+
+

प्रचण्डपथ छोड्नु माओवादीको गम्भीर गल्ती थियो : जनार्दन शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते १८:२२

१ पुस, काठमाडौं । अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीले प्रचण्डपथको कार्यदिशालाई छोड्नु गलत भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित जनसांस्कृतिक महासंघ नेपालको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा शर्माले पार्टीले तत्कालिन अवस्थामा लिएको प्रचण्डपथ र २१ औं शताब्दीको जनवादलाई छोड्नु पार्टी केन्द्रीय समितिको गम्भीर गल्ती भएको बताएका हुन् ।

प्रचण्डपथ भित्र सबै वर्ग, जाति, लिङ्ग र समुदायको भावनाको संश्लेषण रहनुका साथै सामाजिक अन्तरविरोधहरुलाई समाधान गर्ने वैचारिक संश्लेषण रहेको उनको भनाइ छ ।

‘हामीसँग भएको विचार, हामीले प्रचण्डपथ, २१ औँ शताब्दीको जनवादको जो संश्लेषण गरेका थियौं । त्यसको सही उपयोग र कार्यान्वयन गर्ने कुरामा, नयाँ सन्दर्भमा त्यसलाई विकसित गरेर जानुपर्ने आवश्यकतालाई छाडेर हामीले त्यसलाई हापिदियौं’ उनले भने, ‘मानौं त्यो केही पनि थिएन । त्योभित्र बलिदानीको संश्लेषण, सबै वर्ग, जाति, लिङ्ग, समुदायको भावनाको संश्लेषण, हजारौँ घाइते योद्धाहरुको त्याग र विरताको संश्लेषण, सामाजिक अन्तरविरोधहरुलाई समाधान गर्ने वैचारिक संश्लेषणलाई केही पनि होइन जस्तो गरेर फ्याँकिदियौँ । पार्टी केन्द्रीय समितिले गम्भीर गल्ती गर्‍यो ।’

प्रचण्डपथलाई फ्याँकेका कारण पार्टीमा निराशा पैदा भएको पनि शर्माले बताए । ‘पार्टी नेतृत्वले प्राधिकार प्राप्त गरेको थियो त्यो समाप्त भयो र हामी कमजोर भयौं । हाम्रो सकारात्मक पक्षहरुलाई हामीले छोड्यौँ र हाम्रा उपलब्धीप्रति गर्जिएर यो हामीले गरेको परिवर्तन भन्न सकेनौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?