+
+

हस्तकलाले धानेको जीवन

सम्झना विक सम्झना विक
२०७८ मंसिर १७ गते १७:५१

१७ मंसिर, काठमाडौं । चन्द्रबहादुर खत्रीको जन्म आजभन्दा ३५ वर्षअघि दोलखाको जिरीमा भएको हो । घरमा छोरा जन्मँदा सबैमा हर्ष छाएको थियो । तर, त्यो खुशी धेरै समय रहन पाएन । एकातिर उनी जन्मँदै सबलाङ्ग थिएनन् भने उनको परिवारलाई गरिबीले गाँजिरहेको थियो ।

दुर्गम बस्तीको अभावले ग्रसित परिवारमा हुर्किए उनी । जीवन निर्वाहका लागि परिवारका सदस्यहरु सधैं कामको चटारोमा हुन्थे । उनले गाउँकै विद्यालयमा जसोतसो घस्रिंदै पुगेर ६ कक्षासम्म पढे । आफ्नो अवस्था देखेर उनी आफैंलाई दिक्क लाग्थ्यो ।

बाबा–आमाका अरु सन्तान ठमठम हिंडेको देख्दा उनलाई लाग्थ्यो, म पनि यसरी हिंड्न सके ! तर जब उनी आफ्नो शरीर नियाल्थिन्, भक्कानो फुटेर आउँथ्यो ।

समयले धेरै कुरा सिकाउँदै गयो । उनले परिवर्तन गर्न नसकिने यथार्थलाई विस्तारै स्वीकार्न थाले । र, मनमनै प्रतिवद्धताको बलियो मुट्ठी कस्न शुरु गरे– ‘म पनि केही गर्न सक्छु । म केही गरेरै छाड्छु । मेरो शारीरिक अशक्तताले मेरो सपनालाई विपना बनाउन रोक्न सक्दैन ।’

भगवान हो वा प्रकृतिको लीला, केही न केही कारणलाई देखाउँदै उनी आफूलाई विशेष सिर्जनाको रुपमा परिभाषित गर्न थाले । सोही विश्वासलाई बलियो बनाउन थाले । उमेर १४ वर्ष टेकेपछि उनी आफ्नो भविष्य बनाउन सपनाको शहर काठमाडौं छिरे । अनेकौं हण्डर, ठक्कर खाए । उनी आफन्तको आश्रय लिएर आत्मनिर्भर हुनका लागि संघर्ष गर्न थाले । चुनौतीका पहाडहरु उभिए, तर उनले हरेस खाएनन् ।

उनी अपाङ्गता भएका व्यक्तिलाई तालिम दिने संस्थाको खोजीमा निस्के । हस्तकलाको तालिम लिने अवसर पाए । सीपलाई आफूमा मात्रै सीमित राख्नु हुँदैन भन्ने लाग्यो उनलाई । अनेकौं प्रयासपछि २०७० सालमा  काठमाडौंको पैंयुटारमा अपाङ्ग सेवा केन्द्र खोले । जग्गा थिएन, भवन थिएन । केही नभएपनि कोही थियो उनको सपनालाई हुर्काउने । जीवनसंगिनी लक्ष्मी खत्रीले चन्द्रलाई निरन्तर सहारा र हौसला दिइरहिन् ।

शारीरिक रुपले सपाङ्ग लक्ष्मी र चन्द्रको हस्तकला तालिमको क्रममा भेट भएको थियो । श्रीमतीको साथले उनलाई बलियो बनायो । ‘संस्था स्थापना गरेर मात्र भएन । त्यसको लागि धेरै कुराको आवश्यक पर्दोरहेछ,’ संघर्षका दिनहरु सम्झँदै उनी भन्छन्, ‘भगवानले तँ आँट म पुर्‍याउँछु भने जस्तै मैले आँटे र मलाई पुर्‍याउने मान्छे पनि आए । भूकम्पपछि लायन्स क्लब र आयुसिउ नेपालले मलाई जग्गा भाडा मिलाइलिए । संस्था राख्नको लागि घर पनि बनाएर दिए ।’

चन्द्रले स्थापना गरेको संस्थामा हाल २२ जना बस्ने गर्छन् । विभिन्न जिल्लाका अपाङ्गगता भएका व्यक्ति मिलेर अहिले परिवार बनेको छ ।

३६ वर्षीय गोरे तामाङ केन्द्रमा बस्न थालेको झन्डै ७ वर्ष हुन लाग्यो । उनी हस्तकलाको सामान बनाउनुका साथै २२ जनालाई खाना बनाएर खुवाउने भान्से पनि हुन् । आफूलाई खाना बनाउन एकदमै मनपर्ने बताउँछन् उनी । हेटौंडाका एक तामाङ आफन्तको सहयोगमा उनी अपाङ्ग सेवा केन्द्रमा आएका थिए ।

केन्द्रमा पैसा राख्ने पर्स, चाबीमा भुण्ड्याउने रिङ, गुडिया, जुत्ता लगायतका सामान बन्छन् । मूलपानीबाट रङ्गीबिरंगी ऊन ल्याएर सामान बनाउने ३१ वर्षीया अनिता लिम्बु केन्द्रकी महासचिव पनि हुन् । उनी सपाङ्ग छिन् । उनलाई बाल्यकालदेखि नै हस्तकलामा रूचि थियो । केन्द्र नजिकै उनको डेरा थियो । उनलाई सिप सिक्ने इच्छाले केन्द्रसम्म ल्याइपुर्‍यायो ।

केन्द्रको सामान रत्नपार्क र स्वयम्भूको फुटपाथमा बेच्न चार जनाको समूह छ । १८ जना केन्द्रमै बसेर सामान तयार गर्दछन् । ‘घरेलु तथा साना उद्योगले गर्ने प्रदर्शनीमा चन्द्र दाइसँगै म पनि जान्छु, अरु साथी पनि जान्छन्,’ लिम्बु भन्छिन्, ‘त्यसबाट केही आम्दानी हुन्थ्यो । कोरोना महाव्याधिपछि प्रर्दशनीहरू बन्द छन् । अन्य संस्थाले पनि गरेका छैनन् । केन्द्रको खर्च फुटपाथ पसलबाट धानिएको छ ।’

सहयोगी मन हुनेहरूले आफ्नो जन्मदिनमा सहयोग गर्छन् । कसैले मुट्ठी दान गर्छन् । यस्तै सहयोगबाट केन्द्र चलेको बताउँछन् केन्द्रका अध्यक्ष चन्द्र खत्री । रुकुम, सिन्धुपाल्चोक, पाँचथर, नुवाकोट लगायतका जिल्लाका धेरै अपाङ्गता भएकाहरुलाई काम सिकाएको उनी बताउँछन् । ‘हामी अपाङ्गता भएकाहरुको कम्मरमुनिको भाग चल्दैन तर हाम्रो हात र दिमाग त चल्छ नि,’ उनी भन्छन्, ‘हामी पनि सपाङ्गले जस्तै गर्न सक्छौं ।’

मान्छेको चाहना पनि असीमित हुन्छ । काठमाडौं प्रवेश गर्दा उनलाई जीवन निर्वाहको दुःख थियो । अहिले उनले आफू बाँचेर अरुलाई बचाइरहेका छन् । उनको सपना यत्तिकैमा निदाउँदैन । उनको चाहना छ– अपाङ्गता भएका व्यक्ति अझै दुर्गम क्षेत्रका सबैले सिप सिकौं । आफ्नो खर्च आफैं जुटाउँ । परिवारको बोझ बनेर नबसौं ।

चन्द्र आफ्नो चाहनाको व्यावहारिक रुपान्तरणका लागि काम पनि गरिरहेका छन् । अहिले केन्द्रबाट सयौं अपाङ्गहरुले मैनबत्ती बनाउने तालिम, डल्ले साबुन र गुडिया तालिम दिएको उनी बताउँछन् ।

मातातीर्थकी पूजा परियार अनाथ हुन् । उनी जन्मँदै अपाङ्गता भएर जन्मिइन् । आफू कति वर्ष भएको थाहा नै नभएकी उनी केन्द्रमा आएपछि नयाँ संसार पाएको बताउँछिन् । ‘खाना बस्न आनन्द छ,  सुरक्षित छ, काम गर्न पाएको छु,’ उनी भन्छिन्, ‘चार वर्ष अघि नर्कमा थिएँ । अहिले स्वर्गमा बसेजस्तै भएको छ ।’

उनी हस्तकलामा काम गर्नुका साथै केन्द्रको घर सफा गर्ने काम पनि गर्छिन् । ह्विलचेयरमा बसेर उनी घरआँगन भान्सामा कुचो लगाउँछिन् ।

उदयपुरका विकास कार्की केन्द्रमा आएको ६ महिना भयो । शुरुमा ऊन काट्ने, डिजाइन बनाउने र सिलाउने काम सिक्न उनलाई तीन महिना लाग्यो । अब उनी यी काम सजिलै गर्न सक्छन् ।

मोटरसाइकल दुर्घटनामा परेर उनमा अपाङ्गता भएको चार वर्ष भयो । अहिले ह्विलचेयर उनको साथी बनेको छ । उनी उदयपुरमा घरमै बसी रहन्थे । हिंड्न नसक्दा उनलाई विरक्त लाग्थ्यो । ‘म पहिलाको जिन्दगी सम्झेर रुन्थें, मलाई मानसिक तनाव धेरै हुन्थ्यो,’ उनी भन्छन्, ‘आफन्तको सहयोगमा यहाँ आएँ । अहिले म खुशी छु । मैले आफ्नो जिउने सहारा पाएको छु ।’

केन्द्रले वर्षको ३० हजार जग्गाको भाडा तिर्नुपर्छ भने परिवारको खर्च महिनाको ६० देखि ७० हजारसम्म हुने बताउँछन् केन्द्रका अध्यक्ष चन्द्र खत्री । आम्दानी कम छ तर स्वाभिमानी भएर जिउँदा मज्जा नै बेग्लै हुने बताउँछन् चन्द्र । ‘परिवार र समाजको अपहेलनामा बस्नु पर्दैन । फरक भूगोल, भाषा र जातका छौं,’ उनी भन्छन्, ‘मिलेर श्रम गर्छौं, बाँडेर खान्छौं, सहयोगी व्यक्तिहरु आउँछन् । काठमाडौंको महङ्गीमा बाँच्न सकिरहेका छौं ।’

अहिलेसम्म न त राज्यले न कुनै गैरनाफामूलक संस्थाले केन्द्रलाई सघाएको छ । राज्यले अपाङ्गता भएका नागरिकलाई उपेक्षा गरेको उनको दुःखेसो छ । कुराकानीको बिट मार्दै उनी भन्छन्, ‘हामी फरक क्षमता होइनौं, हामीसँग पनि सपाङ्ग जत्तिकै क्षमता छ । हामी पनि अरुजस्तै यही देशका नागरिक हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?