+
+

भलिबलमा हानको दोस्रो इनिङ्स : बंगलादेशमा पदक जित्ने सपना

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ मंसिर २१ गते २१:०५
भलिबल प्रशिक्षक हान अविङ

२१ मंसिर, काठमाडौं । नेपाली पुरुष भलिबल टिम यही डिसेम्बरमा बंगलादेशमा हुने एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको तयारीमा छ । त्यसका लागि डच प्रशिक्षक हान अविङले नेपाली टोलीलाई प्रशिक्षण दिइरहेका छन् ।

लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा अहिले दैनिक दुई पटक पुरुष टोलीले प्रशिक्षण गरिरहेका छन् । जहाँ हानले खेलाडीलाई विभिन्न कला सिकाउनुका लागि उनीहरुको फिटनेसमा पनि ध्यान दिइरहेका छन् ।

दोस्रो पटक नेपाली भलिबल टिमलाई प्रशिक्षण दिन आएका नेदरल्याण्ड्सका प्रशिक्षक हानले नेपाली टिमले विदेशी टिमसंग धेरै अन्तर्राष्ट्रिय खेल खेल्नुपर्ने बताए । नेपाली टिमले सन् २०१९ को डिसेम्बरमा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद खेलेयता कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन ।

‘सबैभन्दा महत्वपूर्ण कुरा भनेको उच्च स्तरको अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितमा धेरै अनुभव हासिल गर्नुपर्छ’ हानले भने, ‘त्यसैले उनीहरुले विदेशी टिमसंग नियमित खेल्नुपर्छ । अन्तर्राष्ट्रिय भलिबल के हो ? अन्तर्राष्ट्रिय भलिबलको लागि के चाहिन्छ ? भन्नेबारे जानकार हुनुपर्छ ।’

प्रशिक्षक अविङले अन्तर्राष्ट्रिय अनुभव धेरै भएमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा सहज हुने बताए । ‘जब म युरोपियन टिमसंग युरोपियन च्याम्पियनसिपमा खेल्न जान्छु उनीहरुले २०-२५ अन्तर्राष्ट्रिय खेल खेलिसकेका हुन्छन् । ती खेलाडीहरु अभ्यस्त हुन्छन्’ हानले भने ।

नेपालले पछिल्लो पटक १३ औं सागमा काठमाडौंमा भारत र बंगलादेशसंग खेलेको थियो । तर नेपाल दुवै खेलमा पराजित हुँदै समूह चरणबाट बाहिरिएको थियो ।

यही डिसेम्बर २१ देखि २९ (पुस ६ देखि १४) सम्म बंगलादेशको ढाकामा हुने सेन्ट्रल जोनका लागि नेपालले मंसिर पहिलो सातादेखि अभ्यास शुरु गरेको हो । मंसिर २ गते नेपाल आइपुगेका हानले त्यही दिनदेखि नै नेपाली टिमलाई प्रशिक्षण दिइरहेका छन् । उनले सुरुमा २० खेलाडी छनोट गरेका थिए भने दोस्रो चरणमा १६ खेलाडी छनोट गरेर प्रशिक्षण दिइरहेका छन् ।

तयारीको समय छोटो भए पनि नेपाली टिमले ढाकामा राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेको छ । डिसेम्बर १२ (मंसिर २६) मा पुरुषको अन्तिम टोली घोषणा हुनेछ । त्यसपछि एक साता क्लोज क्याम्पमा बसेर नेपाली टोली ढाका जाने तालिका रहेको छ ।

प्रशिक्षक हानले नेपाली खेलाडीमा क्षमता रहेको र भलिबल खेल्न भित्र देखि इच्छुक रहेको पाइएको बताए । ‘खेलाडीहरु स्किलफुल भलिबल खेल्छन् । टिमको मेन्टालिटी राम्रो छ । भलिबल खेल्न धेरै इच्छुक छन् यो महत्वपूर्ण छ’ उनले भने ।

‘फेरि नेपाल आउँदा खुशी छु’

हान दोस्रो पटक नेपाली भलिबल टिमलाई प्रशिक्षण दिन नेपाल आएका हुन् । कोरोना महामारी गर्दा अवस्था सामान्य नरहेपनि उनी फेरि नेपाल आउन पाउँदा खुशी छन् । यसअघि नै प्रशिक्षण दिइसकेका खेलाडीहरु रहेकाले पनि उनी खुशी छन् । ‘फेरि नेपाल आउन पाउँदा खुशी छु र यो विशेष छ ।’

उनले दुई साता भन्दा बढी समय नेपाली टोलीलाई प्रशिक्षण दिइसकेका छन् र राम्रो भइरहेको बताए ।

हान पहिलो पटक नेपाल आउँदा तयारीका लागि लामो समय पाएका थिए । तर यस पटक अवस्था त्यस्तो रहेन । कोरोना महामारी र लकडाउनले गर्दा गत वर्ष सेन्ट्रल जोन भलिबल प्रतियोगिता नै भएन । खेलाडीहरु पनि पहिला जस्तो फिट नरहेको उनले बताए । ‘एक वर्ष लामो लकडाउनले गर्दा खेलाडीहरु दुई वर्षअघिको जस्तो फिट त छैनन् । फिट रहन गाह्रो हुन्छ । तर कुनै इन्जुरी छैन’ हानले भने ।

‘खेलाडीसंग रमाइरहेको छु’

आफूले दुई वर्षअघि सिकाएको कुरा खेलाडीले अहिले पनि सम्झिरहेको प्रशिक्षक हानले बताए । ‘दुई वर्षअघि सिकाएकोले धेरै कुरा फेरि सिकाउनु जरुरी छैन । अब प्रतियोगितामा कस्तो हुन्छ हेर्न बाँकी छ । किनकी नेपालमा खेल्नु र बाहिर गएर खेल्नु फरक हुन्छ’ उनले भने ।

यस्तै टिममा मानबहादुर श्रेष्ठ फर्केकोमा पनि हान खुशी छन् । यसअघि उनले नेपाली टोली हेर्दा मानबहादुर टिममा थिएनन् । तर उनीबारे हानले धेरै सुनेका थिए । ‘मान बहादुर टिममा फर्कँदा म खुशी छु । दुई वर्षअघि सबैले मलाई मान राम्रो खेलाडी हो भनेका थिए । मैले भिडियोहरु पनि हेरेँ । उनले टिमको लेभललाई अगाडि बढाउन सहयोग गर्छन् । उनी फर्कनु नेपाली भलिबलको लागि राम्रो हो’ प्रशिक्षक हान भन्छन् ।

पदक जित्ने सपना

नेपालले पछिल्लो पटक घरेलु कोर्टमै सेन्ट्रल जोन खेल्दा सेमिफाइनल पनि पुग्न सकेको थिएन । तेस्रो संस्करणमा नेपाल तेस्रो हुँदै कास्य पदक जित्नु नै अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धी हो । चौथो संस्करणमा नेपालले उपाधि जित्ने लक्ष्य बनाएपनि सफल हुन सकेन ।

यस्तै नेपालमै पहिलो पटक सेन्ट्रल जोन प्रतियोगिता हुँदा पनि नेपालले कुनै पदक जित्न सकेन । यस पटक थोरै समय तयारी गरेको नेपालको लक्ष्य पदक जित्नु नै हो । तर त्यो सहज भने छैन ।

प्रशिक्षक हानले पनि यो बुझेका छन् । उनले आफूहरुको सपना पदक जित्ने भए पनि व्यवहारिक हुनुपर्ने बताए । ‘केटाहरुको ड्रिम छ मेडल जित्ने । तर हामी रियालिस्टिक पनि हुनुपर्छ’ हानले भने ।

झण्डै तीन वर्षपछि टिममा फर्किएका मान बहादुरले पनि नेपालको लक्ष्य मेडल जित्नु नै रहेको बताए । उनले माल्दिभ्स र बंगलादेशलाई यसअघि पनि हराउँदै आएकोले जित्ने लक्ष्यका साथ खेल्ने बताए ।

यस्तै आफ्नो कमब्याकलाई पनि प्रमाणित गरेर देखाउने उनको लक्ष्य छ । अन्य टिमले बाहिर गएर तयारी गरिरहेकोले नेपालले पनि बाहिरको टिमसंग तयारी गर्न पाए राम्रो हुने मानबहादुरको बुझाइ छ ।

प्रशिक्षक हानले राम्रो प्रदर्शन गर्दै राम्रो नतिजा ल्याउने लक्ष्य रहेको बताए । ‘हामी राम्रो प्रदर्शन गरेर राम्रो रिजल्ट ल्याउने लक्ष्यमा छौँ । हरेक अंक जित्दै जाने र सेट जित्ने प्रयास गर्ने सेट जितेपछि अर्को सेट जित्न प्रयास गर्ने । दुई सेट जितेपछि खेल जित्ने चान्स हुन्छ’ उनले भने ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?