+
+

नेपालको शेयर बजारमा भड्किएका मनहरू…

डा. डिजन भट्टराई डा. डिजन भट्टराई
२०७८ मंसिर २८ गते १५:४१

‘शेयर बजार साम्राज्यवादको साधन’, ‘शेयर बजार जुवाघर’, ‘शेयर बजार विरोधीलाई नो भोट अभियान’, ‘शेयर बजारमा सर्वसाधारणको १२ खर्ब भन्दा बढी सम्पत्ति डुब्यो’ यी र यस्तै धेरै शीर्षकले हिजो–आज नेपाली छापाहरू रंगिइरहेको देख्न पाइन्छ ।

शेयर बजार पूँजी संकलन र परिचालनका लागि पूँजीवादी अर्थ–व्यवस्थाको एउटा महत्वपूर्ण खम्बाका रूपमा स्थापित भएको छ । यसले जनताको थोरै स्रोत र साधनलाई पनि देशका महत्वपूर्ण कम्पनीमा लगानी गर्ने अवसर प्रदान गरी कम्पनीको मालिक बनाएको छ । जसले गर्दा शेयर धनीलाई कम्पनीप्रति अपनत्व सिर्जना हुने, उक्त कम्पनीको व्यवस्थापनमा जान सक्ने अवसर प्रदान हुनुका साथै उक्त कम्पनीको नाफा र घाटाको स्वामित्वको हिस्सेदारी कायम हुन्छ ।

शेयर बजारले आफूले लगानी गरेको कम्पनी घाटामा नजाओस् भन्नका लागि कम्पनीको व्यवस्थापनलाई निरन्तर निगरानी र खबरदारी गरिरहने, यस सम्बन्धमा सरकारका नीति तथा कार्यक्रमप्रति सजग समेत हुने भएकाले लगानीमैत्री वातावरण निर्माण, सुशासन कायम तथा समग्र अर्थ–व्यवस्थालाई नै गतिशील बनाउन भूमिका खेल्छ ।

कुनै पनि लगानीको प्रतिफलमा त्यस मुलुकको अर्थ–प्रणालीको स्थिरता, आर्थिक वृद्धि, लगानीको वातावरण, बजारको अवस्था लगायत धेरै कुराको प्रभाव रहने गर्छ, तर सामान्यतः आफूले लगानी गरेको कम्पनी नाफामा गयो भने त्यसले प्रतिफल दिने र घाटामा गयो भने नोक्सानी बेहोर्नुपर्ने हुन्छ । त्यसका अतिरिक्त कम्पनीको गुडविल पनि हुन्छ, जसको मूल्य सहज मापन गर्न सकिंदैन ।

प्राविधिक पक्ष धेरै भए पनि सैद्धान्तिक रूपमा शेयर बजारमा पनि यही नियम लागू हुन्छ । सामान्यतः आफूले लगानी गरेको कम्पनीको गुडविल र नाफा राम्रो हुँदै गयो भने शेयरको मूल्य बढ्ने र गुडविल नराम्रो वा घाटामा गयो भने शेयरको मूल्य घट्ने गर्छ ।

तर नेपाली शेयर बजारको प्रवृत्ति भने सामान्यतः कम्पनीको नाफा, घाटा, गुडविलमा आधारित भएको देखिन्न । यो नै नेपालको शेयर बजारको सबैभन्दा जोखिमको पक्ष हो । हरेक कुरामा कार्य कारण सम्बन्ध हुन्छ, तर नेपालमा शेयरको मूल्य घट्नु बढ्नु बीचको कार्य कारण सम्बन्ध पत्ता लगाउन गाह्रो छ ।

कसैले शेयर बजारको विषयमा केही शब्द बोलिदिंदा नै शेयर बजारमा उछाल आउँछ । आखिर किन ? कम्पनीको विषयमा कसैले केही कुरा बोल्दा त्यस कम्पनीको गुडविलमा समस्या आउँछ । गुडविल कमजोर हुँदा शेयरको मूल्य घट्नुलाई स्वाभाविक मानिन्छ ।

दलाल अर्थ-व्यवस्थाको एउटा सूक्ष्म परिणाम मात्रै हो, शेयर बजारमा आएको दुःखद परिणाम । किनकि एकाधिकार दलाल पूँजीवादी अर्थ–व्यवस्थाले आम जनताको कहिल्यै हित गर्न सक्दैन । त्यसैले अहिले अमूक नेता, पदाधिकारीलाई गाली गर्ने होइन, दलाल अर्थ–प्रणालीको माखेसाङ्लोलाई तोड्नु नै प्रमुख दायित्व र चुनौती हो ।

जसको कारण कुनै पनि कम्पनीको विषयमा तथ्य भन्दा बाहिर गएर अनावश्यक बोल्नुहुँदैन, तर नेपालको शेयर बजारकै पनि विषयमा कसैले केही बोल्यो भने बजार नै डाउन हुने कस्तो बजार हो यो ! कुन धरातलमा उभिएको छ, यो बजार ! सानो हावाको झोंका आउनु वित्तिकै धरमराउने ! किन यस्तो कमजोर धरातलमा उभ्याइएको छ, यो बजारलाई ? जनताको अरबौं अरब लगानी भएको यो बजारको आधार के हो ?

कम्पनी घाटामा गएको गएकै छ, त्यस कम्पनीको शेयरको मूल्य बढेको बढेकै छ, वा कम्पनी नाफै नाफामा छ, शेयरको मूल्य घटेको घटेकै छ । यस कार्यमा कसको हात छ, अब त्यसरी शेयरको मूल्य घटाउने र बढाउने अदृश्य हातहरू खोजी गरिनुपर्छ । त्यो अदृश्य शक्तिको दबदबा कहिलेसम्म हो ?

आम जनता पनि शेयर बजारप्रति सचेत हुनुपर्छ । विना श्रम, विना उद्यमशीलता पूँजीको परिचालनबाट रातारात धनी हुने सपना भनेको जुवाडेको सपना हो । यदि जुवाडेको मानसिकता राखेर लगानी गर्ने हो भने सधैं जितिन्छ भन्ने हुन्न, हार्न र गुमाउन पनि तयार हुनुपर्छ । आफूसँग भएको सीमित पूँजीलाई लगानी गर्दा उक्त क्षेत्रको पहिचान गर्न जरूरी छ ।

अहिलेको नेपालको शेयर बजार भनेको एक जनाले गुमाउने र अर्कोले कमाउने प्रणालीबाट चलिरहेको छ । यस प्रकृतिको प्रणालीले देश, जनता, बजार र व्यवस्थामाथि नै गम्भीर आघात पुर्‍याउनेछ । शेयर बजारमा गरिने लगानीमा सबैले नाफा प्राप्त गर्नका लागि यसलाई मुलुकको आर्थिक स्थिरता, आर्थिक वृद्धि, कम्पनीको उन्नयन र हित हुने प्रणालीमा आवद्ध गर्न जरूरी छ । त्यसको लागि अर्थ प्रणालीको एउटा खम्बा मात्रै होइन, सबै पक्षलाई बराबरी ध्यान दिनुपर्छ ।

मुलुकको अर्थ-व्यवस्था केही सीमित दलालको हातमा गएको यथार्थलाई विभिन्न रंगले पोत्न खोज्ने र त्यसलाई लुकाउने, दलाल अर्थ प्रणालीले मुलुकलाई कप्ल्याकै निल्न खोज्दा पनि विभिन्न बहानामा ढाकछोप गर्ने, दलालहरूले समानान्तर सत्ता चलाइराख्दा पनि नदेखे झैं गर्ने विद्यमान प्रणालीमा अर्थ-व्यवस्थाका धेरै दुःखद चित्र आउन बाँकी नै छ ।

दलाल अर्थ–व्यवस्थाको एउटा सूक्ष्म परिणाम मात्रै हो, शेयर बजारमा आएको दुःखद परिणाम । किनकि एकाधिकार दलाल पूँजीवादी अर्थ–व्यवस्थाले आम जनताको कहिल्यै हित गर्न सक्दैन । त्यसैले अहिले अमूक नेता, पदाधिकारीलाई गाली गर्ने होइन, दलाल अर्थ–प्रणालीको माखेसाङ्लोलाई तोड्नु नै प्रमुख दायित्व र चुनौती हो ।

दलाल अर्थ–प्रणाली राज्य–प्रणालीको एउटा महत्वपूर्ण हिस्सा बन्न पुग्नु चाहिं आम जनताको लागि दुःखद पक्ष हो । त्यसैले जनताको साथ र सहयोगमा सरकार यस अर्थ–प्रणालीप्रति एक पटकलाई निर्मम बन्नै पर्छ । यदि हामी पूँजीवादी प्रणाली निर्माण गर्न चाहन्छौं भने एकाधिकार दलाल पूँजीवादलाई परास्त गर्नै पर्छ ।

सानातिना राम्रा तर टालटुले नीति तथा कार्यक्रमले रूखका पातहरू हरियो त बनाउन सकिएला तर त्यो दीर्घकालीन हुन्न । समस्या समग्र रूखमा नै छ ।
मान्छेले पाइला टेक्न सक्ने जति जमीन पाउन उसले जीवनभरिको कमाइ खर्चनुपर्ने परिणामप्रति एकचोटि सोचौं त ! दिन दुई गुणा रात चार गुणा जग्गाको भाउ आम नेपालीले बढाएको हैन, यसमा रातारात धनी हुने सपना बोकेका नाफाखोरको हात छ ।

यस्तो अवस्था कसरी भयो ? त्यसैले शेयर बजार, जग्गा जमीन, मूल्य वृद्धि, शिक्षा, स्वास्थ्य, रोजगारी सबैमा दलाल अर्थ प्रणाली हाबी छ । अहिलेको अवस्था त यस्तो आइसक्थ्यो, यी दलालहरूले सक्ने भए हावामा पनि एकाधिकार जमाइसक्थे, अनि सूर्यको राप र तापको पनि मूल्य तोकिसक्थे ।

अहिले शेयर बजारमा आफूले दुःख गरेको सम्पत्ति गुमेको पीडा त अवश्यै छ, तर यही एकाधिकार दलाल पूँजीवादी अर्थ–प्रणाली कायम रहिरहेसम्म शिक्षा, स्वास्थ्य, व्यापार, व्यवसाय, लगानी, रोजगारी, वस्तुको मूल्य र समग्र मानवीय अस्तित्वमा नै यस प्रकृतिको भन्दा झनै ठूलो संकट आउने निश्चित छ ।

दलाल अर्थ-प्रणालीको अन्त्य गरी प्रतिस्पर्धात्मक पूँजीवादी, आत्मनिर्भर, उत्पादनमुखी अर्थ-प्रणालीको निर्माण आजको आवश्यकता हो । स्वच्छ व्यावसायिक संस्कृतिको निर्माण, प्रभावकारी राज्य नियमन प्रणाली, प्रगतिशील कर प्रणाली, प्रविधिमा आधारित तथ्यांक प्रणाली, कानूनको प्रभावकारी कार्यान्वयन र दण्डहीनताको अन्त्य, कानूनको शासन, स्वच्छ राजनीतिक प्रणाली र प्रभावकारी प्रशासन मार्फत नेपालमा सुशासन र विकासको जग निर्माण गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?