+
+

सातै प्रदेशमा ‘सप्तरंग’ : राजेश हमालदेखि अस्मिता अधिकारीसम्मको प्रस्तुति रहने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १९:१६

२० मंसिर, काठमाडौं । अघिल्ला दुई संस्करणको सफलतापछि गृष्मा ब्रोडकास्टिङ प्रालिले ‘सप्तरंग’को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा गृष्मा ब्रोडकास्टिङका प्रमुख गृहेन्द्र घिमिरेले देशका सातै प्रदेशमा कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

आयोजकका अनुसार मंसिरको २४ गते पूर्वी नेपालको काँकडभिट्टाबाट शुरु हुने यो कार्यक्रम पुस ९ गते पश्चिम नेपालको पोखरामा पुगेर समापन हुनेछ ।

यो कार्यक्रम मंसिर २४ गते काँकडभिट्टा, मङ्सिर २६ गते जनकपुर, मंसिर २८ गते चितवन, पुस १ गते नेपालगञ्ज, पुस ३ गते सुर्खेत, पुस ५ गते धनगढी र पुस ९ गते पोखरामा आयोजना हुनेछ ।

कार्यक्रममा अभिनेता राजेश हमाल, गायक बद्री पंगेनी, प्रमोद खरेल, अनिल सिंह, हास्य कलाकारद्वय सन्दीप क्षेत्री र राजा राजेन्द्र, गायिकाहरु मिलन नेवार र अस्मिता अधिकारी, मोडल उषा उप्रेती सहभागी हुनेछन् । यस्तै नेपाल प्रहरीका ६ जना कलाकारको प्रस्तुति पनि कार्यक्रममा रहनेछ ।

कोरोना महामारीका कारण सुस्ताएको रंगमञ्चलाई यो कार्यक्रमको माध्यमबाट नयाँ गति दिने उद्देश्य रहेको गृष्मा ब्रोडकास्टिङका अध्यक्ष घिमिरेले बताए । कार्यक्रममा बोल्दै गायक बद्री पंगेनीले पहिलो पटक यो कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको बताए । कलाकार सन्दीप क्षेत्रीले देशभरका दर्शकलाई एकसाथ जोड्ने भएकाले पनि यो कार्यक्रम विशेष रहेको धारणा राखे ।

मोडल उषा उप्रेतीले आफू देशकै चर्चित कलाकारहरुसँग पहिलो पटक जोडिन लागेकोमा उत्साहित रहेको सुनाइन् । गायिका अस्मिता अधिकारीले पनि एउटा उत्कृष्ट कार्यक्रमका लागि आयोजकले छनोट गरेकोमा खुशी व्यक्त गरिन् ।

हास्य कलाकार राजा राजेन्द्रले आफूले दर्शकको स्वाद अनुसार हास्यरस पस्कने बताए ।

कार्यक्रममा सामुदायिक प्रहरी खटिने

विभिन्न ठाउँमा कार्यक्रम भइरहँदा यसअघि झैं सामुदायिक प्रहरी खटिनेछन् । केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले देशैभरि यो कार्यक्रमका लागि नेपाल प्रहरीका कलाकार र राष्ट्रिय स्तरका चर्चित कलाकारहरू तयारीमा रहेको जानकारी दिए । कार्यक्रममा गीत, नाटक, प्लेकार्ड, अडियोजस्ता माध्यमबाट नागरिकलाई सचेत गराउने कार्यक्रम मुख्य प्राथमिकतामा रहेको छ । साथै नेपाल प्रहरी, सम्बन्धित स्थानका सामाजिक संस्था र विद्यार्थीहरूको र्‍यालीसहित नाटक देखाउने, गीत गाउने बताइएको छ ।

प्रवक्ता कुँवरले  भने, ‘जनतासँग नजिक हुने नेपाल प्रहरीको मुख्य लक्ष्य हो । यसैको लागि फरक शैलीको कला–संगीतको सप्तरंग कार्यक्रम सुरु गर्न लागिएको हो ।’

उनले अगाडि भने, ‘नेपाल प्रहरीले परम्परागत रुपमा काम गर्दै आएको आक्षेप लाग्ने गर्छ । तर समयक्रममा प्रहरीले आफ्नो कार्यशैली परिवर्तन गर्ने गरेको छ । सामुदायिक प्रहरीको अवधारणा अन्तर्गत नै नयाँ नाम ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम दिएर अहिले जनचेतना फैलाउने कामलाई मुख्य प्राथमिकतामा राखिएको छ ।’

तस्वीर : श‌ंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?