+
+

भारत टूरमा न्यूजिल्याण्डको खराब प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते २०:४५

२० मंसिर, काठमाडौं । संयुक्त अरब इमिरेट्स र ओमानमा भएको टी–२० विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलियासँग हारेको न्यूजिल्याण्ड भारत भ्रमणमा आउँदा शानदार टी–२० र टेष्ट सिरिजको अपेक्षा थियो, तर ठीक विपरीत भयो ।

न्यूजिल्याण्डले जसरी निराशाजनक प्रदर्शन गर्‍यो, त्यसले आखिर यो टिमलाई के भयो भन्ने प्रश्न उठेको छ । जबकी उसले केही समय अघि विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा भारतलाई हराएको थियो । टी–२० विश्वकपको समूह चरणमा भारतलाई ८ विकेटले हराएको थियो ।

तर भारत भ्रमणमा आएको न्यूजिल्याण्डले तीन टी–२० खेल हा¥यो । त्यसपछि टेष्टमा पनि निकै कमजोर प्रदर्शन गर्‍यो ।

टेष्ट सिरिजमा गरेको संघर्ष

कानपुरमा भएको पहिलो टेष्ट बराबरी भयो, दोस्रो टेष्ट भने भारतले चौथो दिनको लञ्च अगाडि नै ३२७ रनले जित्यो ।

पहिलो टेष्टमा जितका लागि २८४ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले ९ विकेट ८९.२ ओभरमा केबल १५५ रन बनाएको थियो । भारत जित नजिक पुगेको थियो । तर रचिन रवीन्द्रले ९१ बलमा अविजित १८ र एजाज पटेलले २३ बलमा अविजित ३ रन बनाएर ड्र गराए । दुबैले ८ ओभर दुई बल खेले । त्यसपछि भारतीय बलरहरुले लगातार विकेट लिइरहेका थिए । तर रवीन्द्र र पटेलले क्रिजमा जमेर खेलेका कारण भारत ड्र गर्न सहमत भयो ।

दोस्रो टेष्टमा न्यूजिल्याण्डले अझ खराब खेल्यो । मुम्बईमा भएको यो टेष्टमा भारतले पहिलो पारीमा ३२५ रन बनाएको थियो । जवाफमा न्यूजिल्याण्ड जम्मा ६२ रनमा अलआउट भयो ।

यसले बलर एजाजले बनाएको दुलर्भ रेकर्ड समेत छायामा प¥यो । एजाज एक्लैले भारतको पहिलो पारीको १० विकेट लिएका थिए, जुन टेष्ट क्रिकेटको इतिहासमा तेस्रो पटक भएको थियो । त्यसअघि इंग्ल्याण्डका जिम लेकर र भारतका अनिल कुम्बलेले यही रेकर्ड बनाएका थिए ।

दोस्रो पारीमा भारतले २७६ रन बनाएपछि न्यूजिल्याण्डले ५४० रनको विशाल लक्ष्य पायो । तर न्यूजिल्याण्डले केवल १६७ रन मात्र बनाउन सक्यो । भारतले सिरिज आफ्नो पक्षमा पार्‍यो ।

टी–२० सिरिजमा खराब लय

न्यूजिल्याण्डले तीन टी–२० सिरिजमा पनि सबै खेल गुमायो । पहिलो म्याच ५ विकेटले हारेको न्यूजिल्याण्डले दोस्रो खेल ७ र तेस्रो ७३ रनसँग हार्‍यो ।

यसले बताउँछ कि कुनै पनि खेलमा न्यूजिल्याण्डले दमदार खेल देखाउन सकेन । उसलाई पहिलो झड्का नियमित कप्तान केन विलियम्सन टिमबाट बाहिर हुनु थियो । नयाँ कप्तान टिम साउथीले सही रणनीति बनाउन सकेनन् ।

पहिलो म्याचमा मार्टिन गप्टिल र च्याम्पम्यानको अर्धशतकको मदतमा न्यूजिल्याण्डले ६ विकेट गुमाएर १६४ रन बनायो । तर भारतका रोहित शर्मा र सूर्यकुमार यादवलाई रोक्न सकेनन् ।

दोस्रो र तेस्रो म्याचमा पनि न्यूजिल्याण्डको अवस्था फरक रहेन । तेस्रो म्याचमा जितका लागि न्यूजिल्याण्डलाई १८५ रन चाहिएको थियो, तर १११ रन मात्र बनाउन सक्यो । मार्टिन गप्टिल, डेरेल मिचेल र मिचेल सेन्टरनले टी–२० विश्वकपमा राम्रो रन बनाएका थिए, तर भारतमा त्यस्तो गर्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?