
२४ मंसिर, काठमाडौं । निर्माणको तयारीमा रहेको चलचित्र ‘लाखे’मा अभिनेत्री वर्षा राउत अनुबन्धित भएकी छन् । यसअघि थुप्रै कलाकार फाइनल गरिसकेको निर्माण टिमले बिहीबार वर्षालाई मुख्य अभिनेत्रीका रुपमा अनुबन्ध गरेको हो ।
वर्षासँग चलचित्रका निर्देशक सम्राट बस्नेत र कार्यकारी निर्माता हरि मल्ल ठकुरीले सम्झौता गरेका हुन् । अभिनेत्री वर्षाले कथा मन परेका कारण अभिनयका लागि आफू चलचित्रसँग जोडिएको बताइन् । उनले चलचित्रमा आफ्नो भूमिका अहिलेसम्मकै फरक रहेको समेत बताइन् ।
वर्षासँगै यो चलचित्रमा दर्जन बढी कलाकारहरुको मुख्य अभिनय रहनेछ । चलचित्रका लागि सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल लगायतका कलाकार यसअघि नै फाइनल भइसकेका थिए ।
त्यस्तै सुनिल थापा, रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्रबहादुर बिष्ट, सुजन ए परियार, श्रवणकुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बालकलाकार सिष्टम भण्डारी लगायतको समेत चलचित्रमा अभिनय रहनेछ ।
पुसको दोस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्र ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रालि र औरियन प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्रको निर्माता सिजन अर्याल हुन् ।
कथा समेत निर्माता अर्यालकै रहेको चलचित्रको प्रस्तुतकर्ता गणेश मल्ल ठकुरी हुन् भने हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।
ठूलो बजेटमा निर्माण हुन लागेको भनिएको चलचित्रको नाम ‘लाखे’ राखिएपनि नेपाली संस्कृतिमा रहेको लाखे परम्परा विषयवस्तुमा पूरै नसमेटिएको निर्देशक बस्नेतले बताए । नेपालको संस्कृतिमा रहेको ‘लाखे’ परम्पराको प्रचार गर्ने उद्देश्यले चलचित्रको नाम ‘लाखे’ जुराइएको निर्देशक बस्नेतको भनाइ छ । निर्देशक बस्नेतले यसअघि चलचित्र ‘पासवर्ड’ निर्देशन गरिसकेका छन् ।
प्रतिक्रिया 4