+
+

लक्ष्मीको जीवनशैली : मेकअप गरेर नहिँड्ने, ड्रेसअपमा औसत

सुशील नेपाल सुशील नेपाल
२०७८ मंसिर २७ गते १२:०८

२७ मंसिर, काठमाडौं । रंगमञ्चको आलोकमा टेकेर उदाएकी अभिनेत्री हुन्, लक्ष्मी बर्देवा । संख्यात्मक हिसाबले धेरै सिनेमा नभएपनि उनको अभिनयले दर्शकमा गहिरो छाप छाडेको छ । जस्तो– घामपानी, डमरुको डन्डिबियो, बुलबुल ।

भलै यी चलचित्रमा उनको मुख्य भूमिका छैन । सबैमा उनी सहायक भूमिका लिएर प्रकट भएकी छन् । यद्यपि उनको अभिनय यति माझिएको छ कि, मुख्य चरित्रका लागि चुनौती बनेको छ ।

‘चपली हाइट ३’, ‘प्रेम गीत ३’ जस्ता उनी अभिनित चलचित्र प्रदर्शनको तयारीमा छन् । लक्ष्मी अभिनित ‘परानै दिन्छु’, ‘जेल पनि सहुँला’ जस्ता थुप्रै म्युजिक भिडियोलाई दर्शकले निकै रुचाएका छन् । म्युजिक भिडियोको निर्देशन समेत गर्दै आएकी लक्ष्मीको कसरी बित्छ दैनिकी ? कस्तो छ जीवनशैली ? उनकै शब्दमा ।

हिजोआज ७ नबजी उठिँदैन

कलाकारको दैनिकी सधैं एउटै हुँदैन । आज जस्तो दैनिकी हुन्छ, भोलि त्यो भन्दा फरक हुनसक्छ । मेरो दैनिकी पनि एकैनासको हुँदैन । अघिल्लो दिन ‘लेट नाइट’सम्म सुटिङ थियो भने बिहान उठ्ने यकिन हुँदैन । सुटिङमा जानुपर्ने छ भने साढे ४ बजे नै पनि उठ्नुपर्ने हुनसक्छ ।

त्यो बाहेक सामान्य अवस्थामा पनि जाडो र गर्मी याममा उठ्ने समय फरक हुन्छ । गर्मी याममा ६ बजे उठ्छु । जाडोयाममा हिजोआज ७ नबजी उठिँदैन । मोबाइलमा ‘अलार्म’ त राखेकी हुन्छु, तर निद्रा खुल्नका लागि ‘अलार्म’को घण्टी आवश्यक पर्दैन । ‘अलार्म’ बज्नुभन्दा अगाडि नै आँखा खुलिसकेको हुन्छ ।

बिस्ताराबाट बाहिर निस्कँना साथ पानी तताउने काम हुन्छ । फ्रेस हुनुभन्दा अगाडि दुई गिलास तातोपानी पिउँछु । त्यसपछि फ्रेस हुन्छु । अनि, ब्ल्याक कफी पिउँछु । बिहान खाजा खाने बानी चाहिं छैन ।

जिममा दुई घण्टा

हामी (श्रीमान् जीवन भट्टराई र म) पहिले घरमै शारीरिक व्यायाम गथ्र्यौं । तीन महिनाजति भयो, हामी जिम जान थालेका छौं । अहिले दुवै जना ८ बजे जिम जान्छौं । त्यहाँ करिब २ घण्टा बिताउँछौं । १० बजेतिर हामी घर फर्किन्छौं ।

खासमा म पछिल्लो समय ‘हेल्थ कन्सस’ भएकी छु । म मोटाउँदा-मोटाउँदै आफैंलाई असहज महसुस हुन थाल्यो । कतै कार्यक्रममा जाँदा होस् वा कतै हिँड्नुपर्दा । वा, कतै हाईकिङ जाँदा होस् एकदमै असहज महसुस हुन्थ्यो । हिँड्दा पनि सास फुलेजस्तो हुने, हिँड्न नसकेजस्तो हुने, केही काम गर्न नसकेको जस्तो हुन्थ्यो । आफूमा आफैंलाई सन्तुष्टि नभएजस्तो भयो । त्यसपछि हेल्थप्रति अलिकति कन्सस हुन थालें । एउटा अनुभव पनि हो, राम्रो पनि हुन्छ भनेर शुरु गरेकी हुँ । यो लकडाउनभन्दा अगाडिको कुरा थियो । लकडाउनको समयमा त्यो चिन्ताप्रति डेडिकेटेट भएर लागेकी थिएँ ।

मेरो खानपान

जिमबाट १० बजेतिर घर फर्केपछि खाना बनाउने काम हुन्छ । हामी खाना बराबरीजसो बनाउँछौं । बिहान खाना खाँदा ११ देखि १२ बज्छ । बिहान खाना चाहिं दुईथरी बनाउनुपर्छ । एकथरी मेरो लागि, एकथरी श्रीमानको लागि । म तेलमा पकाएको चिल्लो तरकारी खाँदिन । उसिनेर बोयल गरेको खानेकुरा वा दाल मात्रै बनाउँछु । म बच्चैदेखि भेजिटेरियन हुँ । श्रीमानका लागि चाहिं चिकेन पनि बनाउनुपर्छ ।

मलाई खानेकुरामा यो मन पर्दैन भन्ने छैन । हेल्दी हुनुपर्‍यो, धेरै चिल्लोपिरो नभएको हुनुपर्‍यो । धेरै नुन नभएको सादा खालको खानेकुरा भए हुन्छ । मलाई स्पेशल लाग्ने चाहिं घिउमा रातो खुर्सानी फुराएर बनाएको साग एकदमै मनपर्छ । हाम्रो भान्सामा प्रायः साग छुट्दैन । बेलुका म खाना खाँदिन । ओड्स वा बोयल साग केही खान्छु ।

सुटिङमा पनि मेरो खाना छुट्टै हुन्छ । ‘हेल्थ कन्सस’ हुन थालिसकेपछि ‘डाइट’मा ध्यान दिन थालेकी छु । क्यालोरी काउन्ट गरेर खान थालेकी छु । खाना मात्र होइन, खाजा पनि हामी बाहिर खान खासै रुचाउँदैनौं । बाहिरी भन्दा घरको भान्सामा पकाएको खानेकुरा धेरै स्वादिलो लाग्छ ।

भान्सामा काम गर्न मलाई एकदमै जाँगर चल्छ । खानेकुरा म जे पनि मीठो बनाउँछु जस्तो लाग्छ । धेरैले मीठो बनाउँछौं भन्नुहुन्छ । मासु आफूले नबनाएपनि मीठो बनाउँछु भन्नुहुन्छ । मैले बनाएको च्याउको छोइला एकदमै मीठो हुन्छ । पुलाउ पनि मीठो बनाउँछु । जे होस् धेरै परिकार मीठो बनाउँछु जस्तो लाग्छ । र, अरुले पनि त्यही भन्नुहुन्छ ।

मेरो दिनचर्या

चलचित्र, म्युजिक भिडियो सुटिङमा त बाहिर हुने भइयो । त्यो बाहेक मिटिङ वा अरु केही काम छ भने घरबाहिर निस्किने हो । नत्र काम नभईकन बाहिर खासै निस्किँदिन । हामी दुवै जना काम नहुँदा बाहिर निस्किन त्यति रुचाउँदैनौं ।

प्रायः घरमै दिन बितिरहेको हुन्छ । बिहान खाना खाएपनि भाडा माझ्ने, कोठा सफा गर्ने काम हुन्छ । यी काम दुईजना मिलेर नै गर्छौ ।

त्यसपछि आज कुन फिल्म हेर्ने अथवा सिरिज हेर्ने सल्लाह गछौं । हामी घरमा नयाँ फिल्म वा सिरिज केही न केही ल्यापटपमा हेरिरहेका हुन्छौं । त्यसरी पनि दिन बितिरहेको हुन्छ । कहिले, मेरो स्क्रिप्ट लेख्नु छ भने त्यसमा पनि दिउँसोको समय बित्छ ।

त्यो बाहेक नयाँ म्युजिक भिडियो, टीकटक, इन्ट्राग्रामतिर पनि दिउँसोको केही समय बितिरहेको हुन्छु । फेसबुक म खासै चलाउँदिन । कहिलेकाँही म्यासेन्जर मात्र राखेर फेसबुक अनस्टल पनि हुन्छ ।

काम नहुँदाको दिन यसरी नै बितिरहेको हुन्छ । बाहिर भयौं भने ८ बजेभित्र घर फर्किन पाइयोस भन्ने लाग्छ । गर्मीयाममा ८ भित्र, जाडोयाममा प्रायः ७ भित्र फर्किसकेका हुन्छौं । अर्कोदिन सुटिङ वा अन्य काम भए त्यसको तयारी हुन्छ । कहिलेकाहिँ साँझको समयमा पनि फिल्म वा सिरिज हेर्ने काम पनि हुन्छ । सुत्दा त्यही १० देखि ११ बज्छ ।

मेकअप गरेर हिँडदिन, ड्रेसअपमा औसत

घरबाहिर निस्किनुपर्दा तयार हुन मलाई धेरै समय लाग्दैन । मेकअप गर्नको लागि समय लाग्ने हो । तर, म मेकअप गरेर हिँड्दिन, मैले प्रयोग गर्ने ‘सन्सक्रिन’ मात्र हो ।

ड्रेसअपको सन्दर्भमा म औसत भएजस्तो लाग्छ । धेरै असजिलो ड्रेसअपको प्रयोग र झकिझकाउ भएर हिँडन मन लाग्दैन । क्याजुअल ड्रेसमा कम्फर्ट महसुस गर्छु। र, त्यस्तै कपडा प्रयोग गर्छु । कपडा किन्न चाहिं म धेरै नै किनिरहेकी हुन्छु । दोहोर्‍याएर प्रयोग गरेकोजस्तो नदेखियोस् लाग्छ । कपडामा ब्राण्डमा म धेरै कन्सस छैन ।

मेरो चावहिलमा रेगुलर लिइरहने एक/दुईवटा ठाउँहरु छन् प्राय: त्यहींबाट किन्छु । जुत्तामा चाहिं म अलि बढी सौखिन हुँ । जुत्ताहरु धेरै नै किनिरहेकी हुन्छु । पहिरनमा रंगको कुरा गर्दा मलाई सेतो एकदमै मनपर्छ । निलो रंगको कपडा भने रहेनछ । नत्र, पहिरनमा रंगको भेरियसन चाहिं हुन्छ ।

अभिनय बाहिरी रुचि

निर्देशन मेरो अभिनय बाहिरको पहिलो रुचि हो । त्यस्तै मलाई लेख्न एकदमै मनपर्छ । आफ्नो फिलिङ्स लेखनमार्फत व्यक्त गर्न रुचाउँछु ।

त्यस्तै, इन्टेरियर डिजाइजमा एकदमै रुचि छ । आफ्नो रुमको सेटअप गर्ने, सेटअप चेञ्ज गर्ने गरिरहेकी हुन्छ । अलिकति बढी रुचि घुम्नमा पनि हो । घुम्नकै लागि कतै जाने भन्दापनि छायाँकनकै क्रममा धेरै ठाउँ पुगेकी छु । छायाँकनका लागि कतै जाँदा समय मिल्यो भने त्यहाँको वरिपरिको ठाउँहरु हेर्न मनपर्छ ।

सबैलाई माया गर्छुजस्तो लाग्छ

आफ्नो मनपर्ने स्वभाव त के भनौं र ? म सबैलाई माया गर्छु कि जस्तो लाग्छ । यद्यपि त्यो स्वभावले दुःख चाहिं पाइरहेकी हुन्छु । काममा ध्यान दिने, सबैको ख्याल गर्ने गर्छु । समय व्यवस्थापन एकदमै गर्छु । मलाई टाइममा पंचुअल एकदमै मनपर्छ । आफू पनि पंचुअल छु जस्तो लाग्छ । अल्छी छैन, एक्टिभ छु । सुधार्न पाए भन्ने बानी त्यस्तो छैन । सबैलाई विश्वास गर्ने बानी छ । अलिकति स्वार्थी पनि हुन पाए हुन्थ्यो लाग्छ तर सकिरहेकी छैन ।

आफ्नो जीवनशैली व्यवस्थित लाग्छ

समग्रमा आफ्नो जीवनशैली धेरै व्यवस्थित भएजस्तो लाग्छ । धेरै जनाको हेर्दा मेरो आफूलाई समय दिनेखालको डेलिरुटिङ भएजस्तो लाग्छ ।

दुई-तीन वर्षअघिको मेरो जीवनशैली हेर्दा उठ्ने टुंगो थिएन, सुत्ने टुंगो थिएन । सकेसम्म बाहिरबाट अर्डर गरेर खान पाए हुन्थ्यो लाग्थ्यो । आफ्नो लागि केही नसोचेर सहजता खोजिन्थ्यो भने अहिले त्यस्तो छैन । धेरै म्यानेज छ कि जस्तो लाग्छ ।

लेखकको बारेमा
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?