+
+

सुदूरपश्चिममा कोरोना संक्रमित बढ्न थाले, ओमिक्रोनको आशंकामा परीक्षण गर्न काठमाडौं पठाउन थालियो

जनक विष्ट जनक विष्ट
२०७८ मंसिर २१ गते १२:२२

२१ मंसिर, धनगढी । कोरोना भाइरसबाट संक्रमित विरामीहरुको नमूना परीक्षण गर्न सुदूरपश्चिमबाट काठमाडौं पठाउन थालिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको आशंकामा नमूना परीक्षण गर्न काठमाडौं पठाउन थालिएको हो ।

संक्रमितहरुमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन हो की होइन भन्ने पत्ता लगाउने व्यवस्था काठमाडौंको टेकुस्थित केन्द्रीय प्रयोगशालामा मात्रै भएकाले नमूनाहरु काठमाडौं नै पठाउनुपर्ने बाध्यता छ ।

अस्पतालमा संक्रमितको संख्या बढ्न थाल्यो

भारतबाट फर्किने नागरिकहरुको सीमा नाकामा नियमित कोरोना परीक्षण गरिंदै आएको छ । संक्रमण रिपोर्ट पोजेटिभ देखिएकाहरुलाई आइसोलेसनमा राखेर नमूना संकलन गरी काठमाडौं पठाउन थालिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख तथा प्रवक्ता नरेन्द्र कार्कीले भारतबाट फर्किनेहरुमा संक्रमण देखिएपछि सम्बन्धित स्थानीय तह, स्वास्थ्य कार्यालय र अस्पतालको समन्वयमा प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई परीक्षणका लागि नमूना काठमाडौं पठाउने जिम्मेवारी दिइएको जानकारी दिए ।

‘भारतबाट फर्किने नागरिकको सीमा नाकामा कोरोना परीक्षण गरेर पोजेटिभ देखिएकाहरुको व्यवस्थापन गर्ने काम विगतदेखि नै भइरहेको थियो,’ कार्कीले अनलाइनखबरसँग भने, ‘भारतमा पनि नयाँ ओमिक्रोन भेरियन्ट देखिएकाले हामीले थप सतर्कता अपनाएका छौं । पोजेटिभ देखिनेहरुको नमूना संकलन गरेर परीक्षणका लागि पठाउने काम प्रदेश जनस्वास्थ्य प्रयोगशालाले गर्छ ।’

सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले सीमा नाकामा पोजेटिभ देखिएकाहरुको नमूना संकलन गरेर परीक्षणका लागि पठाउन सबै ठाउँमा सर्कुलर गरिएको जानकारी दिए ।

‘त्रिनगर, गड्डाचौकी लगायतका सीमा नाकामा एन्टिजेन पोजेटिभ आएकाहरुको नमूना सुरक्षित रुपमा राख्न भनेका छौं । ती नमूना थप परीक्षणका लागि काठमाडौं पठाइनेछ,’ ओझाले भने, ‘गड्डाचौकी नाकाबाट तीन जनाको नमूना काठमाडौं पठाउने तयारी भइरहेको छ ।’ भारतमा नयाँ भेरियन्ट देखापरेपछि सीमा नाकामा समेत थप कडाइ गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा केही समय शून्यमा झरेको कोरोना संक्रमण फेरि देखिन थालेको छ । करीब एक महिना अघिसम्म दैनिक संक्रमणको दर शून्यमा झरेको कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा पछिल्लो समय दैनिक तीनदेखि छ जनासम्म संक्रमित देखिन थालेका छन् ।

‘एक महिना अगाडि हामीकहाँ परीक्षणका क्रममा संक्रमित देखिन छोडेका थिए,’ प्रादेशिक अस्पतालका सूचना अधिकारी नारद भट्टले अनलाइनखबरसँग भने, ‘पछिल्लो दुुई सातादेखि भने संक्रमित देखिन थालेका छन् । अस्पतालमा परीक्षण गर्दा दैनिक ६ जनासम्म संक्रमित भेटिरहेको अवस्था छ ।’ तर जटिल खालका लक्षण भएका संक्रमित भने फेला नपरेको उनी बताउँछन् ।

प्रदेशको अस्थायी राजधानी धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पनि दैनिक ५/७ जनामा कोरोना संक्रमित पुष्टि भइरहेको छ । तीमध्ये कुनै दिन औसतमा कम्तीमा एक जना गम्भीर संक्रमित अस्पताल पुुग्ने गरेका छन् ।

छैन ओमिक्रोन परीक्षणको व्यवस्था

प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले संक्रमितको संख्या विगतको तुुलनामा केही बढ्न थालेको पाइएको बताए । ‘अस्पतालमा गरिने पीसीआर परीक्षणका क्रममा दैनिक ५/७ जनामा कोरोना संक्रमण देखिरहेको छ।

तीमध्ये कहिलेकाहिँ कम्तीमा एक जना जटिल समस्या भएको संक्रमित भर्ना हुुने गरेका छन्,’ पाण्डेले अनलाइनखबरसँग भने । तर संक्रमितहरुमा नयाँ भेरियन्ट हो की होइन भन्ने पत्ता लगाउन भने परीक्षण गर्ने व्यवस्था नभएकाले समस्या भइरहेको पाण्डेले बताए ।

प्रादेशिक अस्पतालले कोरोनाको नयाँ लहर फैलिएपछि उपचार तथा नियन्त्रणका लागि आवश्यक पर्ने पूर्व तयारी समेत थालिएको जनाएको छ ।

५० शय्याको कोभिड अस्थायी अस्पतालमा आईसीयू बेडको संख्या थपेर १८ पुगाइएको मेडिकल सुपरिटेन्डेन्ट पाण्डेले बताए । स्वास्थ्य कार्यालयले निर्माण गरिरहेको थप ५० शय्याको कोभिड वार्ड हस्तान्तरण भएमा संक्रमितको व्यवस्थापनमा सहज हुने विश्वास अस्पतालको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?