+
+

केएमसीले बढी शुल्क मागेको विद्यार्थीहरुको गुनासो

काठमाडौं मेडिकल कलेज (केएमसी)ले आफूहरुसँग बढी शुल्क असुल्न खोजेको एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले गुनासो गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते २१:१७
काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पताल ।

२० मंसिर, काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)ले आफूहरुसँग बढी शुल्क असुल्न खोजेको एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले गुनासो गरेका छन् । उनीहरुका अनुसार कलेज प्रशासनले होस्टल शुल्कलगायतका अनेक नाममा शिक्षण शुल्कबाहेक नै झण्डै २० लाख रुपैयाँ असुल्न खोजेको छ ।

चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कअनुसार एमबीबीएसका लागि उपत्यकाभित्र ४० लाख २३ हजार २५० रुपियाँ र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ छ । केएमसीले भर्ना हुँदा १३ लाख ४१ हजार रुपियाँ लिन्छ । त्यसपछि आठ लाख ९४ हजार ८४ रुपैयाँका दरले तीन किस्ता तिर्नुपर्छ ।

आयोगका अनुसार विद्यार्थी भर्ना भएपछि पहिलो किस्तावापत कुल शुल्कको एक तिहाइ र त्यसपछिका वर्षहरूमा क्रमशः बाँकी किस्ता बुझाउनुपर्ने हुन्छ । तर कलेज प्रशासनले दुई किस्ताको शुल्क एकैपटक बुझाउनुपर्ने भनेको छ ।

अनलाइनखबरको सम्पर्कमा आएका विद्यार्थीहरुका अनुसार कलेजले थप शुल्कको विवरण पनि थमाएको छ ।

विद्यार्थीलाई अनिवार्य छात्रावासमा बस्नुपर्ने भनेको छ । मेस शुल्क भनेर मासिक ६९८० रुपैयाँ तोकेको छ । होस्टल शुल्क भनेर मासिक १२ हजारका दरले साढे पाँच वर्षको एकमुष्ट ७ लाख ९२ हजार तत्काल बुझाउन भनिएको छ । होस्टल रजिष्ट्रेसन शुल्क २० हजार बुझाउनुपर्छ । एक विद्यार्थी भन्छन्, ‘खाना र बस्नको पनि फरक शुल्क तोकेको छ । इन्टरनेट चलाएको, लुगा धोएको छुट्टै रकम तिर्नुपर्छ रे ! यो त सिधा लुट भयो ।’

यातायातको वार्षिक शुल्क ३० हजार रुपैयाँ तोकिएको छ । जबकी कलेज र छात्रावासको दूरी पैदल १० मिनेट पनि छैन । काठमाडौं विश्वविद्यालय रजिस्टेसन शुल्क २५ हजार र नेपाल मेडिकल काउन्सिल रजिस्टेशन शुल्क ५ हजार तोकिएको छ ।

कलेजले अनेक नाममा तोकेको सबै शुल्क जोड्दा एमबीबीएस अध्ययन गर्दा झण्डै २० लाख रुपैयाँ बढी बुझाउनुपर्ने अवस्था आएको विद्यार्थीहरुको गुनासो छ ।

कलेजका प्रिन्सिपल राजीन्द्रनाथ श्रेष्ठ भने नियमभन्दा बाहिर गएर शुल्क नलिएको जिकिर गर्छन् ।

चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभित्र होस्टल, खाना, यातायात, विमा शुल्क खर्च समावेश्न नभएको भन्दै उनले भने, ‘हामीले चिकित्सा शिक्षा आयोगको ऐन र नियममा भएको दफामा टेकेर शुल्क लिएको हो । अरु केही पनि छैन ।’

होस्टेल चलाउन एकमुष्ट रकम आवश्यक परेकाले बोर्ड बैठकको निर्णय अनुसार विद्यार्थीहरुसँग मागिएको उनले बताए । होस्टल र खाना शुल्क छुट्टाछुट्टै किन भन्ने प्रश्नमा प्रिन्सिपल श्रेष्ठले भने, ‘होस्टल बस्नका लागि मात्रै हो । यहाँ कहाँ खाना बन्छ त ? त्यसको लागि मेसमा खानुपर्ने हुन्छ । मेसलाई त रकम बुझाउनुपर्छ ।’

शिक्षण शुल्क बाहेक अरुमा ठगिए : आयोग

चिकित्सा शिक्षा आयोगले भने विभिन्न कलेजबाट विद्यार्थीले बढी शुल्क लिएको गुनासो गरेको बताएको छ ।

गुनासोहरु सुन्दा शिक्षण शुल्क बाहेकका शीर्षकमा विद्यार्थीहरु ठगिएको पाइएको भन्दै आयोगका सूचना अधिकारी सेमन्तराज कोइरालाले भने, ‘हामीले शिक्षण शुल्क तोकेका छौं । त्यो भन्दा बाहेक होस्टल, खाना बस्नको लागि हामीले तोक्न मिल्दैन । त्यहीँ विद्यार्थी ठगिएका छन् भन्ने हाम्रो पनि बुझाइ छ ।’

विद्यार्थी, अभिभावकले ठगिएको विषयमा सम्बन्धित निकायलाई उजुरी दिन सक्ने भन्दै सूचना अधिकारी कोइरालाले भने, ‘हामी पनि आवश्यक निर्णय गर्छौं । सबैको साथ र सहयोग भयो भने विद्यार्थीलाई ठगी हुनबाट जोगाउन सक्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?