+
+

परिवार नियोजनको अस्थायी साधन बन्दै सुरक्षित गर्भ पतन सेवा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २१ गते ११:५५

२१ मंसिर, डोटी । सायल गाउँपालिका-३ की महिला स्वास्थ्य स्वयमसेविका गंगा रावलको भन्छिन्, ‘तीन महिने डिपो लाउनुभन्दा त फाल्नु सजिलो भन्छन्, परिवार नियोजनका अस्थायी साधनहरू प्रयोग गर्नै मान्दैनन् । तीन/तीन पटकसम्म पनि गर्भ पतन गराउँछन् महिलाहरु ।’

पटक/पटक गर्भ पतन गराएमा स्वास्थ्य समस्या आउने कुरा आफूले जानकारी गराउँदा पनि महिलाहरूले नमान्ने गरेको उनको भनाइ छ ।

सरकारले सुरक्षित गर्भ पतन सेवालाई वैधानिकता दिनु राम्रो भएको बताउँछिन् सायल गाउँपालिका-५ कि गोमा बोगटी । उनी भन्छिन्, ‘पहिले जडीबुटीको प्रयोग गरेर बलपूर्वक गर्भ पतन गराउँथे र त्यस्तोमा महिलाको ज्यान पनि जान्थ्यो तर अचेल सुरक्षित रुपमा गर्भ पतन गराउन पाइन्छ, यो सजिलो भएको छ ।’

एउटै महिलाले पटक/पटक गर्भ पतन गरिरहेको कुरा चिन्ताजनक भएको गोमाको भनाइ छ । उनी थप्छिन् , ‘रोजगारीका लागि भारत गएका श्रीमान् आउँछन्, गर्भ बस्छ, फेरि फाल्न खोज्छन् ।’

गर्भ पतन गराउनका लागि अझै पनि औषधि पसलहरूबाट किनेर औषधि खाने गरेको बताउँछिन् सायल गाउँपालिका-४ कि मनिसा सिंह । उनी भन्छिन्, ‘औषधि पसलमा गएर औषधि माग्छन्, जति सम्झाए पनि मान्दैनन् ।’ यसले झन असुरक्षित हुने गरेको सिंहको भनाइ छ ।

आर्थिक वर्ष ०७७/०७८ मा सायल गाउँपालिकाभित्र ७८ जनाले सुरक्षित गर्भ पतन गराएको सायल गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक शिवराज जोशी वताउँछन् । उनी भन्छन्, ‘हाम्रो गाउँपालिकामा सुरक्षित गर्भ पतनका लागि सूचीकृत स्वास्थ्य संस्था एउटा मात्रै छ, त्यो संस्थामा आई सेवा लिनेको तथ्याङ्क हामीसँग छ ।’

उनले ०७६/०७७ मा ६६ जनाले उक्त सेवा लिएको जानकारी दिए । गर्भ पतन सेवा लागि एउटै महिला पटक/पटक आउने गरेको जोशीले पनि स्वीकार गरे । ‘मैले पनि औषधि पसलबाट औषधि किनेर खान्छन् भन्ने सुनेको छ, यो गैरकानूनी हो’ सुरक्षित गर्भ पतन सम्वन्धी गाउँपालिकास्तरीय एक कार्यक्रममा जोशी भन्छन्, ‘सुरक्षित गर्भ पतन सेवा सूचीकृत स्वास्थ्य संस्था र सूचीकृत स्वास्थ्यकर्मीले मात्रै प्रदान गर्छ ।’ यसका लागि जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नु जरुरी भएको जोशी बताउँछन् । उनले २० वर्षमुनिका समेत गर्भ पतन सेवा लिन दोहोर्‍याएर आउने गरेको बताए ।

गर्भ पतन सेवालाई परिवार नियोजनका अस्थायी साधनका रुपमा नबुझ्न आफूहरूले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको सुरक्षित गर्भ पतन सम्बन्धी काम गर्ने संस्था सामुदायिक विकास मञ्चका कार्यक्रम संयोजक समिता घिमिरे ।

उनी भन्छन्, ‘गर्भ पतन गराउँदा सुरक्षित रुपमा मात्रै गर्नु पर्छ भन्ने जान्दाजान्दै पनि कतिपयले अझै औषधि पसलबाट औषधि किनेर खाने गरेको पाइएको छ र पटक/पटक गर्भ पतन गराउने गरेको पाइएको छ ।’ यसका लागि गाउँपालिकासँग समन्वय गरेर चेतनामूलक अभियान सञ्चालन गर्ने जोशीको भनाइ छ ।

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १५ अनुसार गर्भवती महिलाको मन्जुरीमा १२ हप्ता सम्मको गर्भ पतन गराउन पाउने अधिकार दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?