+
+
कक्षा १२ को नतिजामा विद्यार्थीको असन्तुष्टि : :

‘लेखेजत्तिको नम्बर दिएनन्, जाँच्नेले हेलचेक्य्राइँ गरे !’

विकास रोकामगर विकास रोकामगर
२०७८ मंसिर १९ गते २१:२०

१९ मंसिर, पोखरा । तनहुँ आदिकवि भानुभक्त माविबाट न्याय विषयमा १२ को परीक्षा दिएकी अमिशा अधिकारीले नतिजा राम्रै हुनेमा ढुक्क थिइन् ।

कोभिड महामारीका कारण पटकपटक सर्दै आएको भएपनि परीक्षा उनले सहज तरिकाले दिएकी थिइन् । परीक्षा सोचेको भन्दा पनि राम्रो भएपछि मख्ख पर्दै बसेकी अधिकारी अहिले नतिजा आउँदा भने खिस्रिक्क परेकी छन् ।

एसइईमा ए ग्रेड ल्याएर उत्तीर्ण गरेकी उनी १२ को नतिजा आउँदा भने बी ग्रेडमा खुम्चिन पुगेकी छन्, जुन उनलाई ‘विश्वास’ लागेकै छैन ।

‘कस्तो प्रश्न आएको थियो र कस्तो उत्तर दिइयो भनेर त कम्तिमा आफूलाई त थाहा होला नि !’ आइतबार पोखरास्थित प्रदेश परीक्षा व्यवस्थापन कार्यालयमा भेटिएकी अधिकारीले गुनासो पोखिन्, ‘इन्ट्रान्स परीक्षाको तयारी गरेर बस्ने बेला रिचेक, रिटोटलिङको झमेलामा फस्नु परेको छ ।’

कार्यालय प्रांगणमा अधिकारीमात्रै होइन, पोखरा, तनहुँलगायतका कानुनमा स्नातक गर्ने सपना बुनेर बसेका सयभन्दा बढी विद्यार्थी भेला भएका थिए । उनीहरुले परीक्षा बोर्डले छिटो नतिजा प्रकाशन गर्ने नाममा विद्यार्थीको भविश्यमाथि नै खेलवाड गरेको आरोप लगाएका छन् ।

पोखरा पश्चिमाञ्चलकबाट १२ को परीक्षा दिएकी ऋतिका आचार्य पनि आफूले सोचेभन्दा कम नम्बर आएपछि बोर्डको ढोका ढक्ढक्याउन आएकी थिइन् ।

उनले एउटा व्यक्तिको लापरवाहीले विद्यार्थीमा ठूलो मानसिक तनाव थोपरेको गुनासो गरिन् । ‘सबै मध्यम वर्गीय परिवारबाटै आएका हौं । ऋणधन गरेर पढ्यौं । तर, अहिले आफ्नै मेहनतको पनि फल नपाएपछि सबै मानसिक तनावमा छौं,’ आचार्यले भनिन्, ‘अब आत्महत्या गर्नमात्रै बाँकी छ । यही तनावले कसैको ज्यान गयो भने जिम्मेवारी कसले लिने ?’ विद्यार्थीले स्कुलले पठाएको प्रयोगात्मक परीक्षाको नतिजा समेत घटाइदिएको आरोप लगाएका छन् ।

त्रिभूवन विश्वविद्यालयले २५ गतेभित्र स्नातक तहमा भर्ना खोल्ने सम्भावाना छ । आफूहरुको नतिजामा हेल्चक्य्राइँ भएकै कारण एक वर्ष खेर जाने हो कि भन्ने उनीहरुको चिन्ता छ । ‘रिचेक गर्न रिटोटलिङ गर्नैपर्छ । एउटा विषयको चेक गर्नै ३ हजारसम्म शुल्क लाग्छ,’ भानुभक्त माविकी आश्मा भण्डारीले भनिन्, ‘त्यसको नतिजा आइनसक्दै यता भर्ना समय सकिइहाल्छ ।’

असन्तुष्ट विद्यार्थीहरुले बोर्डले नै पक्षपातपूर्ण व्यवहार देखाएको समेत आरोप लगाएका छन् । ‘कानुनमा स्नातक गर्न सिमित कोटा हुन्छ । त्यो कोटामा विज्ञान, व्यवस्थापनबाट राम्रो अंक ल्याएर १२ पास गरेकाहरु भरिहाल्छन् । अनि कानुन पढ्ने हाम्रो सपना त त्यतिकै तुहिएर जाने भो,’ तनहुँकै शीतल विकले गुनासो गरिन् ।

परीक्षापत्र पुनः परीक्षण गर्नका लागि पनि दशौं हजार खर्च र समय पनि उत्तिकै लामो लाग्ने भएकाले त्यसमा पुनर्विचार गर्न विद्यार्थीहरुले आग्रह गरेका छन् । ‘छिटो रिजल्ट निकाल्ने भनेर विद्यार्थीको जीवन बर्वाद पार्न खोजिएको छ,’ सुस्मिता पुनले आरोप लगाइन् ।

एसइईमा ए प्लस नतिजा ल्याएर उत्तीर्ण गरेका आफ्ना २ सन्तान १२ मा डि र ई मात्रै नतिजा आउँदा अभिभावक कार्यालयमै भक्कानिँदै प्रश्न गरिन्, ‘म गिट्टी कुटेर छोराछोरी पढाउने हो । त्यति दुःख गरेर पढाउँदा पनि अर्कैका कारण जीवनै अन्योल भएपछि के हुन्छ ? एक वर्ष रोकिने सानो समय हो ?’ विद्यार्थीले परीक्षापत्र जाँचका क्रममा त्रुटि वा हेलचक्य्राइँ गरिएको भए त्यसको छानविन हुनुपर्ने र दोषी भेटिए कारवाही हुनुपर्ने माग गरेका छन् ।

केन्द्रमा कुरा राख्छ, बोर्ड खुट्टा कमाउँदैन : कार्यालय प्रमुख

विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकको उपस्थितिका कारण प्रदेश परीक्षा व्यवस्थापन कार्यालय आइतबार दिनभरजसो तनावपूर्ण रह्यो ।

सबैको गुनासो सुनेपछि कार्यालय प्रमुख विष्णुनारायण श्रेष्ठले विद्यार्थीको गुनासो राष्ट्रिय परीक्षा बोर्डसमक्ष पुर्‍याउने आश्वासन दिए । ‘अपेक्षा गरेअनुसारको नतिजा नआएको भन्दै यसपालि धेरै गुनासो आएको छ ।

यस विषयमा केन्द्र (राष्ट्रिय परीक्षा बोर्ड)समक्ष कुरा पुर्‍याउने जिम्मा मेरो भयो,’ कार्यालय प्रमुख श्रेष्ठले भने, ‘रिटोटलिङ र रिचेकिङबारे छिटो गर्न पनि आग्रह गर्छु ।’ उनले बोर्डका कारण कसैको भविष्यमाथि अन्योल सिर्जना हुने स्थिति आउन नदिने बताए ।

अन्य विषयको चेकजाँच गण्डकीमै गरिएपनि थोरै विद्यार्थी भएको परीक्षापत्र बोर्डलाई पठाएको जानकारी उनदे दिए । विद्यार्थीहरुको गुनासोबारे पनि बोर्डले छानविन गर्ने र दोषी भेटिए कारबाही गर्ने आश्वासन दिए । ‘राष्ट्रिय परीक्षा बोर्ड खुट्टा कमाउँदैन । गल्ती भएको छ भने कानुनसम्मत नै कारबाही हुन्छ,’ उनले भने, ‘विद्यार्थी र बोर्डबीच समन्वय गर्न हामी साथ दिन तयार छौं ।’

कोरोनाका कारण २ पटकसम्म स्थगित भएको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन गरेको थियो । परीक्षा दिएको २ महिनाभित्रै बोर्डले शुक्रबार नतिजा प्रकाशन गरेको हो ।

कोरोनाका कारण विद्यार्थीले आफू पढेकै स्कुलबाट परीक्षा दिएका थिए । अघिल्लो पटक स्कुल आफैंले परीक्षापत्र जाँच गरेको थियो भने यसपटक बोर्डले नै जाँचेको थियो ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?