+
+

एमाले स्थायी कमिटी गठनको तयारी, यी हुन् सम्भावित सदस्य

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १२:२९

२० मंसिर, काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी गठनको तयारी गरेको छ । अध्यक्ष केपी शर्मा ओली निकट स्रोतका अनुसार अध्यक्ष ओली र उनी निकटका पदाधिकारीहरुले स्थायी कमिटीमा ल्याउने नेताहरुको मोटामोटी टुंगो लगाइसकेका छन् । पदाधिकारीमा निर्वाचित १९ जनाबाहेक २६ जना नेतालाई एमालेले स्थायी कमिटीमा लैजानुपर्नेछ ।

अध्यक्ष ओली निकट स्रोतले अनलाइनखबरलाई उपलब्ध गराएको सूची अनुसार अघिल्लो स्थायी कमिटीका सदस्य रघुजी पन्त, घनश्याम भूसाल, किरण गुरूङ, मणि थापा र भीम आचार्य स्वतः स्थायी कमिटी सदस्यमा मनोनित हुनेछन् ।

पार्टीको दशौं महाधिवेशनबाट यी नेताहरु पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । तत्कालीन उपाध्यक्ष भीम रावलले भने केन्द्रीय सदस्यको समेत शपथ नलिने बताइसकेका कारण उनलाई ओलीले स्थायी कमिटीको लिस्टमा राखेका छैनन् ।

यी बाहेक खगराज अधिकारी, भानुभक्त ढकाल, विन्दा पाण्डे, थममाया थापा, यामलाल कँडेल, प्रभु साह, देवराज घिमिरे, गुरु बराल, शेरधन राई र कृष्ण गोपाल श्रेष्ठलाई स्थायी कमिटी सदस्यमा मनोनित गर्नेबारे लगभग सहमति भइसकेको एमालेका एक पदाधिकारीले बताए ।

उनका अनुसार, नेताहरु शेरबहादुर तामाङ, राजन भट्टराई, किरण गुरुङ, बैजनाथ चौधरी, कर्ण थापा, अरुण नेपाल, शिवमाया तुम्बाहाङ्फे, काशीनाथ अधिकारी, परशुराम मेघी गुरुङ, अग्नि खरेल, गोकुल घर्ती र गोरख बोगटीको नाम पनि स्थायी कमिटीमा राख्ने सूचीमा समावेश गरिएको छ ।

‘हामीले अध्यक्ष ओलीलाई सबै क्षेत्र समेटर नयाँ पुराना नेताहरुको सम्मान हुने गरी स्थायी कमिटी सदस्य बनाउनुपर्ने सुझाव दिएका छौं,’ एक पदाधिकारीले भने, ‘उहाँ सकारात्मक हुनुहुन्छ । हेरौं के हुन्छ ?’

एमालेले मंसिर २६ र २७ गते बोलाएको पार्टी केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी र पोलिटव्यूरो कमिटी गठन गर्ने तयारी गरेको छ । त्यसका लागि अध्यक्ष ओलीले आफू निकट नेताहरुसँग परामर्श गरिरहेका छन् । एमालेको विधानअनुसार स्थायी कमिटी ४५ र पोलिटव्यूरो ९९ सदस्यीय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?