+
+

अन्तर्राष्ट्रिय युवा उद्यमी महासंघ गठन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १८ गते १४:०५

१८ मंसिर, काठमाडौं । नेपाली उत्पादन, सीप र क्षमतालाई विश्वबजारमा पहुँच अभिवृद्धि गर्ने र युवालाई रोजगारी सिर्जना गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ स्थापना गरिएको छ ।

विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा उद्यमीलाई समेटेर स्थापना गरिएको महासंघले नेपाली उत्पादनको विदेशमा प्रदर्शनी, बजारीकरणलगायत विषयमा सहजीकरण गर्ने र बढीभन्दा बढी युवालाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ ।

उक्त संस्थाको शनिबार राति पूर्वराष्ट्रपति डा. रामवरण यादवले उद्घघाटन गर्दै विदेशी ज्ञान, सीप र प्रविधि भित्र्याएर युवा उद्यमशीलता विकासमा संस्थाले सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।“ जन्मभूमिलाई कसरी आर्थिक रुपमा समृद्धि बनाउने भन्ने तपाईं युवाहरुमा सपना र भिजन रहेको छ, त्यसलाई साकार बनाउन उचित वातावरण बनाउन सरोकारवालाले सहयोग गर्न जरुरी छ”, उनले भने ।

पूर्वराष्ट्रपति यादवले नेपाल अनुपम प्राकृतिक सुन्दरता र भौगोलिक विविधतायुक्त मुलुक विश्व पर्यटनका लागि आकर्षक गन्तव्य रहेको भन्दै देश घुम्ने र विश्वभरबाट पर्यटक नेपालमा भित्र्याउन पनि संस्थाले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

तराईको जंगल र चुरे क्षेत्र विनास भईरहेको र विकासका नाममा डोजर लगाएर डाँडाकाँडा भत्काइएकोप्रति चिन्ता व्यक्त गर्दै जलवायुपरिवर्तनको जोखिम नियन्त्रणका लागि पर्यावरण र चुरे क्षेत्रको संरक्षणमा विशेष ध्यान दिनुपर्ने खाँचो औंल्याए ।

पूर्वराष्ट्रपति यादवले मुलुकको राजनीति स्थिरताका लागि ७० वर्ष भन्दा बढी संघर्ष गरेर अहिलेको अवस्थामा आइपुगेको भएपनि अझै पनि देशको राजनीतिक अवस्था नसुध्रिएको र सुशासन प्रवर्द्धन हुन नसक्नु चिन्ताको विषय भएको टिप्पणी गरे ।

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कला र संस्कृति बनाउन संस्थागत लगानी आवश्यक रहेको भन्दै नेपाली चलचित्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोगले विश्व बजारमा प्रतिस्पर्धी बनाउन चलचित्र क्षेत्र लागि परेको बताए ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले विदेशी युवा उद्यमीको माध्यमबाट लगानी र प्रविधि भित्र्याएर आर्थिक विकासमा सरिक गराइनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपनिर्देशक गोकर्णराज अवस्थी, शिक्षा उद्यमी दिराज शर्मा, पर्यटन व्यवसायी सुमान पान्डे लगायतले नेपालमा विदेशी लगानी भित्र्याउन महासंघले समन्वयकारी भूमिका खेल्नुपर्ने धारणा राखे ।

कार्यक्रममा संघका महासचिव समीर अनबरले देश तथा विदेशमा रहेका उत्साही र जांगरिला सीप जानेका यूबाहरूलाई महासंघमा जोडिन आग्रह गरे ।

महासंघका अध्यक्ष स्वतन्त्रप्रताप शाहले चीन, हंगकंग, अमेरिका, बेलायत अष्ट्रेलियालगायत ११ मुलुकका युवा उद्यमीलाई समेटिएको र अन्य मुलुकका युवा उद्यमीलाई पनि संस्थामा आवद्धता गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?