
१९ मंसिर, काठमाडौं । ४४ करोड ७३ लाख रुपैयाँभन्दा बढी राजस्व छली गरेको आरोपमा कवाडी संकलन गर्ने एक फर्मविरुद्ध मुद्दा दायर गरिएको छ ।
बुटवलको कशौधन कवाड सप्लायर्सका प्रोपाइटर प्रमोदकुमार गुप्ताविरुद्ध जरीवाना र विगोसहित ४४ करोड ७३ लाख ८६ हजार ९५८ रुपैयाँ माग दाबीसहित मुद्दा दर्ता गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ । आइतबार उच्च अदालत तुल्सीपुरमा उक्त मुद्दा दायर गरिएको हो ।
फर्मले राजस्व चुहावट गर्ने मनसायले अन्य फर्मका नामबाट सामान किनेर विभिन्न व्यक्तिहरूलाई बिक्री गरेको र सोको मूल्यांकन नै नगरी भ्याट र आयाकर छलेको विभागको आरोप पत्रमा उल्लेख छ ।
प्रमोदकुमार गुप्ताको उक्त फर्मलाई भ्याटतर्फ ६ करोड ३१ लाख ४८ हजार २६६ रुपैयाँ, आयकरतर्फ १६ करोड पाँच लाख ४५ हजार २१३ रुपैयाँ गरी २२ करोड २६ लाख ९३ हजार ४७९ रुपैयाँ र बिगो २२ करोड २६ लाख ९३ हजार ४७९ रुपैयाँसहित ४४ करोड ७३ लाख ८६ हजार ९५८ रुपैयाँ असुल र तीन वर्ष कैद माग दाबी गरिएको छ ।
प्रतिक्रिया 4