+
+

नेपाली क्रिकेटको मुख्य प्रशिक्षकमा पुन: पुबुदुको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते १५:२४

२३ मंसिर, काठमाडौं । नेपाली क्रिकेट टीमको मुख्य प्रशिक्षकमा फेरि पुबुदु दसानायके नियुक्त हुने सम्भावना देखिएको छ ।

गत सेप्टेम्बरमा कार्यकाल सकिनुअघि नै मुख्य प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएपछि नेपाल क्रिकेट संघले नयाँ प्रशिक्षक नियुक्ति अघि बढाएको थियो । जसमा ६० जनाले आवेदन दिएकामा क्यानले १५ जनालाई सर्टलिस्टमा राखेको र तीमध्ये ५ जनाको अन्तर्वार्ता लिइसकेको छ ।

क्यान स्रोतका अनुसार भारतीय प्रशिक्षक मोन्टी देसाई र पुबुदु नेपालको रोजाइमा सबैभन्दा अघि छन् । दुईमध्ये पनि दासानायकेलाई नै पुन: नेपालको मुख्य प्रशिक्षक बन्ने सम्भावना उच्च रहेको क्यान स्रोतले जनाएको छ । ‘पुबुदु दासानायके प्रशिक्षक बन्ने सम्भावना उच्च छ । तर अझै अन्तिम निर्णय भने भएको छैन । धेरै कामहरु पूरा गर्नुपर्नेछ’ स्रोतले भन्यो ।

पुबुदुले यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालको मुख्य प्रशिक्षकको रुपमा काम गरेका थिए । यसअघि राष्ट्रिय टिमको ब्याटिङ कन्सलट्यान्ट भएर काम गरेका मोन्टी देसाई पनि नेपालको रोजाईमा छन् । ‘मोन्टीको पनि सम्भावना छ । तर प्रशिक्षक मात्र बनाएर भएन धेरै विषयहरु जोडिएका हुन्छ’ स्रोतले भन्यो ।

मोन्टी देसाईको पारिश्रमिक धेरै रहेको र उनले आगामी सिजन इन्डियन प्रिमियर लिगमा काम गर्ने सम्भावना रहेकाले नेपाल आउने सम्भावना कम छ ।

दासानायकेले यसअघि पनि नेपाली टिमसंग काम गरिसकेकाले पनि नेपाली क्रिकेटबारे उनी जानकार छन् । यस्तै पारिश्रमिकमा पनि दासानायके सहज रहेको क्यानको बुझाइ छ । यसअघि क्यानले डेभ वाटमोरले ११ हजार डलरमा अनुबन्ध गरेको थियो । दासानायकेको पारिश्रमिक करिब ७-८ हजार अमेरिकी डलर रहने स्रोतले जनाएको छ ।

दासानायके प्रशिक्षक रहेकै बेला नेपालले सन् २०१४ मा पहिलो पटक टी-२० विश्वकप खेलेको थियो । उनकै प्रशिक्षणमा क्यानडाले २०११ मा विश्वकप खेलेको थियो ।

नेपालले पहिलो पटक विश्वकप खेलेपछि क्यान र खेलाडीको आन्तरिक कलहका कारण दासानायके नेपाल छाडेर गएका थिए । त्यसपछि उनले अमेरिकाको प्रशिक्षकको रुपमा पनि काम गरे । त्यसयता भने उनले कुनै राष्ट्रिय टिम हेरेका छैनन् । पछिल्लो पटक उनी एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा भैरहवा ग्लाडिएटर्सको प्रशिक्षक बनेर नेपाल आएका थिए ।

यसअघि वाटमोर प्रशिक्षक बन्दा पनि दासानायके नेपालको सम्भावित प्रशिक्षकको अन्तिम सूचीमा थिए ।

नेपालले सन् २०२२ मा अष्ट्रेलियामा हुने विश्वकपका लागि आगामी फेब्रुअरीमा ग्लोबल छनोट खेल्दैछ । ग्लोबल छनोट आउन दुई महिना र केही दिन मात्र बाँकी रहँदा अझै प्रशिक्षक नियुक्त हुन सकेको छैन । जसले गर्दा नेपालको तयारी पनि सुरु हुन सकेको छैन ।

दासानायके र मोन्टी देसाईसंगै क्यानले श्रीलंकन पूर्व क्रिकेटर रुवान कल्पाज, पाकिस्तानका हाई पर्फर्मेन्स प्रशिक्षण प्रमुख रहिसकेका ग्रान्ट ब्राडबर्न तथा श्रीलंकन पूर्व क्रिकेटर तथा नाइजेरियाका मुख्य प्रशिक्षक रहिसकेका असंका गुरुसिन्हाको अन्तर्वार्ता लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment