+
+

कथा : नमुना

प्रवीण तुम्बापो प्रवीण तुम्बापो
२०७८ मंसिर २८ गते १२:३७
प्रतीकात्मक तस्वीर

नमुना त टार्जनसँग पोइला गई रे !

आ, सानी छे अलिकपछि धोका दिन्छे ।

नमुनाको पेटमा एक महीनाको बच्चा छ रे !

मलाई त पहिलादेखि नै थाहा थियो ।

यस्तै यस्तै प्रमाणित र अप्रमाणित कुराहरू हसनपुरको घर–घर, चोक–चोकमा फैलियो, जब नमुना आफ्नो उमेरभन्दा तीनगुणा बढीको टार्जनसँग टाप कसेकी थिई ।

****

पूर्वी नेपालको हसनपुर गाउँ नाम जस्तै सुन्दर र रमाइलो थियो । गाउँको छेउमा एकनासले बगिरहने ठूलीखोला अझै सुन्दरता थप्दै बगिरहेछ ।

राजमानटार, हसनपुर गाउँभन्दा पारिको गाउँ । जो सदियौंदेखि हसनपुर गाउँलाई एकनासले कुनै युवतीले शृंगारको बेला ऐना हेरे झैं हेरिराख्या छ । राजमानटार आठ घरले बनेको बस्ती हो । बस्तीभन्दा सीधै माथि नाक ठोक्किने अक्करे भीर छ ।

घर मूलबाटो छेउमा भएकाले, जहाँ गए पनि बीरेदाइको घर भएर जानुपर्थ्यो । चाउचाउ, बिस्कुट, मिठाई र लोकल रूपमा उत्पादन हुने रक्सीदेखि टाढाबाट सवार हुने बियर, भोड्का र रम समेत बीरेदाइको पसलमा पाइन्थ्यो ।

ब्राह्मण, क्षेत्री, जनजाति र दलितहरूको बसोबास भएको हसनपुर । मानिसको जात अनुसारको उपस्थिति हेर्दा खिचडी जस्तै छ । यसै समाजको सदस्य हुन् रूपमती र वीरबहादुर । नमुना उनीहरूकै प्यारी छोरी ।

गाउँमा नमुनालाई धेरै तरिकाले चिनिन्थ्यो । रूपमती र वीरबहादुरको एकमात्र सन्तान, हसनपुरको राम्री र प्यारी किशोरी । अझ गाउँकै असल, ज्ञानी र आज्ञाकारी छोरी ।

प्रवीन तुम्बापो

नमुना हसनपुरका किशोरमाझ प्रिय थिई । दुईभन्दा बढी किशोरहरूको भेट हुनेबित्तिकै नमुनाको चर्चा गर्थे । नमुनाबारे गफ निकाल्थे । प्रायः गफ उसको रूप र कार्यप्रति केन्द्रित हुन्थ्यो । कोही किशोरले नमुनासँग बोले मात्र पनि संसार जित्या जस्तै ठान्थ्यो ।

वीरबहादुरलाई गाउँमा धेरैले बीरेदाइ भनेर बोलाउँथे । वीरेदाइले घरमा सानो पसल राख्या थिए । घर मूलबाटो छेउमा भएकाले, जहाँ गए पनि बीरेदाइको घर भएर जानुपर्थ्यो । चाउचाउ, बिस्कुट, मिठाई र लोकल रूपमा उत्पादन हुने रक्सीदेखि टाढाबाट सवार हुने बियर, भोड्का र रम समेत बीरेदाइको पसलमा पाइन्थ्यो । सबभन्दा खुशी ती मनुवाहरू थिए, जो दिनभर क्यारेम खेलेर समयको भरपूर सदुपयोग गर्थे र साँझ झ्याप भएर घर फर्कन्थे ।

धेरैले वीरेदाइको घर पुगेपछि नयाँ खबर थाहा पाउँथे । एक तरिकाले भन्ने हो भने वीरेदाइको घर गाउँको लागि अघोषित सूचना केन्द्र जस्तै थियो । आउँदा समाचार लिएर आउने, जाँदा अर्को समाचार लिएर जाने ।

गाउँमा एकदिन नौला मान्छेहरू आए, बीरेदाइसँग गफगाफ गरेर पारि राजमानटार हान्निए । केही दिनपछि उही मान्छेहरू आए गफगाफ गरेर फर्के । ती नौला मान्छेहरू फर्केको दिनबाट गाउँभरि हल्ला चल्यो ‘राजमानटारको बस्ती उठ्ने रे, त्यहाँ सिमेन्ट कम्पनी आउने रे !’

यो अपुष्ट खबर एक कान दुई कान गर्दै पूरै गाउँभरि फैलियो । शुरूमा मानिसलाई विश्वास लागेको थिएन । यो अक्करे भीरमा कहाँ होला र सिमेन्ट ? प्रायः सबैको मनमा यो प्रश्न हुन्थ्यो, कतिले भन्थे कतिले मन भित्र राख्थे । तर जब राजमानटारको जमीन सुनको मूल्यमा बिक्री भयो र राजमानटारवासी बसाइँ सर्न सुरसार गर्न थाले तब सबै शंका दूर भए, सबै विश्वस्त भए । वीरेदाइले नि अनुरोध गरे जग्गा किनिदिन तर कम्पनीलाई हसनपुरको जग्गा आवश्यक नभएकाले वीरेदाइको जग्गा बिक्री भएन । उता राजमानटारमा घरजग्गा कम्पनीले किनेपछि, जमानटारवासीहरूले आफूसँग भएको अन्न र पशुपन्छी पनि बेच्न थाले र नयाँ वासस्थानको लागि तराईमा ठाउँ खोज्न थाले । राजमानटारका बासिन्दाहरूले बेच्न मिल्ने बेचे र दिन मिल्ने छिमेकी र आफन्तहरूलाई दिए ।

स्थायी रूपमा राजमानटार छाड्नु अघि राजमानटारवासीले एकअर्कालाई खाना खुवाए, सुख–दुःखका कुरा गरे । बीरेदाइले नि राजमानटारका छिमेकीहरूलाई बसाइँ सर्नुअघि सबैलाई एक छाक खाना दिए ।

राजमानटार खाली भएको केही समयपछि गाउँमा मोटर बाटो खन्न डोजर आयो । पहिला बाटो भएको र ऐलानी जग्गामा डोजर हिंड्न कुनै समस्या थिएन तर जब व्यक्तिको जग्गा र घर छेउबाट बाटो लैजानुपर्थ्यो तब समस्या नै समस्याको थुप्रो हुन्थ्यो । त्यो समस्या भित्र सबैको आ–आफ्नो स्वार्थ, सोच हुन्थ्यो । यति मात्र नभएर राजनीतिक दलका स्वार्थ र माग समेत हुन्थे । यसले गर्दा हसनपुरमा साना–ठूला विवाद र झगडा हुनथाल्यो । यी विवाद र झगडाले गर्दा मोटर बाटो खन्न निम्ति एउटा समिति नै जन्माउनु पर्‍यो ।

वेदप्रसाद ठटाल समितिको अध्यक्ष भए, बाँकी जग्गावालाहरूबाट मान्छे अनुसारको पद दिएर समितिलाई पूर्ण बनाए । समितिमा सबभन्दा छट्टु र चतुर वेदप्रसाद नै थिए । आफ्ना नजिकका मान्छेहरूलाई सजिलोको लागि समितिमा राख्या थिए । समितिमा बहुमत भएपछि आफ्नो र आफ्ना मान्छेहरूको अनुकूल मोटर बाटो खन्न लगाए साथै केही राम्रो रकम पनि हिनामिना गर्न सफल भए । जे होस् समितिको आदेश, स्थानीयहरूको अनुरोध र जग्गाधनीहरूको इशारामा थुप्रै पहाड र पहरा फोर्दै टार्जनले वीरेदाइको आँगनसम्म बाटो पुर्‍याए ।

कालो वर्ण, हल्का कपाल फुलेको, आँखा मुनि हल्का कालो दाग र छोटो कदको डोजर ड्राइभर टार्जन कुनै साउथ इन्डियन फिल्मको भिलेन जस्तो देखिन्थ्यो । टाढाबाट हेर्दा नै डोजर ड्राइभर जस्तो देखिने टार्जनको घर रामेछाप जिल्लामा हो । करीब एक दशक भन्दा बढी डोजर चलाएका टार्जन, डोजर चलाएर आफ्नो र परिवारको जीविका चलाउँथे । डोजर चलाएर नेपालको धेरै ठाउँ पुगेको टार्जन, आफ्नो ठेकेदारले डोजर चलाउन हसनपुर पठाएका थिए । टार्जनको खान र बस्नको लागि कम्पनीले जन्तरे साहुकोमा बन्दोबस्त मिलाएको थियो । दिनभर डोजर चलाउने टार्जन साँझतिर वीरेदाइको पसलमा एक–दुई प्याक रक्सी खान्थे । डोजर चलाउन सिपालु भएको कारण टार्जनको गाउँमा धेरैले प्रशंसा गर्थे । शुरूमा हसनपुरका तमाम बेरोजगारहरूका लागि डोजर रमिता र टाइम पास गर्ने गतिलो साधन भा’थियो । रमिता हेर्नेहरूको भीडले गर्दा टार्जनको शान यति बढेको थियो कि रमिताको बजार लाग्ने बित्तिकै टार्जनले थप जोश र जाँगरका साथ डोजर अनेक स्टाइलमा चलाउने गर्थे ।

शुरूमा नौलो मान्छे, त्यसपछि डोजर अनि ट्याक्टर गाउँमा आयो । नौलो मान्छेहरूले ठाउँ हेर्दै आए, डोजरले बाटो बनाउँदै आयो । हसनपुर गाउँ नि सडकमय बन्यो । डोजर ड्राइभर टार्जन उमेरले पैंतालीस बसन्त पार गर्‍या, ट्याक्टर ड्राइभर लालसिंह २२ वर्षको । टार्जनको  काम गाउँमा सडक खन्ने थियो भने लालसिंहको काम सदरमुकामबाट तेल र ग्याबिन ल्याउनेदेखि सडक मर्मतका लागि ढुंगा ओसार्नु थियो । तेल र ग्याबिन लिन बजार जानुपर्ने भएकाले उसको घुलमिल किशोरकिशोरी र युवायुवतीसँग बढी हुन्थ्यो । दिनभर गाउँमा डोजर चलाउनुपर्ने भएकाले टार्जनको चिनजान प्रायः केटाकेटी र बूढाबूढीसँग बढी थियो ।

गाउँभरि लालसिंह र सामनाको हल्ला चल्नु र नमुना नि मोबाइलमा बढी व्यस्त हुन थालेपछि नमुनाको मोबाइल उसका बाउआमाबाट जफत भयो । उनीहरूलाई पीर थियो आफ्नो छोरीको पनि सामनाको जस्तो कथा सुन्नु पर्ला भनेर ।

दिनमा प्रायः सँगै नभेटिने यी दुई जना साँझतिर वीरेदाइको पसलमा कहिलेकाहीं सँगै भेटिन्थे । खासमा यी दुई जनाको कुरा मिल्दैनथ्यो । एकले अर्कालाई मान्छे नै गन्दैनथे । मौका मिल्यो कि एकले अर्काको कुरा काट्न अगाडि बढ्थे । एकअर्काको पोल खोल्न आतुर हुन्थे, नराम्रो कुरा अरूलाई सुनाउथे । गाउँमा जतासुकै र वीरेदाइको घरबाट जति नै टाढा डोजरको काम भए पनि हरेक साँझ टार्जन वीरेदाइको पसलमा रक्सी खान पुग्थे, कहिलेकाहीं मातेर लालसिंह यस्तो उस्तो भनेर कुरा गर्थे ।

रक्सी खाने बानीका कारण टार्जनको हरेक साँझ वीरेदाइको पसलमा बित्न थाल्यो । साँझ मात्र देखा पर्ने टार्जन कहिलेकाहीं दिनमा नि देखा पर्थे । हुँदाहुँदा कहिलेकाहीं वीरेदाइ र टार्जन रातभर रक्सी र मासु खाँदै गफ गरेर बस्थे । यसरी साँझ, दिन र रात वीरेदाइको घरमा बित्न थाले पछि टार्जन र नमुनासँग सामीप्यता विस्तारै तिहार पछि जाडो बढे झैं हल्का हल्का गर्दै बढ्न थाल्यो ।

कम्पनीमा नयाँ कर्मचारी आउन थाले, नयाँ कर्मचारीहरूको आगमनसँगै वीरेदाइको व्यापारको ग्राफ ह्वात्तै बढ्यो । कर्मचारीहरू पसलमा आउँथे, कोही धुवाँ उडाउँथे, कोही रक्सी पिउँथे । धेरै कर्मचारीहरूलाई नमुनाको मन्द मुस्कानले लोभ्याएको थियो । हल्का मन्द मुस्कान सहित नम्र भाषामा बोल्ने नमुना, अलि अलि गर्दै टार्जनसँग बाक्लो कुरा गर्न थाली । कुरै कुरा टार्जन र नमुनाले एकअर्काको मनसम्म जाने कच्ची बाटो खनी सक्या रहेछन् । जुन कुरा न वीरेदाइलाई थाहा भो न अघोषित सूचना केन्द्रमा नै हल्ला भो ।

बरू एक दिन अचानक टार्जनले वीरेदाइको घरमा एउटा ब्रेकिंग न्यूज दियो– लालसिंह र डाँडाघरे सामनाको लभ पर्‍या छ ।’

यो खबर सुनेपछि सब जना छक्क परे । ‘जात मिल्छ, मन मिले के फरक पर्छ ?’ वेदप्रसादले उल्टै सोधे । टार्जनले फेरि अर्को कुराको खुलासा गरे  ‘लालसिंहको घरमा बूढी र एक छोरी छ ।’ टार्जनको कुरा भुइँमा खस्न नपाउँदै त्यहाँ भएका मान्छेहरूले यो खबर घर घरमा पुर्‍याए र गाउँलाई एकैछिनमा लालसिंह र सामनामय बनाए ।

गाउँभरि लालसिंह र सामनाको हल्ला चल्नु र नमुना नि मोबाइलमा बढी व्यस्त हुन थालेपछि नमुनाको मोबाइल उसका बाउआमाबाट जफत भयो । उनीहरूलाई पीर थियो आफ्नो छोरीको पनि सामनाको जस्तो कथा सुन्नु पर्ला भनेर । मोबाइल नभए पनि टार्जन र नमुनाको सम्बन्धमा खासै अवरोध आएन । उनीहरूको सम्बन्ध यसरी चलेको थियो कि वीरेदाइ र रूपमती भाउजूलाई नमुना र टार्जन कुरा गर्दा कहिल्यै शंका गरेनन् । शंका गर्ने वातावरण पनि थिएन, कहिलेकाहीं टार्जन आफैंले नमुनालाई पढ्नुपर्छ भनेर अर्ति–उपदेश दिन्थे । बरू उनीहरूले हल्ला सुन्या थिए नमुना त पारि टारगाउँको उपेन्द्रसँग कुरा गर्छे, उपेन्द्रको प्रेममा छे । स्कूल र गाउँमा नि गाइँगुइँ हल्ला चलेको थियो । उनीहरूले सोचे छोरी उपेन्द्रसँग मोबाइलमा कुरा गर्छे ।

नमुनासँग मोबाइल नभए पनि स्कूल जाँदा, घर आउँदा बाटोमा टार्जनसँग भेटेर कुरा गर्थी । कहिलेकाहीं स्कूल छुट्टी भएपछि बरबोटे चौतारामा टार्जनलाई कुरेर दुवै जना सँगै घर जान्थे । बरबोटे चौतारादेखि वीरेदाइको घर जंगल नै जंगलको बाटो करीब आधा घण्टा लाग्थ्यो । आधा घण्टाको यात्राभरि एकअर्कासँग जिस्केर हिंड्थे ।

तेल र ग्याबिन लिन बजार जानुपर्ने भएकाले लालसिंह र सामनाको भेट साँझ कि राति मात्र हुन्थ्यो । एक रात सामनाको दाइ भक्ते खेतमा पानी लगाएर आउँदै गर्दा अँध्यारोमा केही चले जस्तो देख्यो, शुरूमा त डरायो, भूतहरूको अनेक कथा सुनेको हुनाले, भूत होला भनेर सास मारेर विस्तारै हिंड्यो । नजिक पुग्दा त अम्मा हाउ आफ्नो बहिनी र लालसिंह पो प्रेममा मस्त रहेछन् । यस घटनापछि रातारात गाउँमा पञ्च भलाद्मी बसे, लुकी चोरी माया लाएर दुर्गन्ध फैलाएर हिंड्नु भन्दा आफ्नो बाटो लाग्नू जाती भन्दै लालसिंह र सामनालाई गाउँ छाड्न पञ्च भलाद्मीहरूले निर्णय सुनाए ।

लालसिंहको तर्फबाट बोल्ने कोही थिएन । उसको आश एकै कम्पनीमा काम गरेकाले टार्जनसँग थियो तर टार्जन पनि चूप बसेका थिए । लालसिंह यहीं बस्ने, यहीं बिहे गर्ने र कम्पनीमा काम गर्ने विचारमा थिए तर उसले भन्न सकेन आफ्नो प्रस्ताव र लास्टमा पञ्च भलाद्मीको आदेश अनुसार कुम्लो–कुटुरो लिएर सामना सहित आफ्नो बाटो लागे । लालसिंह र सामनालाई पुर्याउन गाउँका रोजन, लक्ष्मण लगायतका केटाहरू बजारसम्म गए । केटाहरू माँझ बस चढ्नु अघि लालसिंहले आफ्नो नोकरी गएको पीडा सहित भविष्यवाणी गर्‍यो– ‘चाँडै टार्जनको पनि मेरो भन्दा खतरा हाल हुनेछ ।’

यसैबीच गाउँमा अचानक नमुनाको एउटा गोप्य मोबाइल भएको र टार्जनसँग गहिरो प्रेममा भएको हल्ला आयो । यो हल्ला होइन सत्य हो भनेर कतिले ठोकुवा गरे, नमुना र टार्जनलाई धेरै ठाउँमा सँगै भेट्टाएको दाबी गरे । अर्का थरीका मान्छेहरू यो सब हल्ला मात्र हो उसको उपेन्द्रसँग प्रेम छ भन्थे । विस्तारै नमुना र टार्जनको माया गाउँमा देखिन थाल्यो । मायाको गन्ध चल्न थाल्यो, यति मात्र नभएर कतिले उनीहरूलाई बरबोटे चौतारामुनिको जंगलमा प्रेमिल अवस्थामा देखेका थिए । देख्ने र सुन्ने जतिले वीरेदाइ र रूपमती भाउजूलाई नमुना र टार्जनको कुराहरू सुनाए तर उनीहरूले एकरत्ति नि विश्वास गरेनन् यो कुरा । नमुनाका आफन्तहरूले सम्झाए, कतिले कराए पनि, जति गर्दा नि नमुनाले आफ्नो प्रेम कहानी स्वीकार गरिनन्, आफू आजसम्म कसैको प्रेममा नभएको भन्थी ।

किशोर–किशोरी माझ भाइरल भएको टार्जन र नमुनाको प्रेम कथा एक्कासी ब्रेकिंग न्यूजमा परिणत भयो । जब टार्जन र नमुना हसनपुरबाट एक्कासी बेपत्ता भए । टार्जन उमेरले पाको र आफ्नो भन्दा नि छोराको बिहे गर्ने बेला भएको मान्छे । अर्को कुरा नमुना भर्खर पन्ध्र वर्षमा पाइला राख्दै गरेकी र उसको उमेरको उपेन्द्रसँग हल्का हिमचिम भएको । यही कारण धेरैलाई विश्वास गर्न गाह्रो भएको थियो । शंका र उपशंकाबीच बीरेदाइको घरमा आफन्तहरूको भेला हुन थाल्यो । वीरेदाइ र रूपमती भाउजू अँध्यारो मुख लिएर टार्जनको मोबाइल नम्बर डाइल गर्दैथिए । नमुना र टार्जनसँगै बेपत्ता भएपछि आफन्तहरू नमुनासँग रिसाए । हसनपुरवासी सत्यतथ्य बुझ्ने हेतुले वीरेदाइको घरमा आए । सबैले भागे भनेर शंका गरे । त्यो शंका त्यति खेर सत्यमा बदलियो जब डोजर सहयोगी पेम्बाले उनीहरू राजीखुशी बिहान करीब तीन बजे गाउँ छाडेको भने ।

धेरै कुराको बेमेल र आफन्तहरूको असहमति बीच नमुनाले प्रेमको नमुना पेश गर्दै गाउँबाट टार्जनसँग सुटुक्क बेपत्ता भई । गाउँमा केटाहरूले विभिन्न समूह बनाएर सम्भावित र शंकास्पद ठाउँ र नजिकको मोटर बाटोसम्म खोजी गरे । जहाँ जहाँ हुनसक्ने अनुमान लगाएका थिए, त्यहाँ नमुना र टार्जनको छायाँसम्म भेटेनन् ।

यी कथाहरू क्रमशः हराउँदै गए, जसरी हसनपुरबाट दुई जोडी मान्छे हराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?