+
+

अटोमोबाइल्स व्यवसाय हाँक्दै आईएमई समूहको दोस्रो पुस्ता

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ मंसिर २१ गते १७:२२

२० मंसिर, काठमाडौं । आइएमई समूह अन्तरगतको ‘आइएमई मोटर्स’ गत दुई वर्षदेखि अटोमोबाइल्स बजारमा आक्रमक ढंगले अघि बढेको छ । अटो बजारको ‘टप प्लेयर’ बन्ने दौडको नेतृत्व गरिरहेका छन् कम्पनीका २५ वर्षीय निर्देशक निशान ढकाल ।

आईएमई समूहको दोस्रो पुस्ताबाट सानै उमेरमा ठूलो जिम्मेवारी लिएर व्यवसायिक क्षेत्रमा उदाउँदै गरेको नाम हो निशान । उनी नेपाली अटो बजारमा टप प्लेयर बन्ने आईएमईको लक्ष्यलाई चुनौतीको रुपमा स्वीकार गरेर अघि बढेका छन् ।

आईएमई समूहका अध्यक्ष चन्द्र ढकालका जेठा छोरा हुन् निशान । तीन वर्षदेखि आईएमई मोटर्सको ड्राइभिङ सिटमा रहेका निशान आईएमई मोटर्सलाई उचाइमा पुर्याउनेगरी अघि बढेको बताउँछन् । त्यसका निम्ति टिममा योजनाहरु बनाउँदै र क्रमशः लागू गर्दै लगेको उनले बताए ।

अध्ययनको क्रममा १३ वर्ष विदेश बसेका निशान स्वदेशमै केही गर्ने हुटहुटी बोकेर फर्केका हुन् । बेलायत र अमेरिकामा उच्च शिक्षा लिएका उनी उता पाएको राम्रो अवसर छाडेर आएको बताउाछन् ।

‘बाबाले नेपालमै फर्किएरै काम गर्न प्रोत्साहन गरिरहनुभएको थियो, म आफैं पनि त्यही चाहन्थेँ,’ उनी भन्छन्, ‘फर्किनासाथ आईएमई मोटर्समा काम थालेँ ।’

सन् २०१९ मा अमेरिकामा स्नातकोत्तर गरेर फर्किएका निशानलाई अटोमोबाइल्स क्षेत्रमा पहिल्यैबाट विशेष चासो र लगाव थियो । त्यसैले उनले काम गर्नलाई शुरुबाटै चुनौती बढी भएको क्षेत्र रोजे । उनी भन्छन्, ‘हाम्रो देशमा अटोमोबाइल्स क्षेत्र अली बढी चुनौतीपूर्ण पनि भएकाले यहीबाट आफूलाई तिखार्न खोजेको हुँ ।’

त्यसो त उनीमाथि आईएमई मोटर्स मात्रै हैन, भविष्यमा सिंगो आईएमई समूहको विरासत धान्नुपर्ने दायित्व पनि छ । उनी आईएमई मोटर्सबाट व्यवस्थापकीय अनुभव संगाल्दै अगाडि बढेका छन् ।

नेपालमा बैंकिङ, रेमिट्यान्स, सूचना प्रविधि, इन्सोरेन्स, डिजिटल फाइनान्स, पर्यटन, उर्जा लगायत व्यापार-व्यवसायमा अग्रपंक्तिमा आईएमई समूह ।

युवा नेतृत्व 

आईएमई मोटर्सले अहिलेसम्म प्राप्त सफलतालाई जगका रुपमा लिएर थप बजार र सेवा फैल्याउन प्रयत्न गरिरहेको निशान बताउँछन् । उनका अनुसार, नेपालमा ‘कमर्सियल भेहिकल’ र ‘हेभी इक्विपमेन्ट’ मा चर्को प्रतिस्पर्धा छ ।

हेभी इक्विपमेन्ट ब्रान्ड ‘एक्स्कर्ट्स’लाई नेपालमा लोकप्रिय बनाएको आईएमई मोटर्स कमर्सियल भेहिकलमा सुपरिरिचत ‘अशोक लेल्यान्ड’लाई पनि बिक्रीमा अग्रपंक्तिमा ल्याउन चाहन्छ ।

ऊर्जाशील टिम, गुणस्तरीय ब्रान्ड, बलियो र सहयोगी प्यारेन्ट कम्पनी र निकट भविष्यमा आउने नयाँ उत्पादनलाई हेरेर आईएमई मोटर्स उत्साहित रहेको यसका नवयुवक प्रमुख निशान ढकाल बताउँछन् ।

कम्पनी अहिले हेभी इक्विपमेन्ट ब्रान्डमा नेपालको दोस्रो र कमर्सियल भेहिकलमा तेस्रो स्थानमा आइपुगेको उनले बताए । उनले भने, ‘हामीले अरु पुराना र ठुला कम्पनीहरु र हाम्रो कम्पनीले बेच्ने गरेको सवारी संख्याको अन्तरलाई क्रमशः कम गरिरहेको छौं ।’

प्रोडक्ट पोर्टफोलियो र सर्भिस नेटवर्कका हिसावले नम्बर एक कम्पनी बन्न प्रयास गरिरहेको भन्दै निशानले गुणस्तरीय सेवा र ग्राहकको सन्तुष्टिलाई सर्वाधिक महत्व दिएर अघि बढेको बताए ।

‘आफ्टर सेल्स सर्भिस’ (विक्री पछिको सेवा) लाई पनि चुस्त बनाएर ग्राहकको मन जित्नेमा कम्पनीले बढी ध्यान दिएको उनको भनाइ छ । ‘गुणस्तरमा कुनै प्रकारको सम्झौता नगर्ने हाम्रो दह्रो प्रतिवद्धता छ’, उनले भने ।

उनका अनुसार, कम्पनीसाग सुरुदेखि नै उत्कृष्ट खालको सेल्स र आफ्टर सेल्स सर्भिसको नेटर्वक छ । देशभर आईएमई मोटर्सका ११ वटा शाखा छन् । डिलर्स र वर्कसपहरुको नेटवर्क छ । कम्पनीका आधिकारिक मेकानिकहरु देशभर खटिएका हुन्छन् । कम्पनीले २४ घण्टे ‘हेल्प लाइन नम्बर’ सहित अनुभवी प्राविधिक सेवा उपलब्ध गराएको निशान बताउँछन् ।

कम्पनीले सडकमै पुगेर सवारी मर्मत सेवा दिन मोबाइल भ्यानहरु परिचालन गरेको छ । स्पेयर्स पार्ट्सको सहज उपलब्धताको ग्यारेन्टीसँगै आफ्ना प्राविधिकलाई अझ दक्ष बनाउन अनलाइन तालिम केन्द्र पनि सञ्चालन गरेको निशानले बताए ।

बिक्रीका लागि सेल्स आउटलेट र डिलर्सहरु पनि बढाउने तयारीमा कम्पनी छ ।‘अटोमोबाइल्स क्षेत्रकै विकास महत्वपूर्ण’

आईएमई मोटर्सका निर्देशक निशान ढकाल आफ्नो कम्पनीको मात्र हित हुने काम गर्न नहुने मान्यता राख्छन् । नेपालको समग्र यातायात क्षेत्रमा रहेका समस्या हटाउन अटोमोबाइल्स क्षेत्र एकमत भएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

‘नेपालमै एसेम्बल गर्न सकिने सवारीसाधन पनि बाहिरबाट ल्याउनु परिरहेको छ, जसमा उच्च दरमा कर लगाइएको छ,’ निशान भन्छन्, ‘केही दुई पांग्रे सवारीले नेपालमा एसेम्बल थालेका छन्, अब चार पांग्रे पेसेन्जर भेहीकल र विद्युतीय सवारीसम्मले यही एसेम्बलको सुविधा पाउने नीतिगत व्यवस्था गर्न सबै एकजुट भएर लाग्नु आवश्यक छ ।’

त्यसबाट नेपाली अर्थतन्त्रले नै लाभ पाउने बताउने उनी कानुनी र नीतिगत व्यवस्थामार्फत यो क्षेत्रमा लगानी प्रोत्साहन गर्न सरकारलाई घच्घच्याउन आवश्यक देख्छन् ।

‘देशको अर्थतन्त्रलाई चलायमान गराउने यो क्षेत्रको विकासका लागि सरकार स्वयम्ले पूर्वाधारमा लगानी गनुपर्छ,’ निशान भन्छन्, ‘प्रयोग बढ्ने क्रममा रहेको विद्युतीय सवारी पनि नेपालमै एसेम्बल गर्ने नीति आवश्यक छ ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?