+
+
कांग्रेस महाधिवेशन :

अन्तिम घडीको दौडधुप

कांग्रेस महाधिवेशनमा मतदान हुनु अघिल्लो दिन उम्मेदवारहरु प्रतिनिधिसँग मत माग्न व्यस्त भए । सभापतिका उम्मेदवारदेखि केन्द्रीय सदस्यसम्मका उम्मेदवार दिनभरजसो भृकुटीमण्डप वरिपरि नै रहे ।

खगेन्द्र भण्डारी खगेन्द्र भण्डारी
२०७८ मंसिर २६ गते २३:१३

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसमा आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्न अन्तिम रस्साकस्सी जारी छ । शुक्रबारदेखि शुरु कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार विहानदेखि नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ ।

करिव नौ लाख क्रियाशील सदस्यहरुमध्ये तहगत निर्वाचन प्रक्रियाबाट चुनिएर आएका चार हजार ७४३ महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन् ।

कांग्रेसको सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला र केन्द्रीय सदस्य कल्याण गुरुङ प्रतिस्पर्धामा छन् । शनिबार ६ जनाले सभापतिमा उम्मेदवार मनोनयन दर्ता गराएकोमा आइतबार सभापतिका उम्मेदवार गोरखाका युवराज न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिए ।

कांग्रेस महाधिवेशनमा संस्थापन र इतर समूह विभाजित भए पनि मुख्य प्रतिस्पर्धा भने देउवा र कोइराला समूहबीच नै हुने निश्चित छ । १३ औं महाधिवेशनबाट तेस्रो समूहको नेतृत्व गर्दै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह भने यसपटक देउवा समूहमा समाहित भएको छ ।

देउवाको दौडधुप

१० औं महाधिवेशनदेखि नै कांग्रेसको नेतृत्वका लागि प्रतिस्पर्धा गरेका देउवाले यसपटकको प्रतिस्पर्धालाई प्रतिष्ठाको विषय बनाएका छन् । प्रधानमन्त्री र पार्टी सभापतिको जिम्मेवारीमा रहेका देउवा फेरि सभापतिमा दोहोरिन चाहन्छन् । कांग्रेसमा बहालवाला पार्टी सभापति पराजित भएको इतिहास छैन । त्यसमा पनि बहालवाला प्रधानमन्त्री भएकाले उनी निकै दबावमा देखिन्छन् ।

देउवाले यो महाधिवेशनमा कतिसम्म दबाव महसुस गरेका छन् भन्ने बुझ्न आइतबार उनको दिनभरको दौडधुपले पनि देखाउँछ । देउवा बिहानै लैनचौरस्थित एक ब्यांकेटमा आयोजित कार्यक्रममा पुगेर महाधिवेशन प्रतिनिधिसँग मत मागे । कांग्रेसको आदिवासी जनजाति विभागले आयोजना गरेको कार्यक्रममा सहभागी भएर आफ्नो धारणा राखेपछि देउवा महाधिवेशन स्थल भृकुटीमण्डप पुगे, जहाँ प्रतिनिधिसँगै बिहानको खाना खाए र केही समय भलाकुसारी गरे ।

दिनभरजसो भृकुटीमण्डपमै रहेका देउवाले दिउँसोको खाजा पनि त्यहीँ खाए । महाधिवेशन प्रतिनिधिलाई चिसोबाट जोगिन र कोरोनाको जोखिम बढ्नसक्ने भन्दै उनी स्वास्थ्य सचेतना अपनाउन आग्रह गरिरहेका थिए ।

उनी तीनबजेतिर नेपाल पर्यटन बोर्डमा नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा सहभागी भए । देउवा पत्नी आरजु राणाको पहलमा देशभरबाट चुनिएर आएका महिला संघआवद्ध महाधिवेशन प्रतिनिधिसँग अन्तर्क्रिया आयोजना गरिएको थियो, त्यहाँ पनि देउवाले मत मागे ।

अपराह्न कमलपोखरीस्थित अग्रवाल भवनमा पुगे, जहाँ देउवा र सिटौला दुबैले महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गरे । सिटौलाले सभापतिमा देउवाजस्तो परिपक्व र महामन्त्रीमा प्रदीप पौडेलजस्ता युवाहरु समेटिएको टीम बनेको भन्दै जिताउन आग्रह गरे ।

कार्यक्रमा देउवाले सभापति र प्रधानमन्त्री फरकफरक व्यक्ति हुँदा विगतमा पार्टी कमजोर भएको प्रसंग उल्लेख गर्दै आफूलाई विजयी गराउन महाधिवेशन प्रतिनिधिसँग आग्रह गरे । ‘प्रधानमन्त्री र पार्टी सभापति फरक–फरक व्यक्ति हुँदा सरकार र पार्टी दुबै कमजोर भएको इतिहास छ । त्यसैले अहिले मेरो हार जितको विषय होइन, प्रजातन्त्र बचाउनु छ, कांग्रेसलाई जिताउनु छ । त्यसका लागि मलाई तपाईंहरुले जिताउनुस्,’ देउवाले आइतबार साँझ महाधिवेशन प्रतिनिधिहरु सहभागी एक कार्यक्रममा भने, ‘हिजो को कता थियो, त्यतातर्फ नजाऔं । अहिले प्रजातन्त्र जोगाउन सभापति र प्रधानमन्त्री एकै व्यक्ति हुनु जरूरी छ ।’

पदाधिकारीका उम्मेदवारसँगै भृकुटीमण्डपमा शेखर

महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवालाई बलियो चुनौती दिने उम्मेदवार हुन् डा. शेखर कोइराला । कोइराला रामचन्द्र पौडेल समूहबाट साझा उम्मेदवार बन्न सफल भएनन्, पूर्वमहामन्त्री प्रकाशमान सिंहले ‘बिद्रोह’ गर्दै सभापतिमा उम्मेदवारी दिए ।

तर पौडेल समूहको ठूलो टीम उनीसँगै रह्यो । पहिलो चरणमा जित्नबाट देउवालाई रोक्ने र दोस्रो चरणमा बाँकी सभापतिका उम्मेदवारहरुको समर्थनमा प्रतिस्पर्धा गर्ने रणनीति कोइरालाको छ । किनकी कांग्रेसमा सभापति पदमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशत भन्दा बढी मत ल्याउनुपर्छ । आइतबार दिउँसो आफ्नो पदाधिकारीको टीमसहित भृकुटीमण्डप पुगेका शेखरले पनि महाधिवेशन प्रतिनिधिसँग मत माग्दै कांग्रेसको नेतृत्व परिवर्तनका पक्षमा उभिन आग्रह गरे ।

शेखर भृकुटीमण्डमा पुग्दा प्रकाशमान सिंहको समूहबाट महामन्त्रीमा उम्मेदवार बनेका विश्वप्रकाश शर्मा पनि प्रतिनिधिहरुसँग मत मागिरहेका थिए । कोइराला समूहबाट महामन्त्रीका उम्मेदवार डा. मिनेन्द्र रिजाल र प्रवक्तासमेत रहेका शर्माले अंगालो हालेर तस्वीर खिचाउँदा महाधिवेशन प्रतिनिधिहरुले ताली बजाए ।

महाधिवेशनमा फरक–फरक गुटबाट प्रतिस्पर्धामा उत्रिएका नेताहरु जब मत माग्दै एकै ठाउँमा पुग्थे, उनीहरु एकअर्कालाई विजयका लागि शुभकामना साटासाट गरिरहेको दृश्य निकै रोचक देखिन्थ्यो ।

भुकृटीमण्डपमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापासँग तस्वीर खिचाउनेको भीड लाग्यो । मतदाताहरुकै बीचबाट साँझ बत्तिसपुतलीमा पत्रकार सम्मेलन गर्न पुगेका शेखर कोइराला र गगन थापालगायतसँग सेल्फी खिच्न चाहनेहरुको भीड देखेपछि थापाले त्यसो नगरिदिन आग्रह नै गर्नुपरेको थियो । ‘मलाइ माया गर्ने साथीहरुले फोटो नखिचेर सहयोग गरिदिनुहोस्,’थापाले भनेका थिए ।

अर्का महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलप्रति पनि महाधिवेशन प्रतिनिधिको आकर्षण उस्तै देखिन्थ्यो ।

सभापतिका अर्का उम्मेदवार निधि मत माग्न भृकुटीमण्डप पुगेका थिए । महाधिवेशन परिणामबारे उनको दाबी छ, ‘पहिलो चरणमा कसैको पनि बहुमत आउँदैन । दोस्रो चरणमा देउवाविरुद्ध सबै एक ठाउँमा हुन्छौं ।’

लेखकको बारेमा
खगेन्द्र भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?