
२६ मंसिर, काठमाडौं । कोरोना भाइरसको महामारी कम हुँदै गएपछि विस्तार भएको उडानका कारण राष्ट्रिय ध्ववजाबाहक नेपाल एयरलाइन्सको विजनेश समेत विस्तार हुँदै गएको पाइएको छ ।
नेपाल एयरलाइन्सको चालु आर्थिक वर्ष ०७८/७९ को पहिलो त्रैमासिक (साउन–असोज)विवरण अनुसार कम्पनीले तीन महिनाको अवधिमा कुल ४७२ अन्तर्राष्ट्रिय उडानमार्फत ६९ हजार १ सय ८२ जना यात्रुलाई सेवा दिइएको छ । यसमध्ये सबैभन्दा धेरै यात्रु र उडान असोजमा भएका छन् । यो महिना चाडबाडमा नेपालीले घर आउने र नेपालबाट घर फर्कने महिना समेत हो ।
नेपाल एयरलाइन्सका अनुसार साउनमा अन्तर्राष्ट्रिय नियमित उडानतर्फ कुल १०१ उडान भएको छ । यी उडानबाट कुल १५ हजार २८ जना यात्रुले सेवा लिएका छन् । यो महिनामा ६ वटा चार्टर्ड उडान समेत भएको छ । यी उडानबाट १७४ जना यात्रुले सेवा लिएको विवरणमा उल्लेख छ । भदौमा कुल १३९ वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानबाट कम्पनीले १९ हजार १ सय ४४ जना यात्रु बोकेको छ ।
यो तीन महिनामा सबैभन्दा बढी उडानबाट बढी यात्रु असोज महिनामा बोकेको छ । यो महिनामा कुल २२६ वटा नियमित उडान भएको छन् । जसबाट ३४ हजार ८ सय ३६ जना यात्रुले सेवा पाएको नेपाल एयरलाइन्सको तथ्यांक छ ।
आन्तरिकमा ६ हजार यात्रुलाई सेवा
यो तीन महिनाको अवधिमा आन्तरिक उडानमा भने ५ हजार ९ सय ८९ यात्रु मात्र बोकेको तथ्यांक छ ।
साउनमा कुल १३६ वटा नियमित उडान गरेको कम्पनीले १,५७८ जना यात्रु बोकेको थियो । भदौमा १४४ वटा आन्तरिक उडानमार्फत १,८२१ जना यात्रुले सेवा लिएका छन् । असोजमा कुल २१० वटा उडानमार्फत २,५९० यात्रुले सेवा लिएको तथ्यांकमा उल्लेख छ ।
आन्तरिक उडानमा निगमको यो उपस्थिति निकै कम हो । किनकी निजी क्षेत्रका वायुसेवा कम्पनीले दैनिक १५ हजारभन्दा बढी यात्रु ओसारिरहेका छन् । बुद्ध एयरले असोजमा ८ हजारभन्दा बढी यात्रुलाई एक दिनमा सेवा दिएर रेकर्ड राखेको थियो ।
प्रतिक्रिया 4