+
+
अग्रपथ :

पृथ्वीनारायण शाहले ‘मगरातको राजा मै हुँ’ भन्नुको अर्थ 

मगरात स्वयम् पृथ्वीनारायण शाहबाट स्वीकार गरिएको र गौरव गरिएको एक राष्ट्रियता थियो । पाल्पा, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, म्याग्दी, पूर्वी रुकुम, पश्चिम बाग्लुङ लगायतका क्षेत्रहरू समेटेर एक ‘मगरात प्रदेश’ सृजना गर्नु र त्यसको राजधानी तानसेन वा तम्घासमा राख्नु संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बाँकी कार्यभारमध्ये एक हो ।

डम्बर खतिवडा डम्बर खतिवडा
२०७८ मंसिर १९ गते १२:२५

‘किरात’, ‘मगरात’, ‘खस’ जस्ता नेपालका ‘ऐतिहासिक राष्ट्रियता’ बुझाउने शब्दलाई हिजोआज ‘जातीय’ भन्ने/ठान्नेहरूको कुनै कमी हुँदैन । विशेषतः शाह राजवंशमा आस्था राख्ने राजतन्त्रवादी र ‘पहिचान आधारित संघवाद’ अस्वीकार गर्ने कांग्रेस/कम्युनिष्ट यसो भन्न बढी रुचाउँछन् । तर, यस्ता शब्द हाम्रो इतिहास र संस्कृतिमा यसरी गडेर बसेका छन्, जसलाई कसैले बेवास्ता गर्न सक्दैन ।

गज्जब रमाइलो कुरा त के छ भने– स्वयम् पृथ्वीनारायण शाहले यस्ता शब्द प्रयोग गर्थे । इतिहास शिरोमणि बाबुराम आचार्य र योगी नरहरिनाथको सम्पादनमा ‘पृथ्वीनारायण शाहको दिव्योपदेश’ नाम दिइएको पुस्तिकामा शाह आफैंले कतै ‘नौलखा किरात’, कतै ‘पूर्व र पश्चिमका षसबाहुनलाई दरबारमा पैठ गर्न नदिनू’, कतै ‘मगरातको राजा मै हुँ’ भनेको पाइन्छ ।

बाबुराम आचार्य र योगी नरहरिनाथले ‘दिव्योपदेश’ सम्पादन गर्ने क्रममा लेखेको सम्पादकीय भूमिका र पाद टिप्पणीमा समेत यस्ता शब्द सकारात्मक अर्थमा प्रयुक्त छन् । उनीहरूले ‘ओल्लो किरात’ ‘किरात प्रदेश’, ‘खुम्बु क्षेत्र’, ‘पल्लो किरात लिम्बुवान’ जस्ता संज्ञा सहज र स्वाभाविक भावमा लेखेका थिए । धेरैअघिको कुरा हैन, ‘दिव्योपदेश’ को सम्पादन २००९ सालमा भएको मानिन्छ ।

मगरात स्वयम् पृथ्वीनारायण शाहबाट स्वीकार गरिएको र गौरव गरिएको एक राष्ट्रियता थियो । पृथ्वीनारायण शाहले दिव्योपदेशमा ‘मगरातको राजा मै हुँ’ भन्नुको अर्थ हरेक पुस्तामा सजिलै बुझिनेछ । त्यो क्षेत्रको सन्तुलित क्षेत्रीय तथा आर्थिक विकासमा पनि ठूलो योगदान हुनेछ ।

जस्तै, ‘यति बेला पल्लो किराँत लिम्बुवान विजयपुर राज्यभित्र थियो र विजयपुरका राजा पृथ्वीनारायण शाहका भाइ (फुपूका छोरा) कामदत्त सेन थिए ।’ ‘… किरात प्रदेशका खुम्बु युवाहरू धनुकाँड चलाउन सिद्धहस्त रहँदै आएका थिए’ आदि ।

‘दिव्योपदेश’ मा एउटा अनुच्छेद छ– ‘नेपालको किताप हेर्दा तुर्काना, मंग्रात, मुग्लाना हुन्या रहेछ, तुरकाना अघि भै गयेछ । मगरातको राजा मै हुँ । मुग्लानाको दोष मेट्नलाई आधा थुम मेटी कम्पनी जमायाको हो, आधा षुडा आधा पत्थरकला बनाएको हो ।’

‘मगरातको राजा मै हुँ’ पृथ्वीनारायण शाहको एक ऐतिहासिक स्वीकारोक्ति थियो, जसलाई हिजोआज धेरैले चर्चा गर्न चाहँदैनन् । शाहले यो वाक्य कुनै हीनता र हिचकिचाहटमा हैन, सहज र सगौरव भावमा अभिव्यक्त गरेको पाइन्छ ।

पृथ्वीनारायण शाहले यसरी सगौरव ‘मगरातको राजा मै हुँ’ किन भन्या होला ? इतिहास शिरोमणि बाबुराम आचार्य र योगी नरहरिनाथको अर्थपद्धतिमा आधारित भई केही ऐतिहासिक सन्दर्भ केलाउने प्रयत्न गरेको छु ।

‘नेपालको किताप’ भनेर शाहले कुन किताबलाई भनेका हुन स्वयं आचार्य र नरहरिनाथले पनि यकिन भन्न सकेका छैनन् । तर, यो वाक्यमा ‘नेपाल’ भनेको गोर्खा राजाको आँखाबाट भनिएको ‘नेपाल’ अर्थात् ‘कान्तिपुर, ललितपुर र भक्तपुर’ मात्र हो, अहिलेको सिङ्गो नेपाल हैन । तिनताका राजवंशावलीको प्रचलन थियो । शाहले कुनै राजवंशावली पढे होलान्, या कसैले पढेर सुनाए होलान्, त्यसमा के अनुमान थियो होला भने नेपालमाथि यदि कहींबाट जोखिम छ भने ‘तुर्काना, मंग्रात र मुग्लाना’ को आक्रमणको जोखिम छ ।

तुर्काना (तुर्क मूलको शासक), मुग्लाना (मुगल वंशको शासक) र मंग्रात (मगरात क्षेत्रको शासक) ले कुनै दिन नेपाल (काठमाडौंका तीन शहर राज्य) आक्रमण गरी नेपाललाई निल्न सक्नेछन् भन्ने भय वा राजनीतिक विश्लेषण शाहको आक्रमण र विजय अगाडि नै कान्तिपुर, ललितपुर र भक्तपुर राज्यमा रहेछ । यहाँका जनता, लेखक वा विश्लेषकले कुनै किताब वा वंशावलीमा त्यस्तो लेखेका रहेछन् ।

‘तुरकाना अघि भै गयेछ’ को अर्थ यी तिनमध्ये पहिलो आक्रमण तुर्कनाले गरिसक्यो भन्ने हो । ‘तुर्क’ शब्द तुर्कमेनिस्तानमा उत्पत्ति भएको हो । अझ यसो भनौं कि तुर्क जातिबाट तुर्कमेनिस्तान बन्यो र यो जाति संसारका विभिन्न भागमा फैलियो । तुर्क जाति र भाषा परिवारभित्र तुर्कमेनिस्तानी, टर्किस, कजाख, किर्किज, उइगुरी आदि पर्दछन् । ओटोमन साम्राज्यको युगमा यो जाति र समुदाय विश्वभरि फैलिएको थियो । मध्य एशिया, अफगानिस्तान र सिन्ध उपत्यका हुँदै भारततिर आएको थियो ।

मध्यकालीन बंगालका नवाफ समसुद्दिन इलियास शाह तुर्क मूलका थिए । उनले एक सैनिक टुकडी पठाई विक्रम संवत १४०६ को माघ महीनामा काठमाडौं उपत्यकामा व्यापक विध्वंस मच्चाएका थिए । यो आक्रमणको उद्देश्य नेपालको दक्षिण राज्य तिरहुत कब्जा गर्नु थियो, तिरहुत कब्जापछि उनीहरू काठमाडौं हेर्न आए, यहाँ उत्पात, लुटपाट मच्चाए । सुनचाँदी र रुपैयाँ पैसा लुटेर लगे । सात दिन बसी फर्किए । उनीहरूले स्वयंभूनाथ भत्काउनेदेखि पशुपतिनाथको मूर्ति काट्नेसम्मका उपद्रो गरेका थिए ।

‘तुरकाना अघि भै गयेछ’ भन्ने वाक्यमा पृथ्वीनारायण शाह आफूभन्दा करीब ३०० वर्ष अघिको यो घटना स्मरण गर्दछन् ।

शाहको ठहर थियो कि तुर्कनाको युग अघि नै सकियो । फेरि तिनीहरू नेपाल आक्रमण गर्न आउने छैनन् । शाहको ठहर झैं पुनश्च नेपालमा तुर्कना आक्रमण भएन पनि । मुग्लाना (भारतमा बाबरले स्थापना गरेको मुगल साम्राज्यको वंश) उत्तरतिर बढ्दै आउँदा नेपाल आक्रमण गर्न आउनसक्थ्यो । शाहले मुग्लानाको दोष मेट्नलाई आधा थुम मेटी कम्पनी जमायाको हो, आधा षुडा आधा पत्थरकला बनाएको हो भनी ‘मुग्लानाको दोष मेटिइसकेको’ अर्थ लगाएका छन् ।

मुग्लानाको आधा दोष कसरी मेटियो त ? त्यसको कारण ‘कासिम अली खाँ’ का सेनासँगको युद्ध हो भन्ने आचार्य र नरहरिनाथको ठहर छ । मिर कासिम अली खाँ सन् १७६० मा बंगालको नवाफ बनेका थिए । पलासी युद्धमा अंग्रेज सैनिकले बंगाल जितेर भारतभरि आफ्नो शक्ति बढाउँदै थियो । बंगाल नवाफ सिराजुद्दिनको पराजयका लागि उनकै सेनापति मरि कासिम जिम्मेवार थिए । कासिम अंग्रेज सेनासँग भित्रभित्रै मिलेका थिए । तर, मिर कासिमबाट इष्ट इन्डिया कम्पनीका अधिकारी सन्तुष्ट हुन सकेनन् । उनीहरूले मिर कासिमका पनि सेनापति कासिम अली खाँलाई बंगालको नवाफ बनाए ।

कासिम अलि खाँले बंगालको राजधानी मुर्सिदावादबाट बिहारको मुंगेरमा सारे । उनको सेनामा ग्रिगोरी नामको एक अर्मेनियन सैनिक अफिसर थियो, जसलाई मुस्लिम परम्परा अनुरूप ‘गुर्गिन खाँ’ नाम दिइएको थियो । कासिम अली खाँले आफ्नो सैनिक शक्तिलाई खुँडा र तलबारको युगबाट बन्दूकको युगमा पुनर्गठन गर्न ग्रिगोरीलाई अर्मेनियाबाट झिकाएका थिए ।

पृथ्वीनारायण शाहकी जेठी श्रीमती इन्द्रकुमारीका दाजु दिग्बन्धन सेनसँग शाहको विवाहको समयदेखि नै दाइजोको निहुँमा झगडा थियो । मकवानपुर गढीको पतनपछि दिग्बन्धन सेन हारगुहार गर्न भागेर मुंगेर पुगे । उनले कासिम अली खाँलाई गोर्खाली सेनामाथि आक्रमण गर्न उक्साए । गुर्गिन खाँको नेतृत्वमा आएको हजारौंको सेनालाई गोर्खाली सेनाले वि.सं. १८१९ को माघमा पराजित गरेको थियो । भनिन्छ– यो युद्धमा १७०० बंगाल सैनिक मारिएका थिए भने गोर्खाली सेनातिर ‘छबिसा खेत’ अर्थात् १२० जनाको मृत्यु भएको थियो ।

यही युद्धबाट शाहले पहिलोपटक पैसा विनै आधुनिक बन्दूक प्राप्त गरेका थिए, जसले दुई कम्पनी नयाँ बन्दूके सेना गोर्खा सेनाले थप्यो । अब गोर्खाली सेनाका कम्पनी बन्दूके कम्पनी र खुँडा तलबार बाला कम्पनी गरी दुई खाले भए । यसैलाई बुझाउन शाहले प्रतीकात्मक रूपमा ‘मुग्लानाको दोष मेट्नलाई आधा थुम मेटी कम्पनी जमायाको हो, आधा षुडा आधा पत्थरकला बनाएको हो’ भनेका थिए । मुग्लाना फेरि नेपाल आक्रमण गर्न आउँदैन भन्ने उनलाई विश्वास थियो, आएन पनि, बरु पछि अंग्रेजहरू आए, मुगल आएनन् । कासिम अली खाँ भने मुगल वंशका थिए भनिन्छ ।

अब फेरि मूल विषयमा आउँ– ‘मगरातको राजा मै हुँ’ भन्नुको कारण चाहिं के त ?

नेपालका तीन भयमध्ये तुर्काना र मुग्लाना दुवैको दोष मेटिइसकेको हुँदा अब तेस्रो विकल्प ‘मंग्रात’ को विकल्पलाई आफैंले अजमाउने शाहको बुझाइ थियो । उनी आफूलाई ‘मगरातको राजा’ ठान्थे । इतिहासको किताबमा तुर्काना, मुग्लाना र मग्रातमध्ये कसै न कसैले नेपाल जित्छ भन्ने पूर्व विश्लेषण गरेको हुँदा तुर्कना र मुग्लानाले न सकेको अब मंग्रातले नेपाल जित्ने सोच शाहको थियो । यथार्थमा ‘गोर्खा’ कोटको नाम थियो, राज्यको हैन, गोर्खा राज्यको ऐतिहासिक चरित्र भने ‘मगरात’ थियो । त्यो ‘मगरात राष्ट्र’ थियो, त्यो यथार्थलाई पृथ्वीनारायण शाह आफैंले स्वीकार गरेका थिए ।

पाल्पा, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, म्याग्दी, पूर्वी रुकुम, पश्चिम बाग्लुङ लगायतका क्षेत्रहरू समेटेर एक ‘मगरात प्रदेश’ सृजना गर्नु र त्यसको राजधानी तानसेन वा तम्घासमा राख्नु संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बाँकी कार्यभारमध्ये एक हो

‘गोर्खा’ शब्द ‘गोरक्षा’ बाट बनेको मानिन्छ, जसको सीधा सम्बन्ध ‘गोरखपुर’ सँग छ । गोरखपुरको नाथ एक धार्मिक समुदाय थियो, त्यहाँ ज्ञान र शिक्षादीक्षा पाइसकेका सन्त/संन्यासीहरू गुरुसँग विदा भएर दक्षिण एशियाका विभिन्न भागमा गोरक्षा मतको प्रचार गर्न छरिन्थे । तिनैमध्येको कुनै जोगी मगरातको एउटा डाँडोमा आएर कुटी बनाएर बस्यो र वरिपरिका गाउँमा गोरक्षा मतको प्रचार गर्न थाल्यो । उसलाई मानिसले ‘बाबा गोरखनाथ’ भन्न थाले । पछि त्यो डाँडोमा स्थानीय राज्यको कोट बन्यो र ‘गोर्खाकोट’ भन्न थालियो । शाहलाई आशीर्वाद दिने गोरखनाथ भनिएका त्यही नाथ सम्प्रदायका कुनै पुस्ताका एक जोगी थिए । अहिलेका भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ त्यही नाथ सम्प्रदायका हुन् । गोरखपुर शहरको नाम नै ‘गोरक्षा मठ’ बाट बनेको मानिन्छ ।

गोर्खाकोटमा ‘मगरात’ को स्थापना कहिले भएको थियो, त्यसको तिथिमिति प्राप्त गर्न गाह्रो छ । मगरातको पहिलो राजा अरमुन्डीलाई मानिन्छ, जो आठौं शताब्दीतिरका थिए । यसको अर्थ हुन्छ– मगरात क्षेत्रमा शाहवंशको उदयभन्दा कम्तीमा ७०० वर्ष पहिले नै ‘मगरात’ बनिसकेको थियो । रिडीलाई बीच मानी मगरातलाई पूर्व र पश्चिम छ्ट्याइन्थ्यो । रिडी पूर्वका राज्यहरूलाई ‘बाह्र मगरात’ र पश्चिमतिरका राज्यहरूलाई ‘अठार मगरात’ भनिन्थ्यो । पृथ्वीनारायण शाह आफूलाई ‘बाह्र मगरात’ का उत्तराधिकारी ठान्थे । त्यसैले उनले ‘मगरातको राजा मै हुँ’ तुर्कना र मुग्लानाले नेपाल जित्न सक्दैनन्/सकेनन्, अब नेपाल जित्ने पालो मेरो हो भन्ने मनोविज्ञान पालेका थिए ।

नेपालको मध्यपश्चिमी पहाडी क्षेत्रलाई मगरात किन भनिन्थ्यो ? यसको उत्तर खोज्न मगर जातिको इतिहास बुझ्न जरूरी हुन्छ । मगरजातिको उत्पत्ति र विकासबारे मुख्य पाँच वटा मत उपलब्ध छन् ।

पहिलो– इसाको चौथो शताब्दीतिर मध्य एशियाको युराल पवर्तमाला क्षेत्रमा एक मानव समुदायको झुन्ड देखियो । त्यसका दुई सरदार थिए– हुण र मग्यार । यसको एउटा हाँगो बोल्गाको किनार हुँदै पश्चिमतिर लाग्यो भने अर्को हाँगो तिब्बतको पठार हुँदै पूर्वतिर आयो । पश्चिमतिर लागेको हाँगोले हुण+ग्यार जोडेर ‘हंगेर’ हुँदै ‘हंगेरी राष्ट्रियता’ निर्माण गरे ।

पूर्व लागेको हाँगो तिब्बतको दक्षिण पूर्वी क्षेत्रमा पुग्यो, जहाँ उनीहरूले हुणभूमि, ‘हुनान’ प्रदेश बनाए, जो आज पनि चीनको एक प्रदेश छ । यिनै हुनानी हुँडहरूको एउटा हाँगो मुस्ताङको कोरोला पास हुँदै हिमालको दक्षिणतिर छिर्‍यो, तिनीहरू मूलतः मग्यार सरदारका सन्तान थिए, तसर्थ उनीहरूले हुणको मूल समुदायबाट छुट्टिएपछि आफूलाई ‘मग्यार’ वा ‘मगर’ भन्न थाले ।

मानवशास्त्रको इतिहासमा हुणहरूको नश्लको चर्चा यसरी गरिएको हुन्छ– ‘होचा वा मझौला कदका, बलिष्ठ शरीर भएका, साना आँखा र थेप्चो नाक भएका, पुरुषका गालामा पातलो दाह्री पलाउने, चौथो शताब्दीतिर युराल क्षेत्रमा पहिलोपटक पहिचान गरिएको मानव जाति ।’ यो वर्णन अहिले पनि मिल्दोजुल्दो नै छ ।

भाषाशास्त्री मौरिस स्वीडेसका अनुसार अहिलेको हंगेरियन र नेपालको मगर भाषाका २० प्रतिशत शब्द समान हुन्छन् । हंगेरियन भाषालाई स्थानीय बोलीचालीमा ‘मग्यार भाषा’ भनिन्छ, हंगेरीलाई त्यहाँका मग्यार जातिका मानिसले ‘मग्यारिस्तान’ भन्ने गर्दछन् रे ! यदि यो तर्क प्रणालीमा विश्वास गर्ने हो भने युरालबाट हुनान हुँदै, मुस्ताङबाट नेपाल छिरेको ‘मग्यारिस्तान’ शब्द नै ‘मगरात’ हो । यी घटनाक्रम चौथोदेखि सातौं शताब्दीका करीब साढे तीन सय वर्षका थिए । आठौं शताब्दीतिर यी जातिले मध्य नेपालमा ‘मगरात राज्य’ स्थापना गरेका थिए, जसलाई ‘बाह्र मगरात’ र ‘अठार मगरात’ भनिन्थ्यो ।

दोस्रो मत अनुसार भने मगर जाति मध्यएशियाली हुड वा हुनानी जाति नभएर तिब्बतको पूर्वीदक्षिण प्रदेश ‘खाम प्रदेश’ का बासिन्दा थिए । उनीहरू मुस्ताङको तल्लो भागतिर आएपछि मगर भनिन थालिए । ‘खाम प्रदेश’ को सम्झना स्वरूप मगरले आफ्नो भाषालाई ‘खाम भाषा’ भनेका हुन्, यो भाषा भोट–बर्मेली भाषा परिवारभित्रकै हो ।

तेस्रो मत अनुसार मगरहरू नेपाल उपत्यकामा किराँत वंशको स्थापना गर्ने राजा यलम्बरका १० भाइ छोरामध्ये कान्छा छोरा ‘माङपागर’ का सन्तान हुन् । ‘माङपागर’ शब्द नै अन्ततः मगर भएको हो ।

चौथो मत अनुसार– मगर जातिको उत्पत्ति दक्षिणी सिक्किमको ‘काङवाचन’ उपत्यकामा भएको हो । यो उपत्यकामा एउटा सानो मगर राज्य थियो, जसलाई ‘मगरजुङ’ भनिन्थ्यो । तर, भुटियाहरूले यो राज्यका राजाको हत्या गरे । बदलामा रानीले भुटियाहरूलाई पानीमा विष खालेर पिलाइन् र करीब १००० भुटियाहरूको मृत्यु भयो । त्यो ठाउँलाई त्यसपछि ‘तोङ सोङ फोङ’ (हज्जार मारिएको ठाउँ) भन्न थालियो ।

‘काङवाचन’ को ‘मगरजुङ’ लाई आक्रमण गर्न भुटियाहरूले तिब्बती राजाको सहयोग लिए । मगरहरू पराजित भएर भागे । भाग्दा उनीहरू पूर्वी नेपालको ताप्लेजुङ, सोलु, ओखलढुंगा, उदयपुर, सिन्धुली, सिम्रौनगढ हुँदै उत्तरी नवलपरासीको बाटो हुँदै कालीगण्डकी क्षेत्रतिर गए । सोलु, ओखलढुंगा, उदयपुर, सिन्धुलीका विभिन्न गाउँमा अहिले पनि मगरहरूको बाक्लो बस्ती हुनुको कारण यो बसाइसराइका क्रममा विभिन्न ठाउँमा मगरहरू छुट्दै र त्यहीं बस्दै जानु हो । मूल हाँगो भने अर्घाखाँची र पाल्पातिर लागेको थियो । सिक्किममा अहिले पनि यो किंवदन्ती प्रचलित छ भनिन्छ ।

पाँचौं मत अनुसार–मगरात क्षेत्रमा मगरहरू कतैबाट आएका हैनन्, यो यही उत्पत्ति भएको मानव हाँगो हो । रुकुम हुकाम मैकोटको एक गुफाबाट यो जाति फैलिएको थियो । गुफामा पहिलोपटक दुई झाँक्री देखिएका थिए । तिनै झाँक्रीका सन्तान फैलिंदै गएर मगर जातिको विस्तार भएको हो ।

यी मतमध्ये कुन सही हो, दाबी गर्न सकिन्न, त्यो काम इतिहासकार तथा मानवशास्त्रीहरूको जिम्मा छोडिदिऊँ । तर, यी सबै घटनाको तिथिमितिको अनुमान भने मिल्दोजुल्दो छ । इसाको चौथोदेखि आठौं शताब्दी बीच यी घटना भएका थिए । जसको सीधा अर्थ हुन्छ मगरात क्षेत्रमा खस, बाहुन र राजपूतहरू पुग्नुभन्दा कम्तीमा ४०० वर्षअघि नै मगर सभ्यता स्थापित भइसकेको थियो । तिब्बतको बोन धर्मावलम्बीहरूको एक अर्को हाँगो त्यो क्षेत्रमा फैलिंदै गयो, जसलाई तमु र घले भनिन्थ्यो । मगर राज्यलाई भुरे र तमु–घले राज्यहरूलाई टाकुरे राज्य भन्न थालियो । किनकि तमु–घले राज्यहरू मगर राज्यभन्दा साना र अधीनस्थ हुन्थे ।

‘शाहवंश’ भारतमा मुसलमानहरू शक्तिशाली हुँदै गएपछि भागेर पहाडतिर पसेका चित्यौडका राजपूतहरू थिए भन्ने कुरामा कुनै शंका छैन । शाहहरूको एउटा परिवार पहिलो पटक रिडी आइपुगेको थियो, जो मगरातको मध्यक्षेत्र थियो । यहाँ आएर उनीहरू षस, मगर र ठकुरीसँग घुलमिल हुँदै गए । कुलमण्डन शाहले कास्की राज्य हत्याएपछि शाहवंश शुरू भयो । कस्कीपछि लमजुङमा शाह राजा बने । वि.सं. १६१६ को भाद्रतिर लमजुङका राजकुमार द्रव्य शाहले गोर्खाको मगर राज्य हत्याएपछि मगरात क्षेत्रमा शाहहरू झनै शक्तिशाली हुँदै गए ।

लिगलिग कोटको दौड यथार्थमा किंवदन्ती मात्र थियो । द्रव्य शाहले आफ्नै तलबारले मगर राजा मानसिंह खड्का मगरलाई काटेका थिए । गोर्खाकोटको ती खड्का मगरहरू त्यसपछि धादिङ र नुवाकोटतिर भागे । नुवाकोटको सामरीभन्ज्याङ इलाकामा अहिले पनि ‘खड्का थरका मगर’ हरूको बस्ती बाक्लै छ । द्रव्य शाहको वंशमा पछि पृथ्वीनारायण शाह जन्मिएका थिए । गोर्खाकोटको पतन मगरातको पतनको एक महत्वपूर्ण ऐतिहासिक कडी बन्न पुग्यो ।

पृथ्वीनारायण शाहलाई इतिहासका यी घटनाक्रम र कडी ज्ञान थियो होला । त्यसैले उनले आफूलाई ‘मगरातको राजा मै हुँ’ भने । गोर्खा सेनाका चार सेनामध्ये एक मगर सेना हुने प्रचलन बनाए ।

पृथ्वीनारायण शाहले आफूलाई ‘मगरातको राजा मै हुँ’ किन भने भन्ने प्रश्नमा बाबुराम आचार्य र योगी नरहरिनाथको व्याख्या यस्तो छ– ‘मगर जातिको आवादी व्यापक रूपमा फैलिरहेकाले चौबिसे राज्यका भूभागहरू यिनताका मगरातका नामले प्रसिद्ध गरेका थिए । गोर्खा राज्यमा पनि मगर जातिका आवादीहरू बाक्लैसँग फैलिएर रहेकाले यस राज्यका नागरिकले आफूलाई मगरातभित्रका नै सम्झिंदै आइरहेका थिए । यही कारणले गर्दा यहाँ श्री ५ पृथ्वीनारायण शाहबाट ‘मगरातको राजा मै हुँ’ भन्ने उद्गार व्यक्त भएको पाइन्छ ।’

यसबाट प्रष्ट हुन्छ कि मगरात स्वयम् पृथ्वीनारायण शाहबाट स्वीकार गरिएको र गौरव गरिएको एक राष्ट्रियता थियो । ‘गोर्खाली’ र ‘नेपाली’ हुनुभन्दा अघि शाहहरू स्वयं ‘मग्राती’ भएका थिए । शाहहरू पुरुष वंश परम्पराले ‘चित्यौडका राजपूत’ भए पनि ‘सेन’ र स्थानीय मगर राजकुमारीहरूसँग बाक्लो बिहेबारी हुन्थ्यो । पृथ्वीनारायण शाहले भारतबाट डोला झिकाई नरेन्द्रलक्ष्मीसँग बिहे गर्नु अघि केही पुस्ता शाह राजाहरूको बिहेवारी मगर राजकुमारीहरूसँग भएको थियो । सेनाहरू पनि पुरुष वंशले राजपूत भए पनि मातृवंशले मगर नै थिए । पृथ्वीनारायण शाहकी आमा कौशल्यावती स्वयं सेन राजकुमारी थिइन् ।

यी तथ्यहरूले पुष्टि गर्दछन् कि मगरात कुनै जातीयता हैन, एक ‘ऐतिहासिक राष्ट्रियता’ हो । ‘ऐतिहासिक राष्ट्रियता’ लाई आधुनिक संघीय राज्यमा राजनीतिक मान्यता दिनु संघीय शासन प्रणालीको मूल सिद्धान्तमध्ये एक हो । स्वयं पृथ्वीनारायण शाहले स्वीकार गरेको मगरात क्षेत्रमा संघीय नेपालको एक भिन्नै प्रदेश बन्न नदिएर गणतन्त्र नेपालले त्यो क्षेत्रप्रतिको ऐतिहासिक उत्पीडन र विभेद कायमै राखेको छ, जो संघीय लोकतान्त्रिक गणतन्त्रका लागि लज्जाको विषय हो ।

जस्तो कि अमेरिका १३ ऐतिहासिक राज्यहरूको संघ थियो । त्यसमा अन्य राज्यहरू थपिंदै गए । जुन राज्यहरू अमेरिकी संघमा थपिंदै गए, तिनीहरूको ऐतिहासिकता स्वीकार गरियो र अमेरिका ५० राज्यको संघ बन्यो । जुन प्रदेशबाट नेपालको भौगोलिक एकीकरण शुरुआत भएको थियो, ‘संघीय नेपाल’ मा त्यही ‘ऐतिहासिक राष्ट्रियता’ ले प्रदेशको मान्यता नपाउनु आफैंमा एक विसंगति हो । यसरी ‘संयुक्त राज्य नेपाल’ बन्न सक्दैन । त्यो क्षेत्रको भाषिक, सांस्कृतिक सम्पदाको रक्षा, आर्थिक विकास र समृद्धि पनि हुन सक्दैन ।

पाल्पा, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, म्याग्दी, पूर्वी रुकुम, पश्चिम बाग्लुङ लगायतका क्षेत्रहरू समेटेर एक ‘मगरात प्रदेश’ सृजना गर्नु र त्यसको राजधानी तानसेन वा तम्घासमा राख्नु संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बाँकी कार्यभारमध्ये एक हो । यो काम ढिलो–चाँडो हुनै पर्दछ । यसो गर्न सके पृथ्वीनारायण शाहले दिव्योपदेशमा ‘मगरातको राजा मै हुँ’ भन्नुको अर्थ हरेक पुस्तामा सजिलै बुझिनेछ । त्यो क्षेत्रको सन्तुलित क्षेत्रीय तथा आर्थिक विकासमा पनि ठूलो योगदान हुनेछ ।

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक डम्बर खतिवडाको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?