+
+

प्रचण्डमाथि खनिए शेयर लगानीकर्ता

रोयल आचार्य रोयल आचार्य
२०७८ मंसिर २७ गते २१:४९
शेयरबजार मैत्री नीति माग्दै भेला भएका लगानीकर्ता

२७ मंसिर, काठमाडौं । गत शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेयर बजारबारे दिएको अभिव्यक्तिले सेयर बजार तरंगित भएको छ । उनले धितोपत्र साम्राज्यवादको विकसित रुप भएको भन्दै पुँजीको लगानी पुँजीमै हुनु दुखद भएको टिप्पणी गरेका थिए ।

प्रचण्ड सत्ता साझेदार दलको नेता मात्र होइनन्, उनकै पार्टीका नेता जनार्दन शर्माले अर्थ मन्त्रालय सम्हालिरहेका छन् । शेयर बजारप्रति नकारात्मक टिप्पणी गरेको भन्दै कतिपय लगानीकर्ता प्रचण्डप्रति खनिएका छन् ।

सरकारको प्रमुख सल्लाहकार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले प्रचण्डको अभिव्यक्तिको खण्डन गरेका छन् । उनले शेयर बजार जुवा वा साम्राज्यवादको साधन भन्नु गलत भएको मात्रैै भनेनन् शेयर बजार आफ्नो सम्पत्ति सुरक्षित राख्ने एक वैकल्पिक माध्यम भएको पनि दावी गरे । विवेकशील साझा पार्टीले प्रचण्डको अभिव्यक्तिलाई गैर जिम्मेवार भन्दै फिर्ता लिन आग्रह गरेको छ ।

शेयर बजारका साना ठूला लगानीकर्ताले सामाजिक सञ्जालमार्फत प्रचण्डको अभिव्यक्तिको आलोचना गरेका छन् । ३२ सय विन्दु भन्दा माथि पुगेको बजार पछिल्लो समय लगातार घटेर सोमबारसम्म २२ सय हाराहारीमा झरेको छ ।

शेयर बजार लगातार घटिरहेको अवस्थामा प्रचण्डको अभिव्यक्तिले नुनचुक थप्ने काम गरेको शेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडल बताउँछन् । बजारबारे नबुझी जथाभावी अभिव्यक्ति दिँदा लगानीकर्ताले १२ खर्ब रुपैयाँ पुँजी गुमाउनुपरेको उनले दावी गरे ।

बैंकिङ विज्ञ पर्शुराम कुँवर क्षेत्री प्रचण्डको अभिव्यक्ति गलत भएको बताउँछन् । नेताहरुले बुझेर मात्रैै बोल्नुपर्ने उनको भनाइ छ । धेरै चिनिया कम्पनी अमेरिकी स्टक एक्सचेञ्जमा सूचीकृत भएर शेयर कारोबार भइरहेको भन्दै उनले प्रश्न गरेका छन्, ‘के चीन पनि साम्राज्यवादको विकसित रुप हो त ?’

नेपालमा शेयर कारोबार गर्ने एउटा मात्रैै निकाय नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) छ । छिमेकी मुलुक भारतमा नेशनल स्टक एक्सचेञ्ज -एनएसई) र बम्बई स्टक एक्सचेञ्ज -बीएसई) गरी दुईवटा स्टक एक्सचेञ्जमार्फत शेयर कारोबार हुँदै आएको छ । कम्युनिष्ट शासन भएको चीनमा तीन वटा स्टक एक्सचेञ्जहरु छन् । तीमध्येसंघई स्टक एक्सचेञ्ज विश्वकै तेस्रो ठूलो स्टक एक्सचेञ्ज हो ।

नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुली प्रचण्डको अभिव्यक्ति गलत भएको बताउँछन् । ‘चीनमा ३ वटा ठूला स्टक एक्सचेन्ज छन्, सांघाई संसारकै तेस्रो ठूलो हो । कसैले उहाँलाई भन्दिए हुन्थ्यो’ उनले प्रचण्डलाई लक्षित गर्दै टि्वटरमा लेखेका छन् ।

सचिवालयको प्रष्टोक्ति

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले प्रचण्डको अभिव्यक्तिको बचाउ गरेका छन् । ‘पुँजीबजारबारे अध्यक्ष कमरेड प्रचण्डले हिजो राखेको सैद्धान्तिक विषय एकदम सही छ । यद्यपि, अहिलेको नेपाली पुँजी/शेयर बजारमा लगानीकर्ताको लगानी संरक्षण गर्न, त्यसमा अझ बढी साना लगानीकर्ताको हित संरक्षण गर्न पार्टीले सचेत पहल र प्रयत्न गर्ने विषयलाई हामी स्पष्ट गर्न चाहन्छौँ’ उनले ट्वीटरमा भनेका छन् ।

प्रचण्डको अभिव्यक्तिको आलोचना भइरहेका बेला उनकै पार्टीका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले सोमबार आयोजित एक कार्यक्रममा सबै लगानीकर्ताको लगानी संरक्षण गर्न अर्थ मन्त्रालय गम्भीर रहेको बताए ।

बिमा समितिको कार्यालय भवन शिलान्यासका क्रममा अर्थमन्त्री शर्माले मन्त्रालयले बजारमा अनियमितता गर्नेविरुद्ध छानबिन गरेर कारबाहीसमेत गरिसकेको जानकारी गराए ।

शेयर बजारका विश्लेषक हरिकुमार कार्की मौदि्रक नीतिको व्यवस्थाका कारण शेयर बजार घट्न थालेको र प्रचण्डको अभिव्यक्तिले त्यसमा मलजल गरेको बताउँछन् । तर बजारमा सुधार हुनका लागि नीतिगत सुधार नै आवश्यक रहेको उनको भनाइ छ ।

प्रचण्डको सचिवालयले उनको अभिव्यक्ति सच्याउन खोजे पनि स्पष्ट नभएको बताए । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रले आफ्ना सक्रिय/क्रियाशील सदस्य ८/१० लाख पुगेकामा गर्व गरिरहेको भन्दै कार्की भन्छन्, ‘यहाँ (शेयर) बजारमा त आधा करोड मान्छे छन्, त्यो कुरा राजनीतिक दलले बुझ्नुपर्‍यो ।’

भोटको राजनीति गर्ने दलहरुले भोलि शेयर बजारकै कारण महंगो मूल्य चुकाउनुपर्ने कार्की बताउँछन् । शेयर बजारबारे अरु दलहरुको भनाइ पनि आउनुपर्ने उनको भनाइ छ ।

अर्थमन्त्री शर्माले सार्वजनिक मञ्चबाटै पुँजीबजारबारे गम्भीर रहेको बताए पनि बजारप्रति सरकार गम्भीर नभएको लगानीकर्ताहरु बताउँछन् ।

लामो समयदेखि धितोपत्र बोर्डका अध्यक्ष र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत पद रिक्त राख्नुले सरकारको बेवास्ता झल्किने शेयर विश्लेषक कार्की बताउँछन् ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?