+
+

प्रचण्डसँग साँठगाँठ गरेर माघ १९ मा उपद्रव मच्चाइयो, ज्ञानेन्द्र रोल्पा–रुकुम पुगे : ओली

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते १८:०७

२९ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्र शाहबीच विगतमा गोप्य साँठगाँठ भएको दाबी गरेका छन्।

प्रचण्डसँगको साँठगाँठकै कारण ज्ञानेन्द्रले माघ १९ को दिन शासनसत्ता हातमा लिएको ओलीको दाबी छ ।

मनोनित केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई बुधबार ललितपुरमा सम्बोधन गर्दै ओलीले भने, ‘माघ १९ मा ज्ञानेन्द्र र प्रचण्डबीच सहमति भएर त्यो उपद्रव भएको थियो ।’

‘बाहिर राष्ट्रियताको कुरा, भित्र प्रतिक्रियावादीसँग साँठगाँठ’

त्यसपछि ज्ञानेन्द्र र प्रचण्डका बीचमा पाँच बुँदे सहमति भएको बताउँदै ओलीले भने, ‘के सहमति भएको थियो, कि ज्ञानेन्द्रले भन्नुपर्यो, कि प्रचण्डले भन्नुपर्यो । कसका विरुद्ध सहमति भएको थियो ?’

त्यही सहमतिपछि ज्ञानेन्द्रले रोल्पा, रुकुम जिल्लामा समेत अभिनन्दन कार्यक्रम गरेको ओलीको दाबी छ । ‘लोकतान्त्रिक शक्ति रुकुम रोल्पा पाइलो टेक्न नसक्ने, नेताहरु जान नपाउने, त्यहाँ भएका नेता मारिने । ज्ञानेन्द्र जाने र त्यहाँ धुमधाम स्वागत गर्ने,’ ओलीले भने ।

उनले अगाडि भने, ‘यहीं काठमाडौंमा हामीले देख्यौं, थापाथलीदेखि हिंडेर मंगलबजारसम्म उधुम स्वागत । को थिए स्वागत गर्नेहरु ? कसरी युवाशक्तिलाई दुरुपयोग गरियाथ्यो ? कसरी गुमराहमा पारिएको थियो ?’

प्रचण्डले बाहिर क्रान्ति र राष्ट्रियताको कुरा गर्ने तर भित्रभित्र प्रतिक्रियावादी शक्तिसँग साँठगाँठ गरेको ओलीले आरोप लगाए । त्यसको शिकार नेपाल भएको र त्यसको मार अहिले आफूहरुले खाइरहेको ओलीले बताए ।

‘बाहिर क्रान्तिको कुरा, बाहिर राष्ट्रियताका कुरा, बाहिर एक खालका परिवर्तनका कुरा, भित्रभित्र प्रतिक्रियावादी साँठगाँठ,’ ओलीले भने, ‘यसको शिकार नेपाल हुने गर्यो र हामी अहिले पनि त्यसको मार खाइरहेका छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?