
२१ मंसिर, काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले नेकपा एमाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाभियोग लगाउनुपर्दैन भन्ने निश्कर्षमा पुगेको हो भनी अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।
मंगलबार नेपाल बार एशोसिएसनको टोली प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन माग गर्दै ओली निवास बालकोट पुगेको छ । सो टोलीमा रहेका वरिष्ठ अधिवक्ता थापाले आफूहरुले भन्दा प्रधानन्यायाधीश जबरालाई ओलीले बढी चिनेको भन्दै महाभियोग लगाउन हुँदैन भन्ने निश्कर्षमा पुगेको हो भनी प्रश्न गरेका हुन् ।
‘वर्तमान प्रधानन्यायाधीश होइन त्यस्ता छैनन् भन्ने लाग्छ कि, तपाईंसँग बढी सामिप्यता भएको नाताले…’ उनले भने, ‘हामीसँग त चियागफमा पनि भेट हुँदैन ।’
वरिष्ठ अधिवक्ता थापाले पर्याप्त आधार हुँदा पनि राजनीतिक दलहरु प्रधानन्यायाधीशलाई महाभियोग लगाउन आनाकानी गरेकोमा असन्तुष्टि जनाए । ‘यही प्रधानन्यायधीशलाई देउता ईश्वरझैं मान भनेर सबै राजनीतिक दलले भने पनि हामी मान्नेवाला छैनौं’ उनले भने ।
उनले संविधानले राजनीतिक दलहरुलाई जनताको सार्वभौमसत्ता प्रयोग गर्ने अधिकार दिएको भन्दै उक्त अधिकार प्रयोगका लागि आग्रह गर्न आएको बताए ।
प्रतिक्रिया 4