१९ साउन, काठमाडौं । अघिल्लो वर्षको तुलनामा यस वर्ष कक्षा १२ को नतिजामा सुधार देखिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजामा अघिल्लो वर्षभन्दा यो वर्ष ९ प्रतिशतले परीक्षामा सुधार देखिएको हो ।
नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । गत वर्ष ५२ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए ।
बोर्डका अनुसार नियमिततर्फ तीन लाख ९६ हजार ३४७ र आंशिकतर्फ एक लाख १४ हजार ६४० गरी ५ लाख १० हजार ९८७ जना विद्यार्थीले परीक्षा दिएका थिए ।
जसमध्ये दुई लाख ४२ हजार ४६५ जना नियमिततर्फ र आंशिकतर्फ ४१ हजार ८४० जना गरी कूल दुई लाख ८४ हजार ३०५ विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ एक लाख ५३ हजार ८८२ जना विद्यार्थी ननग्रेडेड भएका छन् ।
बोर्डका अनुसार नियमिततर्फ ११ र आंशिकतर्फ ६ गरी १७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।
३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी १३ हजार ५०२, ३.२१ देखि ३.६० जीपीए ल्याउने ५५ हजार ८९६, २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २६८, २.४१ देखि २.८० जीपीए ल्याउन ६९ हजार ८१२, २.०१ देखि २.४० जीपीए ल्याउने ८ हजार ९६४ र १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी २३ जना छन् ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार आंशिकतर्फ ३६.४९ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । ‘नियमिततर्फ बढे पनि आंशिकको नतिजा बढ्न सकेको छैन,’ अध्यक्ष शर्माले भने ।
शिक्षक आन्दोलनका कारण अन्योलकाबीच गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो ।
अन्योलका बीच भएको परीक्षामा पनि नतिजामा सुधार आएको हो ।
‘परीक्षा १० दिनपछि धकेलिएको थियो । तर, परीक्षा सकिएपछि उत्तरपुस्तिका जहाँ जहाँ लैजानुपर्ने हो त्यहाँ समयमै लगेर केन्द्रबाट परीक्षण भयो । बिहानदेखि बेलुकासम्म परीक्षण भयो । इन्ट्रिदेखि भेरिफिकेसनको काम समानान्तर गरेकाले समयमा नतिजा दिन सकेका हौँ,’ उनले भने ।
प्रश्नपत्रमा सुधार
बोर्डले प्रश्नपत्रमा सुधार गरेकाले पनि नतिजा राम्रो आएको प्रारम्भिक निचोड निकालेको छ ।

‘१३ सय भन्दा बढी शिक्षकलाई प्रश्नपत्र निर्माणको तालिम दिएका थियौं । यसले कक्षा कोठाको शिक्षण सिकाइमा पनि राम्रो भयो,’ अध्यक्ष शर्माले भने, ‘विद्यार्थीले बुझ्ने प्रश्नपत्र निर्माण भएको थियो । उत्तरपुस्तिका परीक्षणमा सहज बनाएका थियौं । प्रश्नपत्रमा यो वर्ष विद्यार्थीहरूको कमेन्ट आएको थिएन ।’
विद्यार्थी र विद्यालयको मिहेनत
राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष नतिजा बढ्नुमा विद्यार्थी र विद्यालयको मिहेनत रहेको निष्कर्ष निकालेको छ ।
‘नतिजा बढ्ने नै हो । शतप्रतिशत बनाउने हो । सधैं ५० प्रतिशतमा बस्ने होइन । विद्यालय, शिक्षक, अभिभावकको मिहेनत पनि हो । जुन–जुन ठाउँबाट मिहिनेत गरेको छ त्यसको प्रतिफल हो,’ परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले भने ।
स्थानीय तह, प्रदेश र राष्ट्रिय परीक्षा बोर्डको पनि मिहिनेतले नतिजामा सुधार आएको अध्यक्ष शर्माले दाबी गरे ।
अनलाइन कक्षा
बोर्डका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सञ्चालन गरेको अनलाइ कक्षाले पनि नतिजा सुधारमा प्रभाव पारेको छ । ‘अहिले पढ्ने वातवरण बनको छ । अनलाइन कक्षा पनि भयो,’ उनले भने ।
केही वर्षअघि कोभिडका कारण असर परेको र अहिले वातवरण सहज भएकाले नतिजामा सुधार आएको तर्क बोर्डको छ ।
अंग्रेजी र लेखामा धेरै अनुत्तीर्ण
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार सबैभन्दा बढी विद्यार्थी अंग्रेजी र लेखामा भएका छन् ।
अंग्रेजीमा ६६ हजार २ सय ७५, लेखामा ४१ हजार २६३, सामाजिकमा ३३ हजार ९२१ र नेपालीमा २८ हजार ३५६ जना विद्यार्थी ननग्रेडेड भएका छन् ।

‘अंग्रेजीमा कमजोर देखिए । कुनमा राम्रो नतिजा आयो । कुन विषयमा कमजोर भयो । यस विषयमा बोर्डले अध्ययन गरेर सार्वजनिक गर्छ,’ अध्यक्ष शर्माले भने ।
प्रदेश अनुसार पनि राम्रो र कमजोर नतिजा आउनुको कारण खोज्ने बोर्डले जनाएको छ ।
दोषी शिक्षक
शिक्षाविद्हरू विद्यार्थी उत्तीर्ण र अनुत्तीर्ण हुनुको जसअपजस शिक्षकले नै लिर्नेपर्ने मत राख्छन् ।
‘शिक्षकले पढाउनै जानेनन् । अंग्रेजी सजिलो विषय हो तर पढाउने कला भएन । उत्तीर्ण हुँदाको जस शिक्षकले लिने हो भने अनुत्तीर्णको अपजस पनि शिक्षकले नै लिुनुपर्छ,’ प्रा.डा. विद्यानाथ कोइरालाले भने ।
विद्यार्थीले आफूले आफूलाई मूल्याङ्कन गर्ने प्रश्नपत्र बनाउनु पर्नेमा उनको जोड छ ।
‘विद्यार्थीले आफूले आफूलाई जाँच्ने खालको प्रश्नपत्र बनाउनुपर्छ । स्वमूल्यांकन फारम विद्यार्थीलाई भराउनुपर्छ,’ कोइरालाले भने ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4