज मानिएको कास्कीमा पनि संस्थापनबाटै सभापति जितेका छन् । बागलुङ र पर्वतमा पनि संस्थापन समूहले नै जित हासिल गरेको छ ।

वरिष्ठ नेता पौडेल तथा महामन्त्री कोइरालाको गृहजिल्ला रहेको गण्डकी प्रदेशमा संस्थापन पक्षले प्रभाव बढाइरहेको छ । त्यसका बाबजुद पनि धेरै आकांक्षी हुँदा हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालासहितको टोली पोखरा आएर गृहकार्य गरिरहेको छ । तर, एउटा उम्मेदवार छान्दा अन्य उम्मेदवार बिच्कन सक्ने सम्भावना पनि उत्तिकै देखिएको एक नेता बताउँछन् ।

यही हुन् पौडेल समूहका आकांक्षी

संस्थापनबाट जोशी सभापतिको एकल उम्मेदवार हुँदा उपसभापतिमा मेषलाल श्रेष्ठ र म्याग्दीका नेत्र महत आकांक्षी छन् । महामन्त्रीमा कास्कीका कुमार खड्काले पनि दाबी गरिरहेका छन् । सहमहामन्त्रीमा गोरखाका राजन पन्त र तनहुँका झुलबहादुर रानाको नाम चर्चामा छ ।

संस्थापन इतरबाट उपसभापतिमा किरणबाबु श्रेष्ठ, बागलुङका हरिकुमार श्रेष्ठ आकांक्षी छन् । महामन्त्रीमा कास्कीका कृष्ण केसी र नवलपुरका विष्णु लामिछानेले दाबी गरिरहेका छन् ।

सहमहामन्त्रीमा नवलपुरकी ओमकला गौतम, तनहुँकी सरिता गुरुङ, कल्पना तिवारीको आकांक्षा छ ।

संस्थापन इतरबाट कास्कीका प्रदेश सभापतिमा ३ आकांक्षीमध्ये कास्कीको १ जनाले सभापतिको उम्मेदवार पाउन सक्ने १ जनाले बताए । नवलपुरका जिसीले पछि हट्न सक्ने संकेत गरिसकेका छन् भने तनहुँका रघुनाथ पौडेललाई कांग्रेस वृतमा बलियो उम्मेदवारका रुपमा हेरिएको छैन ।

कास्कीका आकांक्षीमध्ये पाका नेता शुक्रराजलाई संस्थापनइतर समूहले विश्वास गर्न नसकिरहेको एक नेताको भनाइ छ । आकांक्षी थापा र चालिसेले वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालालाई विश्वासमा लिने प्रयत्न गरिरहेको स्रोतको दाबी छ ।

आजबाट देशैभरि सुरु हुने कांग्रेस प्रदेश महाधिवेशनमा गण्डकीमा १२ बजे पोखरामा उद्घाटन कार्यक्रम तय भएको कास्की कांग्रेसका नेता कृष्ण केसीले जानकारी दिए ।

अधिवेशन गराउन गोपालमान श्रेष्ठको नेतृत्वमा टोली खटिएको छ । देश संघीयतामा गएपछि कांग्रेसको प्रदेश अधिवेशन पहिलो पटक हुन लागेको हो ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?