+
+

रेखा थापा : फिल्ममा नम्बर एक, राजनीतिमा परीक्षार्थी

विजय सुवेदी ‘आवाज’ विजय सुवेदी ‘आवाज’
२०७८ मंसिर १९ गते १४:०१
फाइल तस्वीर

१९ मंसिर, काठमाडौं । नेपाली चलचित्रमा नायिका निरुता सिंहको रोनाधोनाबाट दिक्क भएका दर्शकले ‘हिरो’बाट डेब्यु गरेकी नायिका रेखा थापाको स्टाइललाई रुचाए ।

दुई दशकअघि रेखा थापाले चलचित्र क्षेत्रमा डेब्यु गर्दै गर्दा उनको ‘बोल्ड’ शैलीले दर्शकको मन जित्यो । यसपछि त रेखाले नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज नै गरिन् ।

अधिकांश चलचित्र नायक (अभिनेता) केन्द्रित बनिरहेका बेला रेखाले नायकको परिभाषा नै बदिलिदिइन् । रेखाका चलचित्रबाट नायकहरुको जन्म हुन थाल्यो । रेखाको नाममा चलचित्रले लाखौं कमाइ गरे, जुन कमाइ त्यसअघि राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ जस्ता नायकको नामबाट हुने गर्दथ्यो ।

चलचित्र क्षेत्रमा एक दशकसम्म रेखाले एकछत्र नै राज गरिन् । उनी बक्स अफिस, गसिप, वैवाहिक सम्बन्धका कारण पनि सधैं चर्चामा रहिन् ।

तर, पछिल्लो पटक ‘मलिका’, ‘रुद्रप्रिया’ लगायतका चलचित्रले गतिलो व्यापार नगरेपछि भने रेखाको चलचित्र करिअर विस्तारै ओरालो लाग्यो र अहिले सुस्ताएको छ ।

चलचित्र क्षेत्रको एक युग नै बोकेकी रेखापछि आएका अन्य नायिका भने त्यस्तो ‘जादू’ भने देखाउन सकेका छैनन् । यस अर्थमा रेखाको चलचित्र यात्रा फिल्मी भाषामा भन्नुपर्दा ‘ब्लकबस्टर’ मान्नुपर्छ ।

राजनीतिमा उत्तीर्ण हुन बाँकी 

आजभन्दा १२ वर्षअघि तत्कालीन नेकपा माओवादीले आयोजना गरेको विरोध कार्यक्रमका क्रममा सिंहदरबारअगाडि अध्यक्ष प्रचण्डसँग नाचेपछि रेखा राजनीतिक वृत्तमा पनि चर्चामा आइन् । प्रचण्ड र रेखाको डान्स त्यसबेला खुबै चर्चामा रह्यो ।

त्यसपछि माओवादीले दोस्रो संविधानसभा निर्वाचनमा रेखालाई पर्साबाट उठाउने निर्णय गर्‍यो । तर, मतदाता नामावलीमा नाम नभएपछि रेखा उम्मेदवार बन्न पाइनन् । त्यसपछि रेखा फेरि चलचित्रमा नै बढी सक्रिय हुन थालिन् । २०७३ सालमा रेखाले लिएको एक निर्णयले राजनीतिमा एक तरंग ल्यायो । आफूले माओवादी पार्टीको सदस्यता नलिएको दाबी गर्दै रेखा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरिन् । रेखालाई फूलमाला लगाएर भव्य कार्यक्रमका बीच कमल थापाले पार्टीमा स्वागत गरे ।

त्यस कार्यक्रममा रेखाले कमल थापा जस्तो नेताको आवश्यकता देशका लागि रहेको तर्क गरिन् । रेखाले देश र राप्रपाको झण्डा ओढेर मर्न चाहेको अभिव्यक्ति समेत दिइन् ।

राप्रपामा प्रवेश गरेपनि उनको राजनीतिक सक्रियता भने खासै देखिएन । त्यसबेला राप्रपा विभाजित हुन थालेपछि सक्रियता कम देखिएको उनी बताउँथिन् । तर, पछि राप्रपा एक भयो ।

राप्रपाको महाधिवेशन नजिकिँदै जाँदा भने रेखा फेरि सक्रिय हुन थालिन् । राप्रपा महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार राजेन्द्र लिङ्देनको पक्षमा उनी खुलिन् र उनले लिङ्देनकै प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी समेत दिइन् ।

तर शनिबार सम्पन्न महाधिवेशनबाट कमल थापालाई हराउँदै लिङ्देन अध्यक्ष बन्न सफल भए भने रेखा महामन्त्रीमा पराजित भइन् । उनी महामन्त्रीकी अर्की उम्मेदवार कुन्ती शाहीसँग भारी मतान्तरले पराजित भएकी हुन् ।

राप्रपा महाधिवेशनपछि रेखा राजनीतिक वृत्तमा थप चर्चाको केन्द्रमा छिन् । पार्टी महामन्त्रीमा पराजय हुनु परेपनि आफू खुशी रहेको रेखा बताउँछिन् ।

सञ्चारकर्मीसँगको कुराकानीमा रेखाले भनिन्, ‘राप्रपामा मलाई प्राप्त भएको मतको सम्मान गर्छु । आगामी दिनमा जनताको मन जित्ने काम गर्नेछु । अब राप्रपाभित्रको विसंगति र विकृतिलाई पन्छाएर अगाडि बढ्न आवश्यक छ ।’

रेखा महामन्त्री पदमा चुनिन असफल भएपनि राजेन्द्र लिङ्देन अध्यक्ष पदमा निर्वाचित हुँदा उनको राजनीतिक जीवनलाई भने फाइदा नै हुनेछ । चलचित्रमा निरन्तर ‘ब्लकबस्टर’ बनेकी रेखाले राजनीतिमा भने अझै परीक्षा दिनुपर्ने छ । राजनीति र चलचित्रको ग्राफ उनको लागि उल्टो बनेको छ ।

लेखकको बारेमा
विजय सुवेदी ‘आवाज’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?