
१ पुस, काठमाडौं । अष्ट्रेलियामा खेलिरहेका बेला ‘बाउन्सी कासल’ हावाले उडाउँदा ४ जना बालबालिकाको ज्यान गएको छ ।
बिहीबार तास्मानियास्थित एक प्राथमिक विद्यालयका बालबालिका खेलिरहेका बेला ‘बाउन्सी कासल’ (उफ्रेर खेल्न मिल्ने दरबार वा घर जस्तो संरचना) लाई हावाले उडाएको थियो।
हावामा उडेको कासलबाट खसेर ४ जना बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै ५ जना बालबालिका घाइते भएका छन्।
प्रहरीका अनुसार बाउन्सी कासललाई हावाले १० मिटर माथिसम्म उडाएको थियो । सोही क्रममा खसेर २ बालक र २ बालिकाको ज्यान गएको हो । बालबालिकाले शैक्षिक वर्षको अन्तिम दिन खेल्दै रमाइलो गरिरहेका बेला उक्त दु:खद घटना भएको हो।
घटनालगत्तै स्वास्थ्यकर्मीहरू हिलक्रेस्ट प्राथमिक विद्यालयमा आएका थिए । लगत्तै घाइते बालबालिकालाई प्राथमिक उपचार गरेर हेलिकप्टरबाट हस्पताल पुर्याइएको थियो।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार भएको घटनालाई ‘अकल्पनीय रुपमा दु:खद’ भनेका छन् । ‘साना बालबालिका रमाउँदै खेलिरहेका बेला यस्तो डरलाग्दो वियोग भयो’, उनले भने, ‘वर्षको यस समयमा भएको यो घटनाबाट हामी निकै मर्माहत भएका छौं ।’
यसअघि बाउन्सी कासल दुर्घटनाका घटना अन्य मुलुकमा समेत भएका थिए। सन् २०१९ मा खेलिरहेका बेला बाउन्सी कासललाई हावाले उडाउँदा चीनमा २ जना बालबालिकाको ज्यान गएको र २० जना घाइते भएका थिए । त्यस्तै, गत वर्ष बाउन्सी कासल फुटेर हुत्तिँदा बेलायतमा एक बालिकाको ज्यान गएको थियो ।
प्रतिक्रिया 4