+
+

ए डिभिजन लिगमा आजदेखि चौथो चरणका खेल सुरु हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २४ गते ८:१८

२४ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आजदेखि चौथो चरणका खेलहरु सुरु हुँदैछन् । मनाङ मर्स्याङ्दी क्लब र फ्रेण्ड्स क्लबबीच दिउँसो १ बजे खेल हुनेछ भने च्यासल युथ क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीचको खेल ४:४५ मा सुरु हुनेछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछन् ।

सर्वाधिक ८ पटकको लिग विजेता मनाङले तीन खेलमा अपराजित रहँदा ७ अंक जोडेको छ । नाइजेरियन प्रशिक्षक फुजा तोपेको आगमनपछि मनाङको यो पहिलो खेल हुनेछ । यसअघि राजेन्द्र तामाङले मनाङको प्रशिक्षकको रुपमा काम गरेका थिए । अब दुवै प्रशिक्षण टोलीमा रहनेछन् ।

बिहीबारको प्रिम्याच कन्फ्रेन्समा पनि उनै फुजा उपस्थित भएका थिए । उनले मनाङको रणनीति स्पष्ट रुपमा सुनाए, कुनै अंक नगुमाउने । मनाङले सुरुको दुई खेलमा जावलाखेल र हिमालयन शेर्पा क्लबलाई पारजित गर्दा संकटासँग हार नजिक पुगेर पनि अंक खोस्न सफल भएको थियो ।

फ्रेण्ड्ससँग खेल्दा अंक नगुमाउने मनाङको लक्ष्य रहेको फुजाले बताए । ‘हामी कुनै अंक गुमाउन चाहँदैनौँ,’ उनले भने, ‘मनाङ अपराजित यात्रालाई कायम राख्दै उपाधि होडमा रहने लक्ष्यमा छ ।’

उता यस सिजन रेलिगेसनबाट बच्ने लक्ष्य राखेको फ्रेण्ड्सले अहिलेसम्म ३ खेलबाट २ अंक मात्र जोडेको छ । कप्तान प्रकाश बुढाथोकीसहित ३ खेलाडी घाइते रहेको फ्रेण्ड्सले मनाङसंग कम्तीमा अंक खोस्ने प्रयास गर्ने प्रशिक्षक मृगेन्द्र मिश्रले बताए । ‘मनाङ बलियो टोली हो तर हामी अंक जोड्नकै लागि खेल्छौँ जित वा बराबरीकै लागि खेल्छौँ,’ प्रशिक्षक मिश्रले भने ।

कप्तान प्रकाशसहित स्ट्राइकर जमन एन्टोनी र प्रिजेन तामाङ पनि घाइते रहेकोले केही समस्या हुनसक्ने उनले बताए । प्रकाश चार साता मैदान बाहिर रहने बताइएको छ । त्यसका बावजुत पनि मनाङलाई टक्कर दिने फ्रेण्ड्सको लक्ष्य छ । फ्रेण्ड्सको आगामी यात्रा कस्तो हुने भन्ने यस खेलले धेरै हदसम्म तय गर्ने प्रशिक्षक मिश्रको भनाइ थियो ।

यस्तै दिनको दोस्रो खेलमा अर्को उपाधि दाबेदार आर्मी र च्यासलबीच प्रतिस्पर्धा हुनेछ । आर्मीका सहायक प्रशिक्षक राजु तामाङले प्रिम्याच कन्फ्रेन्समा च्यासल विरुद्ध ३ अंककै लागि खेल्ने बताए । ‘हामी उपाधि दाबेदार रहेकोले ३ अंककै लागि खेल्छौँ ।’ तेस्रो चरणमा ब्रिगेडलाई पराजित गर्दै सिजनको पहिलो जित हात पारेपछि मुख्य प्रशिक्षक नवीन न्यौपानेले उपाधि होडमा फर्किएको जनाउ दिएका थिए । ३ खेलबाट अपराजित आर्मीको ५ अंक छ ।

अर्कोतर्फ च्यासलले एक जित एक बारबरी र एक हारपछि ४ अंक जोडेको छ । च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले ५०-५० को म्याच रहेकोले खेल दिन कसले राम्रो खेल्छ त्यसमा भर पर्ने बताए ।

मनाङ र आर्मीको लागि चौथो चरणदेखि सातौं चरणसम्को खेल अझै महत्वपूर्ण छ । किनकी सातौं चरणसम्म एएफसी क्लब लाइसेन्स भएका क्लबमध्ये धेरै अंक जोड्ने क्लबले एएफसी कप छनोट खेल्न पाउने एन्फाले जनाएको छ ।

मनाङ र आर्मीसँगै साविक विजेता मछिन्द्र फुटबल क्लब र एपीएफ फुटबल क्लबले यस सिजनका लागि क्लब लाइसेन्स पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?