+
+

उपत्यकाबाट मोटरसाइकल चोर्ने गिरोहका ७ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २१ गते १३:४५

२१ मंसिर, काठमाडौँ। ट्राफिक प्रहरीले काठमाडौ उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरेर विक्री वितरण गर्ने गिरोहका  ७ जनालाई पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार रामशाहपथस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरी कार्यमा संलग्न गिरोहका ७ जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।

महाशाखाले रौतहट चन्द्रनिगाहापुर ९ सन्तपुर घर भइ हाल कीर्तिपुर बस्दै आएका १९ वर्षीय नरकुमार पुडासैनीलाई गत वर्षको माघमा बानेश्वरबाट हराएको प्र३-०२-०१३ प ३६६० नम्बरको २२० सिसिको पल्सर मोटरसाइकलको नम्बर परिबर्तन गरि चलाइरहेको अवस्थामा पशुपति क्षेत्रबाट पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा न्युरोडबाट जुम्ला सिंङ्जा गा.पा. ६ हाल किर्तिपुर वस्ने वर्ष २० को पुन्दलाल बुढालाई मोटरसाइकलसहित पक्राउ गरेको हो । मंसिर ८ गते बत्तिसपुतलीबाट हराएको बा.प्र.०२-०२२प ६५१८ नम्बरलाई परिवर्तन गरी बा.प्र-०२-०२५प १३९१ प्रयोग गरेको अवस्थामा यामाहाको R15 मोटरसाइकलसहित बुढा पक्राउ परेका हुन्।

यस्तै किर्तिपुरबाट काठमाडौंका २२ वर्षीय सन्तोष महर्जनसहित रौतहट गुजरा न.पा. २ घर भइ हाल सानोभर्याङ बस्ने ३४ वर्षीय ज्ञानेन्द्र चौधरी, रौतहट गुजरा नगरपालिका-३ घर भइ हाल बानेश्वर बस्दै आएका ३२ वर्षीय रवि कुमार कुशवाहा, उदयपुर घर भइ हाल किर्तिपुर बस्दै आएका कमल बहादुर बस्नेत र बारा गढिमाई घर भइ कीर्तिपुर बस्दै २२ वर्षीय रन्जित प्रसाद गुप्तालाई पक्राउ गरिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

पक्राउ परेका चौधरी यस भन्दा अघि पनि मोटरसाइकल चोरीमा कारबाही भोगेका व्यक्ति हुन् । रौतहटका चौधरी र कुशवाहा मोटरसाइकल चोरी गिरोहका मुख्य व्यक्ति रहेको समेत अनुसन्धानबाट देखिएको एसएसपी भट्टराईले जानकारी दिए ।

यस्तै किर्तिपुरबाट पक्राउ परेका रंजित प्रसाद गुप्ताले चोरी गरि ल्याएका मोटरसाइकलहरुलाई ग्यारेजमा सुरक्षित राख्ने, सामानहरु डिस्मेण्टल गर्ने र फेरबदल गर्ने गरेको समेत देखिएको भट्टराइको भनाइ छ । गुप्ता किर्तिपुरमा रहेको रंजित मोटरसाइकल वर्कसपका सञ्चालक समेत रहेको खुल्न आएको महाशाखाले जनाएको छ ।

पक्राउ परेका गुप्ता र सन्तोष महर्जनले ग्राहकहरु खोज्ने र सस्तो मुल्यमा मोटरसाइकलहरु किनवेच गर्ने मुख्य भूमिका समेत खेल्ने गरेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले बताएको छ ।

बरामद गरेका ७ थान मोटरसाइकलमध्ये एउटा यामाहाको R15 र अन्य ६ ओटा २२० सीसीको पल्सर मोटरसाइकल रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै गरी ईन्जिन तथा विभिन्न भागहरू काटेर टुक्रा पारेको अवस्थामा यही असोजमा ताहाचलबाट हराएको बा-प्र-०२-०१९प ९४९८ नम्बरको २२० सिसि पल्सर मोटरसाइकल समेत बरामद गरेको महाशाखले जानकारी दिएको छ ।

पक्राउ परेका उनीहरुहरुलाई आवश्यक कारवाहीको लागि विभिन्न महानगरीय प्रहरी वृत्तहरूमा पठाइएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?