+
+

राप्रपामा अध्यक्षमा सर्वसम्मतिको सकस

अहिले राप्रपामा अध्यक्षको निर्वाचन सर्वसम्मतिबाट सम्पन्न गर्न र सहमतिको नवीनतम आधारशिला खडा गर्न राजेन्द्र लिङ्देन र डा. धवलशमशेर जबरालाई अवसर आएको छ ।

सुरेश आचार्य सुरेश आचार्य
२०७८ मंसिर १६ गते १४:४६

देशमा नयाँ संविधान २०७२ जारी हुँदा दुवै राप्रपाका गरेर ३७ सभासद थिए । यीमध्ये कमल थापा नेतृत्वको राप्रपा नेपालका २५ सभासद थिए भने पशुपतिशमशेर राणा नेतृत्वको राप्रपाका १२ सभासद ।

त्यसबेलासम्म राप्रपाहरू दुई स्वतन्त्र हैसियतका दल मात्रै नभएर वैचारिक रूपमै फरक धार राख्ने पार्टीका रूपमा संविधान निर्माणमा संलग्न थिए । तर कार्यकर्ताको व्यापक दबावले संविधान जारी भएको चार महीनाभित्र २०७२ फागुनमा एकता महाधिवेशन गरेर एकीकृत दल राप्रपा बन्यो ।

एकतापछि उनीहरूले एउटै वैचारिक राजनीतिक धारलाई मूलधारको रूपमा स्वीकार गरे । उक्त महाधिवेशनले राप्रपा चोइटिने क्रम भने रोकिएन ।

यस्तै उतारचढाव पार गर्दै राप्रपा आज २०७८ सालको एकता महाधिवेशनसम्म आइपुगेको छ । यो ६ वर्षमा जति टुक्रा परे पनि टुक्रे राप्रपाहरूले संवैधानिक राजसंस्था, हिन्दू राज्य र संघीयता विरुद्धको एकात्मक स्थानीय शासनको मूल अवधारणालाई छोडेका छैनन् ।

अबका दिनमा फेरि नेतृत्वको महत्वाकांक्षा वा भोकले एकीकृत भएको राप्रपा फेरि टुक्रिन सक्छ तर पनि ती भुरेटाकुरे दलहरूले पनि आफ्नो मूल वैचारिक राजनीतिक धारलाई परित्याग गर्ने सम्भावना देखिंदैन ।

कथंकदाचित एकता महाधिवेशन पश्चात् विगतका तीता अनुभवका आधारमा राप्रपा फुट्यो भने पनि नयाँ नेतृत्वले वैचारिक राजनीतिक अवधारणामा परिवर्तन हुने चुनौतीको सामना गर्नुपर्ने छैन ।

हालसम्मका राप्रपा अध्यक्षका घोषित प्रत्यासी कमल थापा र राजेन्द्र लिङ्देन छन् । उनीहरूमध्ये जो निर्वाचित भए पनि तिनको नेतृत्वका बेला वैचारिक बहानामा पार्टीमा पहिरो जाने सम्भावना टरेको छ । वर्तमान संविधान रहेसम्म राप्रपाको वैचारिक राजनीतिक धार भुत्ते बन्ने होइन तिखारिंदै जाने सम्भावना छ ।

संविधान जारी भएपछि २०७३ फागुन ७ देखि ९ सम्म भएको एकीकृत राप्रपाको एकता महाधिवेशनबाट कमल थापा अध्यक्ष पदमा अत्यधिक बहुमतबाट विजयी भएका थिए । गणतन्त्र स्थापनापछि राप्रपाको आजसम्मको यात्रा सहज रहेन । राप्रपा नेपालको गठन १५ कात्तिक २०६३ मा भएको थियो ।

राजेन्द्र लिङ्देनलाई राम्ररी थाहा छ : रवीन्द्रनाथ शर्मा र स्वयं लिङ्देन लगायत राप्रपा नेपालका नेता कार्यकर्ताहरूलाई बिर्तामोडमा कम्युनिष्ट समर्थक अराजक भीडले उनीहरू बसेको घर–घरबाट थुतेर ज्यानै लिने गरी सांघातिक आक्रमण गरेको थियो । वृद्धावस्थामा सांघातिक आक्रमणका कारण अस्वस्थ बन्नुभएका पार्टीका प्रथम अध्यक्ष रवीन्द्रनाथ शर्माले २०६४ फागुनमा राजीनामा दिए ।

अहिले राप्रपामा अध्यक्षको निर्वाचन सर्वसम्मतिबाट सम्पन्न गर्न र सहमतिको नवीनतम आधारशिला खडा गर्न राजेन्द्र लिङ्देन र डा. धवलशमशेर जबरालाई अवसर आएको छ ।

यस्तो प्रतिकूल समयमा कमल थापाले राप्रपा नेपालको अध्यक्षता सम्हालेका हुन् । यस्तो भयावह अवस्थामा राप्रपा नेपालको अध्यक्ष हुन कोही तयार नभएपछि थापाले पार्टीको कमाण्ड सम्हालेर राप्रपा नेपालका आम कार्यकर्ता तथा शुभचिन्तकहरूको मनोबल उच्च राख्न सकेका हुन् । त्यसबेला थापा पीठ फर्काएर भागेका भए, राप्रपा नेपालको त्यही बेला नै अवसान हुनेथियो ।

थापाले राप्रपा नेपालको अध्यक्ष पदमा रहेर नेतृत्व प्रदान गरेतापनि वैचारिक र व्यवस्थापकीय रूपमा एकीकृत राप्रपाको एक्लै नेतृत्व गर्ने अवसर भने २०७२ फागुनमा मात्रै प्राप्त गरेका हुन् ।

२०७२ को एकता महाधिवेशनमा चारवर्षे कार्यकालका लागि ९० प्रतिशत भन्दा बढी मत ल्याएर विजयी बनेका थापाले दुर्भाग्यवश ६ महीना मात्रै त्यो एकीकृत राप्रपाको नेतृत्व सम्हाल्न पाए ।

राप्रपाको अभिलेख बमोजिम अध्यक्ष पदमा थापा निर्वाचित भएको ६ महीनाभित्र नै एकढिक्का भएको राप्रपाका वरिष्ठ नेताहरू डा. प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर राणाका दुई अलग पार्टी गठन भएपछि राप्रपा पुनः विभाजित हुनपुग्यो ।

यथार्थमा वैधानिक रूपमा थापाले राप्रपाको अध्यक्षको रूपमा चारवर्षे अवधिको एक कार्यकाल पूरा गरेको देखिए पनि यथार्थमा ६ महीनामै पार्टी तीन टुक्रा भएपछि थापाले बचेखुचेको पुरानो राप्रपा नेपालको एउटा चोइटोको नेतृत्व सम्हालेर समग्र राप्रपा पार्टीको विरासत बचाएका हुन् ।

२०७३ भदौ महीनादेखि २०७६ सम्म टुक्रिएर रहेको राप्रपाको गल्ती र दोषको भागीदार एक्लो थापामाथि मात्र लगाउनु राजनीतिक बेइमानी हुन्छ । वास्तवमा राप्रपाको विगत र वर्तमानको नेतृत्व असफल भएको, फेल भएको आदि आक्षेप लगाउन मिल्दैन ।

साथै, अहिले पुस्तान्तरणको नारा दिएर अध्यक्ष र महामन्त्री पदको दावेदार प्रत्यासी क्रमशः माननीय राजेन्द्र लिङ्देन र धवलशमशेर जबरा दुवै जना पार्टीका सुयोग्य पात्र हुँदा–हुँदै पनि पार्टी एकतालाई जोगाउन र संभाव्य दुर्घटनाबाट पार्टीलाई बचाउन उहाँहरूले पहल गर्न मनासिव हुनेछ ।

चाहे कमल थापा २०६४ फागुनदेखि १२ वर्ष राप्रपाको अध्यक्ष रहँदा होस् वा थापा २०७२ फागुनदेखि भदौसम्म ६ महीना एकढिक्का राप्रपाको अध्यक्ष रहँदा होस् अथवा २०७२ भदौदेखि टुक्रिएर फेरि आजका दिनसम्म जोडिने क्रममा रहेको राप्रपाको अध्यक्षमा थापा अध्यक्ष हुँदा नै किन होस्, मा. लिङ्देन र डा. धवल विगत १४ वर्षदेखि पार्टीको उपाध्यक्ष, महामन्त्रीका साथै संगठन विभागको प्रमुख रहेको कुरा बिर्सन हुँदैन ।

भनाइको तात्पर्य, राप्रपा नेपाल वा राप्रपाका तमाम असफलतामा यदि कमल थापा जिम्मेवार हुन् भने लिङ्देन र डा. धवल पनि त्यो असफलताको एउटा ठूलै अंशियार मानिनुहुनेछ । थापाले उपप्रधानमन्त्री पदमा पटक–पटक जाँदा पनि लिङ्देन र डा.धवल सहितको पार्टीको कार्य सम्पादन समितिको सहमतिमै गएका हुन् ।

अहिले यी यस्ता कुरामा बहस गरेर केही फाइदा छैन । मेरो विचारमा लिङ्देन र डा. धवल दुवै जना राप्रपाका जिम्मेवार, उम्दा र उदीयमान नेता हुन्, उहाँहरूलाई अध्यक्ष थापाले चार वर्षपछि पार्टीको जुन भारी बिसाउनुहुनेछ, त्यो भारी बोक्ने र राप्रपालाई देशको तेस्रो होइन, दोस्रो हुँदै पहिलो शक्तिशाली पार्टी बनाउने जिम्मा उहाँहरू दुई युवा टर्कको काँध माथि नै छ । अल्पकालीन साँघुरो परिधि भन्दा दीर्घकालीन खुला भविष्यतर्फ राप्रपालाई उन्मुख गराउने दायित्व लिङ्देन र डा.धवल माथि छ ।

यी कारणहरूले गर्दा, अध्यक्ष कमल थापाले अहिले फेरि वैचारिक तथा व्यवस्थापकीय रूपमा एकीकरण भएको एकढिक्का राप्रपाको नेतृत्व गर्ने आकांक्षा राख्नु स्वाभाविकै हो, यसलाई अन्यथा मान्नुहुँदैन । कम्तीमा पनि २०७२ को एकता महाधिवेशनबाट निर्धारित थापाको बाँकी रहेको अवधि ३ वर्ष ६ महीनासम्म भए पनि कमल थापालाई अध्यक्षका रूपमा सगोलको राप्रपाको नेतृत्व गर्न दिइनु न्यायोचित हुन्छ ।

तत्पश्चात् अर्को महाधिवेशन नहुञ्जेलसम्म बाँकी रहने करीब ६ महीना वा सोभन्दा केही समय बढीसम्म मा.राजेन्द्र लिङ्देनले पार्टी उपाध्यक्षको हैसियतमा कार्यवाहक अध्यक्ष भई राप्रपालाई महाधिवेशनसम्म हाँकेर २०८२ सालमा हुने महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुन सक्नुहुने भरपूर सुरक्षित अवसर प्राप्त हुनेछ ।

मलाई लाग्छ, अध्यक्ष थापा आफ्नो अबको अध्यक्षको कार्यकाल सकिन ६ महीनाअघि नै युवा नेता राजेन्द्र लिङ्देनलाई कार्यवाहक अध्यक्षता प्रदान गर्न पछि हट्नुहुने छैन । त्यसकारण मेरो विचारमा यस्तो सहज र सरल सेफल्याण्डिङ्गको बाटो उपयोग गर्न छोडेर अहिले मा.लिङ्देनले सफलताको ग्यारेन्टी नभएको प्रतिस्पर्धाको विकट बाटो रोज्नु गलत हुनेछ ।

अहिले राप्रपा अध्यक्षको निर्वाचन सर्वसम्मतिबाट सम्पन्न गर्न र राप्रपामा सहमतिको नवीनतम आधारशिला खडा गर्न राजेन्द्र लिङ्देन र डा. धवलशमशेर जबरालाई अवसर आएको छ । यसले राप्रपा फेरि पनि फुट्ने वा टुक्रिने संभावनाको पनि स्वतः अन्त्य गर्नेछ ।

अन्तरिम पार्टीका अध्यक्षत्रय पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाको पनि यस प्रस्तावप्रति म ध्यानाकृष्ट गराउन चाहन्छु । दिगो राप्रपाको जग यही एकता महाधिवेशनले हाल्ने नै छ ।

(आचार्य राप्रपाका नेता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?