+
+

प्रदेश २ मा क्षेत्रीय अधिवेशन नै बाँकी, प्रदेश अधिवेशन अन्योलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते २०:०५

१६ मंसिर, जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशन बिहीबारदेखि जनकपुरधाममा सुरु भएको छ । अधिवेशन सुरु भए पनि निर्वाचन प्रक्रिया अनिश्चित छ ।

प्रदेशका केही जिल्लामा क्षेत्रीय अधिवेशनसमेत हुन नसकेकाले निर्वाचन प्रक्रिया अनिश्चित बन्ने देखिएको छ । अधिवेशन आयोजक प्रदेश समितिका संयोजक रमेश रिजालले शुक्रबारसम्म जिल्लाहरुमा क्षेत्रीय अधिवेशन भइसक्ने जानकारी पाएको बताए ।

शुक्रबार जिल्लाहरुमा क्षेत्रीय अधिवेशन भए शनिबारदेखि निर्वाचन प्रक्रिया सुरु गर्ने उनले बताए । शनिबार मतदाता नामावली प्रकाशन, त्यसमाथिको दावी विरोध, उम्मेदवारी दर्ता र त्यसमाथिको दावी बिरोधका कार्यक्रम निर्धारण गरिएको रिजालले बताए ।

त्यसपछि आइतबार निर्वाचन गराइने उनले बताए । ‘भोलि शुक्रबारसम्म बाँकी रहेका जिल्लामा क्षेत्रीय अधिवेशन हुनेमा विश्वस्त छु’ उनले भने, ‘यदि हुन सकेन भने त्यस अनुसारको प्रक्रिया अगाडि बढाउँछौं ।’

प्रदेश सभापतिमा ४ जनाको आकांक्षा

पहिलो पटक हुन गइरहेको कांग्रेसको प्रादेशिक अधिवेशनमा नेतृत्वका लागि संस्थापन र संस्थापन इतरका एक भन्दा बढी नेताले आकांक्षा देखाएका छन् ।

सप्तरीका सभापति दिनेश यादव, धनुषाका पूर्वसभापति रामसरोज यादव, महोत्तरीका महेन्द्र राय र रौतहटका कृष्णा यादवले प्रदेश समितिको सभापतिमा आकांक्षा राखेका छन् ।

धनुषाका पूर्वसभापति रामसरोज प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री समेत हुन् । उनी यसअघि जिल्ला विकास समितिको सभापति र संविधानसभा सदस्य पनि भइसकेका छन् ।

सप्तरीका सभापति यादव पनि जिल्ला विकास समितिका सभापति भइसकेका छन् । उनी अहिले दोस्रो पटक जिल्लाको सभापतिमा छन् ।

महोत्तरीका सभापति महेन्द्र राय चार पटक जिल्ला सभापति भइसकेका नेता हुन् । उनी २०५६ सालमा महोत्तरी क्षेत्र नम्बर ४ बाट सांसदमा निर्वाचित हुँदा उद्योग, वाणिज्य तथा आपूर्ति सहायक मन्त्री पनि बनेका थिए ।

रौतहटका कृष्णा यादव पनि दोस्रो पटक सभापति भइसकेका व्यक्ति हुन् । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनको समयमा उनी संविधानसभा सदस्य थिए ।

प्रदेश अध्यक्षका लागि आकांक्षी देखिएका यी चारै जना पार्टी सभापति देउवा पक्षका हुन् । प्रदेश मन्त्री रामसरोज र सप्तरी सभापति दिनेश यादव देउवा पक्षका भएपनि उपसभापति विमलेन्द्र निधि निकट मानिन्छन् ।

बिहीबार शुरु भएको अधिवेशनको पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमले उद्घाटन गरे । यसपछि पार्टी उपसभापति विमलेन्द्र निधिको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?